This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Monday, June 22, 2020

सरुभक्त दाइकाे प्रतिगन्ध लाेकार्पण


-उपेन्द्र पाैडेल
प्रतिगन्ध लोर्कापणको व्यग्र प्रतिक्षा र यो ऐतिहासिक क्षणमा उभिएर स्वागत गर्न पाउदाको खुसीले स्वागत भन्दा बाहीर अलिकति वहकीए भने म सुरुमै माफी चाहन्छु ।


Dear Darling Beatels
To think that I, Harriet Watts, live on the same planet with the beatels, breathe the same air as beatels, see the same sun, moon and starts as the beatels. Oh! it's just too much


विश्व प्रसिद्ध अंगेजी सांगीतिक समुह विटल्सका एकजना फ्यानले विटल्सलाई १९६४मा लेखेको कुल २४ शब्दको यो चिठी यतिबेला म सम्झीरहेछु । आफूलाई असाध्यै मन पर्ने र श्रद्धा गर्नेहरु सँगै एउटै ग्रहमा हुर्कनु, सास फेर्नु उनीहरुले देखेजस्तै घाम, जुन र ताराहरु देख्न पाउनुले मान्छे कतिसम्म पुलकीत हुन सक्छ भन्ने कुराको अनुभुती उनले जस्तै म पनि यतिबेला गर्न सक्छु ।
हुनत स्रष्टा कुनै सहरको मात्रै हुँदैन उ देशको हुन्छ । वा भुगोलभन्दा माथी हुन्छ तर यति भन्दा भन्दै पनि सरुभक्तले फेरेकै हावामा सास फेर्न पाउनु, उहाँले हिडेको सडकमा उहाकै पछिपछि हिड्न पाउनु, उहाँलाइ पढदै हुर्कन पाउनु,  उहाँका कुरा सम्मुखमै सुन्न पाउनु, उहाँले खेलेकै  आँगन र चोकमा रमाउदै उफ्रन पाउनु , उहाँका चिया जमघटमा छेउमै बसेर सुनिरहन पाउनु, र उहाँ जन्मे हुर्केकै सहरलाई मेरो पनि हो भनेर भन्न पाउनु अरुका लागि यो सामान्य हुन सक्ला तर नेपाली साहित्यलाई माया गर्ने हामी प्रत्येकका लागि यो कति सौभाग्यसाली कुरा हो भन्ने कुरा जो कोहीले अन्दाजै लगाउन सक्दैन । हो हामी पागल बस्तीको शहरबाट हौँ । हो हामी सरुभक्तको शहरका मान्छे हौँ । हामी झलकमान गन्धर्व,  दुर्गा बराल र तिर्थ श्रेष्ठ जन्मेको शहरका मान्छे हौँ । कसैलाई यसमा थोरै मात्र पनि इष्र्या लाग्छ भने इष्र्या लाग्ने पूर्ण छुट छ ।
पेरीस पुग्ने अरुका लागि आइफिल टावरले जति महत्व राख्छ कला र साहित्य प्रेमीका लागि लुभ्र म्यूजिएम त्यो भन्दा बढी महत्वपूर्ण छ । कोलम्बीयाको राजधानि कहाँ हो भन्ने पनि थाहा नपाएका हामी धेरैलाई मार्खेज कोलम्बीयाका हुन भन्ने कुरा काफि लाग्छ । टर्की सम्झदा टोपकापी दरवार भन्दा पहिले ओरान पामुक याद आउनु र लण्डन पुगेपछि टावर व्रिज भन्दा अगावै जे के रोलीङ सम्झीइनु साहित्यलाई माया गर्नेका लागि कुनै नौलो कुरा होइन । नेपाली साहित्यलाई माया गर्ने जो सुकैले पनि पोखरा टेक्ने वित्तिकै मायावि पागल बस्ती र सरुभक्तलाई नसम्झी धरै पाउँदैन ।
आज यहि शहरमा पागल वस्तीको विरासतमा उभिएर पछिल्लो उपन्यास चुली प्रकाशन भएको १५ बर्षपछि यो शहरबाट प्रतिगन्ध उपन्यास सार्वजनिक हुँदैछ । पागलवस्ती सार्वजनीक हुँदा उपस्थीत हुनभएका केही महानुभावहरु पनि यसै हलमा हुनुहुन्छ । हाम्रो पुस्ता अलि केटाकेटीनै थियो त्यस बखत र त्यो क्षणको याद हामीसँग छैन । तर आज समयले अर्का एउटा सुन्दर मौका दिएको छ । अक्सर पुस्तक विमोचन काठमाण्डौमा नै गर्ने परिपाटी हुँदाहुँदै पनि आज यो उपन्यास हामी पोखरेलीहरुकै विचमा विमोचन हुन लागेकाले पनि हामी धेरै पोखरेलीले यस विमोचन समारोहमा सरिक हुने अवसर पनि प्राप्त गरेका छौँ । पोखराको यो अमृत कक्षमा लोर्कापण हुन लागिरहेको नयाँ उपन्यास प्रतिगन्ध लोर्कापण समारोहलाई महत्व दिएर आउनुभएका यहाँहरु सबैलाई फेरीपनि हार्दिक स्वागत ।
मार्था र प्रशान्त यस धर्तिमा आएको लगभग २५ बर्षपछि यस धर्तिमा आउन लागेका अमर र आरतीलाई पनि स्वागत गर्दछु । प्रकाशक संस्था बुकहिलका भुपेन्द्रजीलाई पनि स्वागत ।
चुलीको प्रमुख पात्र भन्छ जीवनमा कोही हिमाल चढेर आफै हिमाल बन्छन् । कोही दलदलमा फसेर आफै दलदल बन्छन् । साहित्य र दर्शनको लामो यात्रा तय गर्दै नेपाली साहित्यको क्षेत्रमा एउटा अग्लो हिमाल बन्नुभएका आदरणीय दाइ सरुभक्तलाई हार्दिक बधाइ र शुभकामना अर्पण गर्दै यो ऐतिहासिक क्षणको साँक्षी बस्न आउनुभएका यहाँहरु सबैलाई फेरी पनि स्वागत गर्दछु । र जाँदाजादै अस्ती मात्रै आदरणीय तिर्थ दाइको कविता संग्रह धसैधर्साको चक्रव्यहूका लागि धेरै बधाइ र तपाइहरु सबैलाई फेरी स्वागत । धन्यवाद ।

Sunday, September 1, 2019

जस कम, जिम्मा धेरै

जस कम, जिम्मा धेरै

उपेन्द्र पौडेल
केही दिनअघि एउटा दुस्वप्न जस्तो समाचार आयो— कञ्चनपुरका लिटिलबुद्ध एकेडेमीमा कक्षा १२ मा पढ्ने सुरज लेखकले सुसाइड नोटमा प्लस टु कोअर्डिनेटर हरिलाल जोशीलाई दोषी ठहराउँदै आत्महत्या गरे । लगत्तै अर्को समाचार आयो— उक्त शिक्षक विरुद्ध विद्यार्थीका पिताले किटानी जाहेरीसमेत दर्ता गराए । 

कारण जेसुकै होस्, कसैको जीवनको अन्त्य हुनु औचित्यपूर्ण हुन सक्दैन । सुरज लेखकको परिवारलाई परेको आघात र अभाव
को क्षतिपूर्ति कुनै पनि कुराले दिन सक्दैन । यसका बाबजुद सुरजको आत्महत्या आत्महत्या मात्र होइन, यो हाम्रो शिक्षा प्रणाली र पद्धतिले जन्माएको एक जल्दोबल्दो ‘इस्यु’ पनि हो । हाम्रा विद्यार्थीहरू किन आत्महत्या जस्तो बाटो रोजिरहेछन् ? के शिक्षकहरू नै यसमा सम्पूर्ण दोषका भागिदार हुन् त ? अब थप छलफल आवश्यक देखिएको छ ।

हाम्रा विद्यालयहरूमा जब अभिभावक विद्यार्थी भर्ना गर्न आउँछन्, बडा प्रेमिल र विनयी भावमा भन्छन्, ‘लौ हजुर छोराछोरी तपाईको जिम्मा लगाइयो ।’ शिक्षकहरू पनि गौरवसाथ स्वीकृतिमा मुन्टो हल्लाउँछन् । त्यसपछि अधिकांश अभिभावकहरू मुस्किलले वर्षमा एक दुईपटक विद्यालय आउँछन् । आफ्नो व्यस्त दैनिकीबाट केटाकेटीका बारेमा सोधपुछ र छलफलका लागि नगन्य समयमात्रै निस्कन्छ, अभिभावकको ।

विद्यार्थी शिक्षक अनुपात यसै पनि बढिरहेको हाम्रोजस्तो मुलुकमा वैयक्तिक हेरचाह हुने कमै सम्भावना देखिन्छ । विद्यार्थी र शिक्षकबीच छलफल सहकार्य र साझेदारीमा भन्दा पनि प्रवचन वा लेक्चर विधिबाट अध्यापन हुने हाम्रा विद्यालयहरूमा शिक्षक र विद्यार्थीबीच यथेष्ट सञ्चार छैन । तर जब केही दुर्घटना हुन्छ, त्यसको सम्पूर्ण जिम्मेवारी शैक्षिक संस्थाका शिक्षकले वरण गर्नुपर्ने देखिन्छ ।

शिक्षण पेसामै २० वर्ष बिताएको अनभुवको आधारमा ‘शिक्षण जागिर होइन, जिम्मेवारी हो’ भन्ने बुझाइले हुर्किएँ । निश्चित घन्टा (डिउटी आवरसम्म) मात्रै विद्यार्थीको शैक्षिक, व्यावहारिक र अन्य क्रियाकलापको जिम्मेवारी वहन गर्ने मान्छे शिक्षक हुनै सक्दैन । यसरी त ऊ बस् सामान्य जागिरे बन्छ । विद्यार्थीको अन्य समय र क्रियाकलापमा पनि निर्देशन, निरीक्षण र चासो शिक्षण पेसाको अभिन्न कर्म हो । होइन भने विद्यालय छुट्टी भएपछि विद्यालयको गेट बाहिर अवाञ्छित क्रियाकलापमा कोही विद्यार्थी भेटिएमा वा शिक्षकको सहयोगको अपेक्षा गरेमा शिक्षकले आँखा चिम्लन कहाँ मिल्छ र ?

शिक्षकले दायित्व महसुस गरी शैक्षिक संस्थाभन्दा बाहिर भेटिएका विद्यार्थीको चासो गर्दा विद्यार्थीको व्यक्तिगत जिन्दगीलाई हस्तक्षेप गरेको भन्ने आरोप खेप्नुपर्छ । विद्यार्थीहरूको सही दिशा देखाउने क्रममा विद्यालय समयभन्दा बाहिर पनि विद्यार्थीहरूलाई सम्झाउने–बुझाउने हक शिक्षकले निश्चय नै राख्छ । तर उनीहरूको मनोभावना चोट नपुग्नेगरी सम्झाइ–बुझाइ गर्नुपर्छ भन्नेमा सचेत हुनैपर्छ ।

सामाजिक सञ्जालमा आफ्ना नानीबाबुको शैक्षिक उपलब्धिसहित बधाई पोष्ट गर्ने थुप्रै अभिभावक छन् । यसरी राखिएका अधिकांश बधाईका पोष्टमा धेरै कम अभिभावकले मात्रै आफ्ना नानीबाबुको शैक्षिक उपलब्धिमा विद्यालय र शिक्षकलाई समेत धन्यवाद भन्ने गरेको भेटिन्छ । कुरा सामान्य लाग्न सक्छ । सफलतामा जश नदिने तर उनीहरूको असफलता वा खराब उपलब्धिमा भने विद्यार्थीकै अगाडि शैक्षिक संस्था वा शिक्षकप्रति आग्नेय भएर प्रस्तुत हुने हाम्रा अभिभावकहरूको बानीले समेत शैक्षिक संस्था या अध्यापकहरूप्रति उनीहरूको धारणा स्पष्ट देखाउँछ ।

कुनै समय थियो, जहाँ छोरीको बिहे गराउनदेखि भैँसीको उपचारसम्म शिक्षककै भर पर्ने गरिन्थ्यो । शिक्षक सर्वज्ञाता भन्ने विश्वासले जरो गाडेको थियो । तर ज्ञान, विज्ञान र प्रविधिको विकाससँगै शिक्षक पनि सर्वज्ञाता हुँदैन भन्ने कुरामा अब कसैको दुईमत छैन । आफूले अध्ययन गरेको विषय बाहेक अरु कुरामा शिक्षक पनि अरुजस्तै आधारभूत ज्ञानमात्रै राख्छ । तर हामी भने एउटा शिक्षकमा सम्पूर्णता खोजिरहेछौँ ।

विषयगत रूपमा नियुक्त भएको शिक्षक आफ्नो विषयमा पारंगत हुनसक्छ । विद्यार्थीको मनोभावनाको सामान्य बुझाइ राख्न पनि सक्छ । तर विद्यार्थीको मानसिक र आवेगात्मक संवेदना बारेमा परामर्श गर्न ऊ पूर्ण मान्छे होइन । विद्यार्थीलाई सजाय दिन बन्द गर्नुपर्ने कुरामा दुईमत छैन ।

तर परम्परागत ढंगले सजाय दिन बन्द गरेपछि उनीहरूको आवेग र गल्तीलाई सही दिशामा निर्देशित गर्न बौद्धिक एवं आध्यात्मिक चिन्तक वा परामर्शदाता मार्फत सही परामर्श दिलाउने कुरामा शैक्षिक संस्थाहरूले फिटिक्कै रुचि देखाएको देखिँदैन । शिक्षक यतिबेला वास्तवमा भूपिको कविताको पैतालामात्र भएको छ । विद्यालयले उत्कृष्टता हासिल गरे अवार्ड थाप्न प्रिन्सिपल दौडन्छ । उत्कृष्ट भए बापतको छात्रवृत्ति विद्यार्थी थाप्छ ।

विद्यालयको उत्कृष्टताले विद्यार्थी धेरै भर्ना भएर हुने आम्दानी सञ्चालकको गोजीमा जान्छ । आफ्नो सही अभिभावकत्वले बाबुनानीले उत्कृष्टता हासिल गरेको गौरवबोधले पत्रिकामा बधाई छाप्छ, अभिभावक । रातोदिन खट्ने शिक्षकचाहिँ उस्तै परे एउटा स्यावासीको भागिदार बन्दैन ।

कारणवशः नतिजा राम्रो आएन वा विद्यालयमा केही दुर्घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवारी शिक्षकको थाप्लोमा आइपर्छ । सञ्चालक मिटिङ राखेर मास्टर थुर्छ । प्रिन्सिपल शिक्षक लापरबाह भएको आरोप लागाउँछ । अरु त अरु अभिभावकसमेत त्यसको सम्पूर्ण जिम्मेवार शिक्षकलाई ठहर्‍याउँछन् । गरेको जश नपाउने र नगरेको जिम्मा पनि लिनुपर्ने यो दोहोरो मापदण्ड कहिलेसम्म लागू हुन्छ, शिक्षकका लागि ?

चौबीस घन्टामा १८ घन्टा विद्यार्थी अभिभावको छहारीमा हुन्छ र मात्रै ६ घन्टा विद्यालयको संरक्षकत्वमा । तर पनि विद्यार्थीको सम्पूर्ण जिम्मेवारी विद्यालय र शिक्षकको ठहर्छ । घरमा आएका पाहुनालाई नमस्कार गरेन भने पनि त्यसको दोष विद्यालय र शिक्षकको थाप्लोमा पर्छ । आफ्ना छोराछोरीको साथीसंगती कस्ता छन् ? उनीहरू कुन च्यानल बढी हेर्छन् ? इन्टरनेटमा कस्ता साइटभिजिट गरिरहेछ ? कोठामा कस्ता सामान भेटिन्छन् ? घर–परिवारसँग कत्तिको घुलमिल हुन्छन् ? सामान्य संस्कार सिकेका छन् कि छैनन् ? यी र यस्ता कुरामा अभिभावकको ध्यान त्यति साह्रो पुगेको देखिँदैन ।

अभिभावक र नानीबाबुहरूको बीचमा पनि सम्बन्ध सुमधुर भएको देखिँदैन । उनीहरूलाई परेका समस्याका बारेमा अभिभावकसित निर्धक्कसँग कुरा गर्ने वातावरण अभिभावकले तयार गरेको भेटिँदैन । नानीबाबुहरू अभिभावकसँग डराएर आफ्नो समस्यासमेत खोल्न नसक्ने परिस्थितिको सिर्जनाले भित्रभित्रै पिल्सिइरहेका छन् ।

सामान्यतया कक्षा बंक गर्ने, हल्ला गर्ने, ध्यान नदिने वा अन्य अवाञ्छित क्रियाकलापमा संलग्न हुने विद्यार्थीको पारिवारिक पृष्ठभूमि केलाउँदै जाने हो भने घरपरिवारसँग केही न केही समस्या रहेको देखिन्छ । कि ऊ धेरै प्रेम र लाडप्यारले पुलपुलिएको छ वा अभिभावकको रेखदेख र समयको कमीले एक्लो महसुस गरेर ‘अटेन्सनसिकिङ’ अथवा ध्यान तान्नका लागि यस्ता क्रियाकलाप गरिरहेछ ।

सुरज लेखकको सुसाइड नोटलाई नजिकबाट केलाउने हो भने आफ्ले गरेको वा नगरेको गल्ती आफ्ना अभिभावकले थाहा पाएपछि त्यसबाट उत्पन्न हुने परिस्थितिको आँकलन गर्दै सामना गर्ने हिम्मत गुमाएपछि आत्महत्याको बाटो समाएको देखिन्छ । भनिन्छ, छोराको जुत्ता मिल्न थालेपछि ऊसँग साथीको व्यवहार गर्नुपर्छ । त्यसैले अभिभावकहरू पनि ‘रियाक्टिभ’ होइन, ‘रेस्पोन्सिभ’ हुन जरुरी देखिन्छ । आफ्ना नानीबाबुको कुरा सुनेर तत्काल प्रतिक्रिया होइन, परामर्शमा जोड दिनुपर्ने खाँचो खड्किन्छ ।

समाचार भन्छ— आत्महत्याको घटनापछि शिक्षक हरिलाल जोशीलाई विद्यालयले निष्कासन गर्‍यो । यस्ता घटनापछि विद्यालय प्रशासन शिक्षकलाई दोषी करार गर्दै निष्कासन गर्न आतुर देखिन्छ । सरकारी विद्यालयको शिक्षक हो र संघ–संगठनमा आबद्ध छ भने अलि हारगुहार पाउला, तर निजी संस्था हो भने उसको यसभन्दा अगाडि गरेको कामको सबै मूल्याङ्कन शून्यमा आइपुग्छ र ऊ तुरुन्तै बर्खास्ती वा कारबाहीमा पर्छ । शिक्षकलाई राखिराखेर किन कुनै तनाव व्यहोर्नु ? विष लागेको होस् कि नहोस्, औंला काटिदियो, समस्या चैट् ।

संस्थागत जिम्मेवारी बहन गर्ने बेलामा भएको दुर्घटनाको जिम्मेवारी संस्थाले लिने कि व्यक्तिको टाउकोमा थुपारेर विद्यालय पन्छिने ? वा अब थप दुर्घटना नहोस् भनेर शिक्षकहरूलाई बाल मानोविज्ञान आधारित तालिम, अभिमुखीकरण र छलफलमा सहभागी गराउने ? दूरगामी समाधानमा भन्दा क्षणिक कदम अपनाएर स्थितिलाई शान्त पार्न खोज्ने प्रवृत्तिले शिक्षक र विद्यार्थी दुबैलाई थप जोखिमतर्फ धकेलिरहेको छ ।

अन्त कतै गतिलो जागिर नपाएपछि शिक्षणमा छिर्छन् भन्ने मानसिकताले नेपालमा यो पेसालाई लिएर गम्भीर बहस भएन । उदाहरण दिँदा फिनल्यान्डको शिक्षा पद्घतिको दिने तर शिक्षण पेसालाई हेयको दृष्टिले हेर्ने हाम्रो सोच नै विरोधाभाषपूर्ण छ । फिनल्यान्डको शिक्षा पद्धति उत्कृष्ट हुनुमा शिक्षकको सामाजिक हैसियत उच्च हुनुलाई पनि एक कारण मानिन्छ ।

वार्केफाउन्डेसनको २०१८ मा विश्वभरिका ३५ देशमा गरेको सर्वेक्षणका आधारमा प्रकाशित ग्लोबल टिचर स्टेटस इन्डेक्सका आधारमा विश्वका उत्कृष्ट १४ पेसा व्यवसायमध्ये चिकित्सा पहिलो स्थानमा र शिक्षण सातौं स्थानमा छ । चीन, मलेसिया, ताइवानजस्ता मुलुकमा शिक्षकहरूको तलब कम भए पनि सामाजिक हैसियत उँचो छ । हाम्रोमा शिक्षणलाई आफ्नो रुचिको पेसाका रूपमा अंगीकार गर्नेहरू असाध्यै कम छन् ।

शिक्षण पेसामा रहेकामध्ये केही आफ्नो जिम्मेवारी बहन नगर्ने र शिक्षकको आचारसंहिता विपरीत व्यवहार गर्ने खराब आचरण र नियतका शिक्षक पनि छन् । बलात्कार वा अन्य यौन दुर्व्यवहार गर्ने, अंगभंग वा मरणासन्न हुनेगरी कुटपिट गरेर विद्यार्थीको ज्यान नै लिने पनि नभएका होइनन् । तर ती सीमित खराबहरूले गर्दा असलहरूसमेत आलोचित बन्नुपर्ने परिस्थिति सिर्जना हुनुचाहिँ दुःखलाग्दो हो ।प्रकाशित : श्रावण २५, २०७६ ०८:२१https://ekantipur.com/bibidha/2019/08/10/156540459697112063.html

Sunday, June 30, 2019

जो उड्न सिकाउछिन्...

https://www.kantipurdaily.com/koseli/2019/06/22/156117830721648609.html
–उपेन्द्र पौडेल

आत्मकथा पढ्दा पाठकले सबैभन्दा बढी अपेक्षा गर्ने कुरा हो लेखकको इमान्दारी । लेखकले चतुराइपूर्वक सबैभन्दा बढी झुठ पस्कने विधा पनि आत्मकथा नै हो । नेपाली साहित्यको बजारमा आएका अधिकांश आत्मकथा पढ्दा ‘नार्सिसिस्ट–कथा’ पढे जस्तो लाग्छ । नार्सिसिस्ट–कथा अर्थात आफूले आफैलाई श्रेष्ठ मान्ने चरम आत्मानुरागीहरुको कथा । अब प्रश्न उठ्छ–भर्खरै बजारमा आइपुगेको सामाजिक अभियन्ता पुष्पा बस्नेतको आत्मकथा ‘पुतलीको घर’ पनि ‘नार्सिसिस्ट–कथा’मात्र हो वा त्योभन्दा बढी केही हो ?
सम्पन्न परिवारिक पृष्ठभूमिमा जन्मेका अधिकांश युवतीहरू झैं २१ वर्षको उमेरमा पुष्पा वस्नेत सामु थुप्रै बाटाहरु थिए । आमाबाबुले किनिदिएको स्कुटरमा हुइकिदै सिनेमा हल वा सपिङ्गमल चाहारीसकेर, टोफेल वा आइ.इ.एल.टी.एस. गरेर फर्दर स्टडीजका नाममा भिसा प्रोसेसिङ गर्न सक्थिन् । कुनै युवकसँग प्रेमलीन हुँदै नगरकोट वा पोखरा घुम्ने सपना देख्ने छुट पनि हुँदोहो । करिअरलाई महत्व दिदैं राम्रा कम्पनी र फर्ममा जागिर गर्नु वा पिताजीको व्यवसाय सम्हाल्ने विकल्पहरू पनिहुँदाहुन् ।
यी सबैखाले सजिला र चिप्ला बाटाहरुलाई थाती राखेर जेलमा विभिन्न अपराध गरेर वा परिबन्धमा परेर कारावासको सजाय भोगिरहेका आमाबाबुका ती सन्ततीहरू जसले  आफूले नगरेको अपराधको सजाय पाइरहेका थिए, तिनलाई खुला हावामा ल्याएर शिक्षा–दिक्षा दिलाउने दुस्साहसपूर्ण काम पुष्पाले रोजिन् । त्यही दुस्सााहसको फेहरिस्त हो पुतलीको घर ।
पुस्तकको आवरणमा सिएनएन हिरो र सिएनएन सुपरहिरोको लोगो अंकित भएपनि यो फगत सिएनएन हिरो वा सुपरहिरो हुँदाको अनभुव मात्र होइन । यो त एक लद्दु विद्यार्थीको असफलताले निमार्ण गरेको सफलताको कथा हो । स्कुल वा क्याम्पसको मार्कसिटमा उच्च अंक ल्याउनेहरु कहिलेकाही जीवनको परीक्षामा अनुत्तीर्ण हुन्छन् । फेरि यस्तो पनि देखिन्छ कि स्कुल वा क्याम्पसमा अत्यन्त न्यून अंक ल्याउनेहरु जीवनमा उच्चतम् अंकका साथ उल्लेख्य उपलव्धी हासिल गर्दछन् । शैक्षिक सूचकांकमा सँधै औसत वा कम अंक ल्याए पनि जीवनमा उपलव्धीको दृष्टिकोणले अब्बल दर्जामा उत्तीर्ण पुष्पा बस्नेतको जीवनकथा हर औसत र औसतभन्दा मुनिका विद्यार्थीको निम्ति उर्जाको टनिक हो ।
कुल २६७ पेजमा फैलिएकोपुतलीको घरलाई पुष्पाको वैयक्तिक जीवनको भोगाईको कथा मात्र मान्नु गलत हुनेछ । यो त बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थालाई अझ नजिकबाट हेर्ने तिलस्मी लेन्स पनि हो भन्ने कुरा उनको पुस्तकको  ‘तस्करी’ शीर्षक  पढेपछि थाहा लाग्छ । झट्ट हेर्दा सरकारबाट सञ्चालित बालमन्दिर बच्चाहरुलाई हुर्काउने पढाउने केन्द्र जस्तो देखिएपनि कुनैबेला भित्रभित्रै मोटो रकमलिएर विदेशीहरुलाई बच्चा तस्करी गर्ने जघन्य अपराधको थलो समेत रहेको खुलासा गरेकी छन् । अस्पतालका नर्सहरु मर्दै नमरेको बच्चा बाउआमालाई मर्यो भनिदिएर  सामान्य रकमका लागि बालमन्दिरमा बच्चाहरु बेच्ने अझ भनौँ बालमन्दिरलाई बालमन्दिर होइन, बालबच्चा किनबेचको केन्द्र बनाइएको सत्य थाहा पाउँदा आङनै सिरिङ्ग हुन्छ । सँगसगै यस्तो पाशविकताको विरोधमा सानैदेखी हक्की पुष्पा बस्नेतले किन केही कदम चालिनन् भन्न प्रश्न पनि उब्जिन्छ ।
सविन सिंह नामको उनकै सहपाठीले पुष्पालाई सिएनएन हिरोका लागि आवेदन दिएको र उत्कृष्ट २५ मा पुगेपछि सिएनएनले बालबालिका तथा समाजकल्याण मन्त्रालयमा फोन गरेर पुष्पा बस्नेतका बारेमा सोधखोज गर्दा आफूहरुले पुष्पा बस्नेतलाई नचिन्ने बताएकाले ‘फुलको वासना वरिपरी, मानिसको वासना डाडापारी’ भन्ने उखान स्मरण गराउँछ । आफ्नो कामका लागी सरकारी कार्यालय डुल्दा कार्यालयमा सेवाग्राहीलाई कर्मचारीले देखाएको रवैया र ढिलासुस्तीको वर्णनले कर्मचारीको व्यवहार, कार्यशैली र  मानसिकता उदाङ्ग भएको छ  ।
पुष्पाको जीवनको इतिवृत्ति मात्रै होइन पुतलीको घर । यो त पुतलीको घरमा झुसिल्किराका रुपमा छिरेर पुष्पा बस्नेतको हेरचाहले पुतली बनेका कला, नीरमाया, मीना, आत्माञ्जली जस्ता कैयौँ केटाकेटीको जीवन कथाको सुन्दर कोलाज पनि हो । पुष्पाको जीवन बुझ्न उनका बारेमा बनेका कैयौँ डकुमेन्ट्री भेटिएलान् युट्युवमा तर यी केटाकेटीलाई मनैैदेखी बुझ्न पुस्तकले सहयोग गर्छ । विभिन्न अपराधले जेलमा सजाय पाइरहेपनि आफ्ना आमाबाबु प्रति नकारात्मक भावनाको विकास नहोस् भनेर पुष्पाले गरेको प्रयास किताबमा पढिरहँदा पुष्पा बस्नेत र उनको पुतलीको घरप्रतिको सम्मान चुलिन्छ । दुःखले हुर्काएका केटाकेटी कमाउन सक्ने भएपछि गोरु बेचेको साइनो लगाउँदै हक देखाउदै उनीहरुलाई फिर्ता मान्न आउने मौसमी आफन्तीहरुलाई पुष्पाले गरेको केरकार र खोजखबरले पुष्पा पुतलीको घरमा बस्ने केटाकेटीको वर्तमान मात्रै होइन, भविष्यप्रति पनि उत्तिकै सजग छन् भन्ने कुराले ढुक्क समेत बनाउछ ।
व्हाट् इज इन अ नेम भन्ने शेक्सपियरले कथन पुष्पाको हकमा ठ्याक्कै लागू हुन्छ । नाम पुष्पा भए पनि पुष्प झैं नाजुक लाग्दिनन् उनी । नामले कोमल, कामले चट्टान वा सो सरह ।
जेल सजाय दिने ठाउँभन्दा पनि सुधारगृह हो भनेर जतिसुकै भनेपनि हाम्रो समाज र मानसिकताले जेलजीवन बिताएर खुला हावामा निस्केका व्यक्तिलाई त हेयभावले हेर्ने गर्दछ भने जेलभित्र सजाय भोगिरहेका व्यक्तिलाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोणको हामी सबैले राम्ररी बुझेका छौँ । 
‘बीउगुनाको बाला, दूध गुनाको बुद्धि’ भन्दै सन्तानमा अभिभावकको गुण र दोषको प्रत्यक्ष प्रभाव केलाउने चलन छ । अपराधीका बालबच्चा पनि आपराधिक मानसिकता लिएर जन्मन्छन् वा त्यस्तै कर्म अंगिकार गर्छन् भन्ने धारणा हाम्रो समाजमा व्याप्त पाइन्छ । पश्चिमाहरु समेत यो मानेमा लगभग उस्तै छन् भन्ने चैँ उनीहरुले भीसा आवेदनमा तीन पुस्ताको फौजदारी विवरणको खोजीनिती गरेकोबाट थाहा लाग्छ । हामी चोरको छोराछोरी चोरै भएर निस्कन्छन् भन्ने मानसिकताले ग्रस्त छौँ । यी सबै विषम परिस्थितिका बीचमा ती निर्दोष बालबालिकालाई बन्दीगृहको अँध्यारा पर्खालहरूबाट बाहिरी दुनियाँमा ल्याई सपनाको प्वाँख हाल्न र उड्न सिकाउनका लागि पुष्पाले देखाएको आँट र उत्साह, शुरुवाती दिनहरुमा पुष्पाले भोग्नु परेको कठिनाइ र पुष्पादेखी पुष्पा मामुसम्मकोे कठिन यात्रा पुतलीको घरको आत्मा हो ।

पुस्तकमा पुष्पा बस्नेतले इमान्दारीका साथ आफूलाई आजको पुष्पा मामुसम्मको यात्रामा नजिकबाट सघाउने कैयौ पात्रका नाममा समेत केही अध्यायहरु खर्चेकी छन् । कोरियाली किमको वृतचित्रदेखी इल्गा अवार्डसम्मको यात्रा तथा सिएनएन हिरोको नोमिनेसनमा परेदेखी अर्वाड हात पारुन्जेल सम्मको उतारचढाववाला यात्रामा पुष्पाको मात्रै होइन, उनले पुतलीको घरमा ल्याएका नानीबाबुको जिन्दगीको नालीबेली पनि पाइन्छ । मानौं, पुष्पा धागो हुन् र केटाकेटी मोती हुन् । विस्तारै जब धागोमा अनेक मोती उनिदै जान्छन्, मोतीको साथले धागो पनि मुल्यवान हुन्छ । सतही रुपमा हेर्दा लाग्छ, पुष्पाले सिएनएन हिरो अवार्ड जितिन् तर गहिरिएर हेर्दा त्यो अवार्ड पुष्पा जत्तिकै उनको पुतलीको घरमा बाँचेका प्रत्येक केटाकेटीले पनि जितेका हुन् । त्यसैले त अर्वाड हातमा लिएपछि पुष्पाले भनिन् –दिस इज फर माइ चिल्ड्रेन ।
लाग्छ, मान्छेले गर्ने जघन्य अपराधका पछाडी ठुलाठूला कारण मात्र हुन्छन् । हाम्रो स्वभाविक अनुमान ठीक यहीनेर गलत सावित हुन्छ । एक किलो मासु, एउटा लुंगी, केही साना लोभ, अझै भोक लागेको बेला खान नपाएको अण्डा । यहाँ अपराध गर्न, मान्छे मार्न बस् यस्तै साना कारण काफी छन् । यस्तै अपराधको सजाय भोगिरहेका बन्दीले कलिला नानीहरुको जीवनका तमाम सपनालाई समेत बन्दीगृहमा कैद गरिदिएका छन्, जसलाई आजाद गर्छिन् पुष्पा मामुले ।
पुष्पा बस्नेतको नायकत्वलाई किताबले स्थापित गरेको त देखिन्छ । यसका बाबजुद उनका कतिपय कमी कमजारी पनि छताछुल्ल पोखिएका छन् किताबभरि । डकुमेन्ट्री छायाङकनका क्रममा निन्द्राले आकुलव्याकुल भएका केटाकेटीको पहिलो पटक घर आएको भाव उर्तानका लागि उनीहरुलाई निदाउन समेत नदिइ भिडियो खिचिदाको प्रसंगले पुष्पा बस्नेत मानवीय हुँदाहुँदै पनि निर्मम लाग्छिन् । अघिल्लो जन्ममा मैले केटाकेटीहरुको के ऋण खाएकी रहिछु र अहिले यिनीहरुको सेवा गरिरहेछु भन्ने उनको कथनले उनी बढी नै रुढिवादी लाग्छिन् । समाजसेवाप्रतिको पुष्पाको प्यासन हेर्दा उनी नयाँ युग हाँक्न सक्ने आँटिली युवती लाग्छिन् । ठीक त्यहीबेला भूतप्रेत र पिचासप्रतिको उनको विश्वासलाई हेर्दा उनी परम्परागत् र अन्धविश्वासी चरित्रकी नमूना लाग्छिन् । एउटै ऐनामा देखिने उनको दुइटा रुप पत्याउन र पचाउन पाठकहरुलाई हम्मेहम्मे पर्छ ।
सन् २००५ मा सात हजार घरभाडा तिर्न हम्मे परेकी पुष्पाको पुस्तक पढदै जाँदा समाजसेवामा उनको आर्थिक छलाङ हजारबाट लाख हुँदै करोडौमा पुगेको देखिन्छ । समाजसेवाबाट शुरु भएको उनको कथाको अन्त्य कतै सम्पत्तीको मोहमा परेर अधिकांशले रोजेको दोहोरो चरित्रवाला संवेदनाको व्यापारमा पो टुंगिने हो कि भन्ने शंका पनि पाठकको मनमा उब्जन्छ ।
पुष्पाको जीवनका घटना र तथ्यहरु रोमान्चक छन् । तथ्य र कथ्यलाई सम्प्रेषण गर्न प्रयोग भएको भाषा काव्यिक छ । घनश्याम खड्कासँगको सहकार्यमा लेखिएको भनेर पुस्तकमा शुरुमै उल्लेख गरिएको पनि छ । पुष्पाको कथालाई घनश्यामका शब्दशिल्पले पाठक तानिराख्न मद्धत गरेको भएपनि पनि कतिपय ठाउँमा पुष्पाका कथाभन्दा घनश्यामको भावुकताहावी भँैदिदा पाठक दोधारमा पर्छ–पुष्पा बस्नेतलाइ पढिरहेको छु या घनश्याम खड्कालाइ भनेर !
यी सबका बाबजुद मेकअप बिना नै हिड्न रुचाउने पुष्पाको स्वभाव जस्तै छ उनको आत्मकथाको किताब पनि । उनले आफ्नो कथालाई टल्काएर प्रस्तुत गरेकी छैनन् । मपाइत्व र आडम्बरका डकारहरु छैनन् । पटकपटक हण्डर खादै लड्दै उठ्दाका तीतामीठा खस्रा भोगाइलाई तीतो, टर्रो अनि पिरो स्वादमै पस्केकी छिन् ।
देशको राजनीतिक अस्थिरता, बेरोजगारी र अव्यवस्थालाई दोष दिएर विदेश पलायन हुन खोज्ने र देशमा अवसर छैन भनेर चियापसलमा गफिने तमाम नेपाली युवाका लागि पुष्पाको जीवनकथा ठूलो प्रेरणाको स्रोत हो । आत्मकथाको नाममा आत्मप्रशंसा वा प्रशंसाको गुलियो मात्र रुचाउनेले पुतलीको घर नपढेकै बेस ! तीतो, टर्रो र पिरो स्वादको आत्मकथा पढ्न रुचाउनेका लागी चाहिँ गज्जबको खुराँक हो पुतलीको घर ।

Friday, January 26, 2018


के भन्छ पोखरा ? कपिल शर्मा, इश्वरमणि अधिकारी, सरस्वती श्रेष्ठ सरु र विनोद बानियाँ संग उपेन्द्र पौडेल

Monday, November 6, 2017

कोहेलो केमेस्ट्री


पाउलो भन्छन्, ‘जिन्दगीको रहस्य सातौंपटक लडेर आठौंपटक उठ्नु हो ।’ जिन्दगीप्रतिको पाउलोको यही विश्वासले मलाई पटकपटक उनलाई पढ्न र पढिरहन प्रेरित गर्छ । पाउलोलाई पढिरहँदा जिन्दगीप्रतिको आस्था ह्वात्तै बढेर आउँछ । चिहानमा गाडिसकेका सपनाहरूसमेत अचानक बौरिएर आउँछन् र सपनाहरूमा प्राण भर्ने जाँगर पलाएर आउँछ ।
मान्छेभित्रका अनेकन ‘मान्छेहरू’लाई सरल शब्दमा उनी यसरी केस्राकेस्रा केलाउँछन्, तिनका कथाहरूमा हामी आफ्नै कथा भेट्न पुग्छौं । तिनका सुस्केरा र थकानमा हामी आफ्नै सुस्केरा र थकान भेट्न पुग्छौं ।
बच्चाहरूलाई सुनाइने कथा अक्सर ‘एकादेशको कथा’बाट सुरु हुन्छ । पाउलोको कथाचेत अलि बेग्लै छ । ‘इलेभेन मिनेट्स’ उपन्यासको सुरुआतमै उनी भन्छन्, ‘एकादेशमा एउटी मारिया नामक वेश्या थिई । एकैछिन पर्खनुहोस्, एकादेशमा शब्द सुन्दर बालकथाहरूका लागि प्रयोग गरिने शब्द हो र वेश्या वयष्कहरूका लागि प्रयोग गरिने शब्द हो । म कसरी यसरी विरोधाभाषपूर्वक पुस्तकको सुरुआत गर्न सक्छु ? तर, जीवनको प्रत्येक क्षणमा हाम्रो एउटा पाउ परिकथामा र अर्का पाउ पातालमा हुन्छ त्यसैले कथाको सुरुआत यहीँबाट गरौं ।’
कथाको सुरुआत र अन्त्य गर्ने उनको आफ्नै मायावी शैली छ । यही शैलीका कारण उनी सधैं प्रिय लाग्छन् । भनिन्छ, बाइबलपछि संसारमा सबैभन्दा बढी उद्धृत भएका कुनै लाइन छन् भने ती पाउलोकै किताबका लाइनहरू हुन् । चलचित्रमा समेत उनका किताबका लाइनहरू उत्तिकै चलेका छन् । जस्तो कि ‘ओम शान्ति ओम’ फिल्ममा शाहरूख खान भन्छन्, ‘केहेते हेँ कि अगर किसी चिजको दिलसे चाहो तो पुरी कायनात उसे तुमसे मिलानेकी कोसिसमे लग जाती हे ।’ (इफ यु वान्ट समथिङ, अल द युनिभर्स कनपायर्स इन हेल्पिङ यु टु एचिभ इट ।)
जनवरी महिनामा यसै डुल्दै गर्दा सेतो प्वाँख भेटियो भने पाउलो त्यसलाई पुस्तक लेख्ने निम्तो सम्झन्छन् र नयाँ पुस्तक लेख्न बस्छन् ।
अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्दा थेसिसको क्रममा मैले पाउलो कोहेलोलाई नै रोज्नुका पछाडि उनी लेखकमात्र लागेर होइन, एक तिलस्मी लेखक लागेर हो । कसैको जन्म ‘लेख्नका लागि पनि’ हुन्छ, कसैको जन्मचाहिँ ‘लेख्नकै लागि मात्र’ हुन्छ । आफ्नै नजरमा समेत लेख्नकै लागि जन्मिएका पाउलोको जीवनकथा आफैंमा कुनै रोमाञ्चक काल्पनिक कथाभन्दा कत्ति फरक छैन ।
सन्ततीले आफ्ना निर्देशन र सपना अक्षरशः पूरा गरेनन् भने खराब छोराछोरीको संज्ञा दिने समाज नेपाली समाज होस् वा ब्राजिलियन, भूगोलमात्र फरक हो, मानसिकता एउटै । यही मानसिकता र मापदण्डको तुलोमा राख्दा ‘एक अत्यन्त खराब सन्तान’ हुन् पाउलो । परिवार र समाजको निर्णयलाई लत्याउँदै पाउलोले सधैं आफ्ना सपनालाई पछ्याइरहे ।
आज विश्वका १५० भन्दा बढी देशमा जसको किताब पढिन्छ, जसको नयाँ किताब निस्कनासाथ लाखौंलाख प्रति बिक्री हुन्छ, उनै लेखकले ‘कुनै दिन लेखक बन्छु’ भन्दा बीस वर्षको उमेरभित्रमा तीनतीनपटक मानसिक अस्पतालमा भर्ना हुनु परेको थियो । सन् १९४७ मा ब्राजिलमा जन्मेका सत्तरी वर्षीय लेखक पाउलोका पिता एक इन्जिनियर थिए । इन्जिनियरिङ पढाउन खोज्ने परिवारको दबाब । लेखक बन्ने उनको आफ्नो सपना ।
‘लेखक बन्छु’ भन्ने आफ्नो सपना पटकपटक सुनाउँदा उनको मानसिक सन्तुलन बिग्रेको आशंकामा उनलाई पटकपटक मानसिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालबाट त्यहाँबाट निस्केपछि औपचारिक अध्ययन छोडेर उनले हिप्पी शैलीमा फिरन्ते जीवन बिताए । गाँजा, मदिरा, ड्रग्सजस्ता कुलतमा समेत बाँचे । एलिस रेजिना, रिटा लि र राउल सिक्सेसजस्ता केही चर्चित ब्राजिलियन संगीतकारका लागि गीत लेखेका कोहेलोका गीतले पनि उनलाई सुख दिएनन् । तत्कालीन सैनिक सरकारले विद्रोही र क्रान्तिकारी गीत लेखेको भन्दै उनलाई पटकपटक जेल हाल्यो र उनी यातनाको सिकार बने ।
उत्तरपश्चिम स्पेनमा रहेको स्यान्टिआगो डी कम्पोस्टेलाको धार्मिक यात्रामा निस्केका बेला उनको यात्रा र आध्यात्मिक चेत मुखरित भएर पहिलो आत्मपरक पुस्तक ‘द पिलग्रिमेज’ बजारमा आयो तर यसले पाउलोलाई खासै सफलता दिलाएन । त्यसलगत्तै १९८८ मा उनको अर्काे पुस्तक ‘द अल्केमिस्ट’ स्थानीय पोर्चुगिज भाषामा प्रकाशित भयो । प्रकाशकको दावा थियो— द अलकेमिस्ट नौ सय प्रतिभन्दा बढी बिक्दै बिक्दैन ।
हुन पनि सुरुमा मुस्किलले एक हजार प्रति पनि बिक्री हुन सकेन । फ्रेन्च भाषामा त्यस पुस्तकको अनुवाद भएपछि भने पुस्तकको बिक्रीमा अपेक्षाकृत सुधार भयो । अमेरिकी प्रकाशनगृह हार्पर कोलिन्सले अंग्रेजी भाषामा अनुवाद गरेर बिक्री सुरु गरेपछि भने ब्राजिलमा मात्रै होइन, विश्वभरि नै अत्यधिक बिक्रीको सूचीमा पर्न सफल भयो- द अल्केमिस्ट । न्युयोर्क टाइम्सको बेस्ट सेलर लिस्टमा लगातार तीन सय हप्तासम्म ‘द अलकेमस्टि’ले आफ्नो स्थान सुरक्षित गर्‍यो । हेर्दाहेर्दै किताब ८० भन्दा बढी भाषामा अनुवाद भयो । किताबको बिक्रीले बिक्रीको सबै रेकर्ड तोड्यो । आजसम्म सात करोडको संख्यामा ‘द अलकेमिस्ट’ बिक्री भइसकेको रेकर्ड छ ।
भनिन्छ, मान्छेले जे गर्छ चालीसको उमेरभित्रै गरिसक्छ । त्यसपछि उसको ऊर्जा र उत्साहमा खिया लाग्न सुरु गर्छ । पाउलो यस मानेमा अपवाद लेखक हुन् । उनको पहिलो किताब नै लगभग चालीस उमेरको हाराहारीमा प्रकाशित भयो । ४१ को उमेरमा निक्लेको ‘द अलकेमिस्ट’ उनको करिअरको सुरुआती सफलताको बिन्दु बन्न पुग्यो । लगभग प्रत्येक दुईदुई वर्षको फरकमा किताब निकाल्ने पाउलोको पछिल्लो प्रकाशित कृति ‘द स्पाई’सँगै हालसम्म ३४ वटा किताब निस्किसकेका छन् । प्रत्येक किताब लाखौं प्रति बिक्री भएका छन् ।
पाउलाको प्रत्येक किताबको विशेषता नै यही हो कि उनी आफ्ना किताबमा आशाको खेती गर्छन् । संसारभरका लाखौं मानिस उनको यही आशाको खेतीलाई प्रेम गर्छन् । मान्छेको जीवन परि श्रम र भाग्यको संयोजन हो र आफ्ना सपना पूरा गर्ने एउटै उपाय आफूभित्रको डरमाथिको विजय हो भन्ने सार भेटिन्छ पाउलोका अक्सर पुस्तकमा । पाउलो आफैं पनि आध्यात्मिक चेतले प्रेरित भएकाले उनका धेरैजसो पुस्तकका पात्र कहीँ न कहीँ अध्यात्मतिर झुकाव राख्छन् ।
पाउलो आफू पनि खुब यात्रा गर्न रुचाउँछन् । त्यसैले उनी आफ्ना पात्रलाई पनि यात्रामा निकाल्छन् । ‘द अल्केमिस्ट’को स्यान्टियागो होस् वा ‘इलेभेन मिनेट्स’की मारिया, ‘ब्रिडा’की मुख्य पात्र ब्रिडा वा अन्य पुस्तकका अन्य पात्र, यिनीहरू सबै आफ्ना सपना, आत्मिक र भौतिक खोजका लागि यात्रारत भेटिन्छन् । प्रेम, यौन, शानसौकत, भाग्यजस्ता विषयवस्तु उनका किताबमा समेटिएको पाइन्छ ।
पाउलो क्लासका लागि भन्दा पनि मासका लागि लेख्ने लेखक हुन् । उनका धेरैजसो पुस्तकका पात्र आममान्छे हुन्छन् र आममान्छेको कथाले नै उनका पुस्तकमा स्थान पाएको देखिन्छ । त्यसैले पनि आममानिसका लागि पाउलो आइकनिक लेखक हुन् र उनका करोडांै फ्यान यसको प्रमाण हुन् । सामान्य मानिसका लागि त उनी सेलिब्रेटी लेखक हुन् नै, जुलिया रोर्बटस्, म्याडोना, विल स्मिथ र पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि पाउलोका पुस्तक पढेको र आफूहरूले मन पराएको सन्दर्भ उद्धृत गरेका छन् ।
पोर्चुगाली भाषामा बेस्ट सेलर राइटर होस् वा जीवित लेखकमध्ये सबैभन्दा धेरै भाषामा पुस्तक अनुवाद भएको रेकर्ड वा लोकप्रियताको सवालमा अग्रपंक्तिमा आउने लेखक पाउलोले जीवनमा थुप्रै रेकर्ड राखेर स्वयंलाई ‘रेकर्ड किङ’ बनाएका छन् । करोडौं पाठकका प्रिय लेखक पाउलो किताब निकाल्छन् कि कुनै मोहनीमन्त्रले बाँध्ने बुटी निकाल्छन्, बुझिनसक्नु छ । पाठकमाझमा यतिविघ्न क्रेज किन छ उनको ?
पाउलो जति चर्चित् र पढिने लेखक हुन्, उनी त्यति नै आलोचित पनि छन् । उनका आलोचक भन्छन्, ‘पाउलो केटाकेटी एवं भर्खरै पढ्न सुरु गर्नेका लागि राम्रा लेखक हुन् । तर, हुर्कंदै जाँदा र केही पुस्तक पढिसकेर पनि मानिसहरू अझै पाउलोमा अड्किबस्छन् भने बुझ्नुहोस् उनीहरूको संसार अझै ठूलो भइसकेको छैन ।’
पेड्रो नाभा, गुइमेरइस रोजा वा क्ल्यारिस लेस्पेक्टरजस्ता ब्राजिलका स्तरीय कथाकार एवं लेखकका बीचमा पाउलोलाई तुलना नै गर्न नमिल्ने गरी कमजोर लेखकका रूपमा लिने जमात पनि ठूलै छ । चर्चित ५० धर्मका वाहियात सिद्धान्त, चल्तीका ३० महान् मानिएका व्यक्तिको उद्धरण र केही सेल्फहेल्प किताबको जिस्टलाई एकै ठाउँमा घोलेर पाउलोलाई पिलाउनुहोस्, पचाउन नसकेर केही समयपछि उनी बान्ता गर्छन् र त्यही बान्तालाई आममानिस पाउलोको नयाँ किताब मानेर वाहवाही गर्छन् भन्ने गम्भीर आरोप पनि लाग्दै आएको छ पाउलोलाई ।
यति हुँदाहुँदै पनि चर्को आलोचनाको हुरीले कहिल्यै ढलाउन नसकेको रूखको नाम हो— पाउलो कोहेलो । उनको लोकप्रियताको पारो हेर्दा स्वयं लोकप्रियता पनि आफैंमा छक्क पर्छ ।
भलै समाज र राष्ट्र बदल्ने चर्का कुरा नहोलान् उनका किताबमा वा सबैभन्दा बढी चल्ने राजनीतिको कारखानाका लागि उनका किताब अराजनीतिक कवाडीसिवाय केही नहोलान् । तर पनि पाउलो जिन्दगीका हजारौंहजार यक्ष प्रश्नका जवाफ दिइरहन्छन् आफ्ना टेक्स्टमार्फत । उनी जिन्दगीलाई नयाँ ढंग र कोणबाट हेर्न प्रेरणा दिइरहन्छन् सधैं ।
यतिविघ्न चर्चित लेखकले नयाँ पुस्तक लेख्ने बेला संयोगपूर्ण अनुष्ठानलाई विश्वास गर्छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्ला । जनवरी महिनामा यसै डुल्दै गर्दा सेतो प्वाँख भेटियो भने पाउलो त्यसलाई पुस्तक लेख्ने निम्तो सम्झन्छन् र नयाँ पुस्तक लेख्न बस्छन् । भन्छन्— उनी पुस्तकका लागि कथा वा विषय खोज्दै हिँड्दैनन्, उल्टै पुस्तकका लागि विषय वा कथा उनलाई खोज्दै आउँछन् र त्यसपछि सुरु हुन्छ उनको यात्रा अर्को पुस्तकका लागि । आशा गरौं, पाउलोले त्यो सेतो प्वाँख भेटिरहून् सधैं लेखिरहून् किताब ।

भुइँमान्छेका उच्छवास

उपेन्द्र पौडेल शनिवार, कात्तिक ११, २०७४ 
हिजोआज समाज ब्रेकिङ न्युजमा विश्वास गर्छ । सनसनीपूर्ण खबर र तातेको राजनीतिक बहस छेड्नु, सामाजिक सञ्जालमा भाइरल हुने स्ट्याटस पोस्ट गरेर आफ्ना फ्यान फलोइङ गन्नु वा हनिप्रीत र रामरहिमको सम्बन्धको आयाम केलाउनुमा जति मजा छ, अरूमा कमै मज्जा भेट्टाउँछ समाज । चिया पसलमा बसेर वाम एकताको विश्लेषण वा कुन सेलिब्रेटीले लगाउने भित्री वस्त्रको मूल्य कति भन्ने कुनै पत्रिकामा छापिएको लेख लुकीलुकी पढ्नुजस्ता आनन्द छोडेर भुइँमान्छेका कथा र व्यथाले नदुखेको टाउको दुखाउने फुर्सद कमैलाई छ यहाँ ।
यस्तो माहोलमा पनि कोही छन्, जो दुख्याहा जीवनको कथा लगातार सुनिबस्छन् र त्यसलाई लिपिबद्ध गर्ने हिम्मत देखाउँछन् । लामो समयदेखि पत्रकारितामार्फत राजनीति, कला, साहित्य, सिनेमा र अन्य विविध विषयमा खुद्रा लेखन गरिरहेका यज्ञश यसअघि ‘मोहनदास’ र ‘नेलकटर’जस्ता किताबमार्फत अनुवादक अवतारमा देखिए । यहाँ चर्चा गर्न लागिएको किताब ‘भुइयाँ’ उनको पहिलो मौलिक किताब हो ।
पूर्वीदेखि पश्चिम तराई र केही भित्री मधेसका भूमिहीनहरूको संघर्ष, आन्दोलन र दुःखको फेहरिस्त प्रस्तुत गर्दै लेखकले लामो समयदेखि चलेको कमैया आन्दोलन, सुकुमबासी आन्दोलन, भूमि आन्दोलन, समाजमा व्याप्त अन्याय र सामन्ती शासकहरूको सचित्र वर्णन गरेका छन् भुइयाँमा ।
सिनेमाको केस्राकेस्रा केलाएर समीक्षा गर्ने यज्ञशले यसपटक सिनेमाका नायकनायिकाको होइन, वास्तविक जीवनका नायिकाहरूका कथा बुनेका छन् ।
किताब सर्सर्ती पढ्दा सलमा बेहेना, पार्वती राजी, पार्वती डगौरा, दुर्गा, तारा विक, गंगामाया बानियाँ, नेप्लु माझी, सावित्री थारू, चन्देश्वरी सदा र पुतली तामाङ गरी १० जना प्रमुख नारी पात्र तथा बलदेव राम र चुके चौधरीलगायत केही सहायक पुरुष पात्रकोे वहको वर्णनजस्तो लाग्छ । यद्यपि समग्रमा उनीहरूको कथामार्फत उनीहरूले बाँचेको समाज, त्यसभित्रका व्यथा र विभेदको मिहिन चित्रण हो यो किताब । किताब मधेसमा दुःखका सागरमा पौडिरहेका आममानिसलाई हेर्ने झ्याल हो भन्दा अत्युक्ति नहोला ।
नेपालगन्जको बनघुस्रा गाउँकी सलमा बेहेनाको घरमा रहेको सात क्विन्टल धानको कथाबाट किताब सुरु हुन्छ । माओवादी ‘जनयुद्ध’सँगै गाउँमा आएको परिवर्तन र डरबिच बटैयामा काम गर्ने मुस्लिम समुदायकी एउटी नारीले कसरी दृढ निश्चयी भएर जमिनदारको हुकुमतविरुद्ध विद्रोह गरिन् र सलमालाई कसरी यसले भूमि आन्दोलनको अगुवा बनायो भन्ने फेहरिस्त छ पहिलो अध्याय- ‘तातो कराहीमा ।’ जसैजसै अन्य पात्र र तिनका कथा अगाडि बढदै जान्छन्, पाठकले बुझ्छन्— नाम फरक होला, ठाउँ फरक होला, यिनीहरूसँग जग्गाको लालपुर्जा नहोला तर सबैतिरका सोझा, निमुखा र विपन्नसँग पुर्खैाली सम्पत्तिका रूपमा बिघाका बिघा दुःखको लालपुर्जा भने छ ।
चट् प्रेम झट् ब्रेकअपमा रम्ने सहरिया युवा पुस्ताका लागि मछेलीकी पूर्व-कमलरी पार्वती डगौरा र मुक्त कमैया चुके चौधरीको प्रेम ‘एकादेशको कथा’ लाग्न सक्छन् । पूर्वलोग्नेबाट प्रताडित पार्वतीले चुकेसँग प्रेम गरेकै कारण समाजमा कालोमोसो दलिएर निर्वस्त्र हुनुपर्ने घटना एक्काइसांै शताब्दीका हाम्रै समाजकोे घटना हो । खासमा यो घटनाभन्दा पनि हाम्रो समाजको कथित मर्यादाको दायरामा पवित्र प्रेम अझै पनि कति बदनाम छ भन्ने सत्यको तीतो उदाहरण हो ।
किताबभरि हामी भेट्छौं यस्तै पात्र, पात्रसँग जोडिएका अनेकौं परिवेश र घटना । दूरदराजका यस्ता घटना र शृंखला कहीँ साह्रै अपत्यारिला लाग्छन् र कहीँ साह्रै अत्यासलाग्दा पनि । भुइँमान्छेहरूका उच्छ्वास पढिरहँदा पीडाले घरिघरि आफ्नै श्वास अड्केजस्तो हुन्छ ।
भूमिहीनहरूले बेलाबेलामा गरेका आन्दोलन र सहमतिका नाममा गरिएका धोका देख्दा लाग्छ, यो देशमा सरकार भन्ने जिनिस नै छैन । उनीहरूसँग जग्गाको हक दिलाउनका लागि पटकपटक भएको सम्झौता र सहमति मन्त्रालयको कुन कुनामा, कुन फाइलमा अड्केर बसेका छन् र ती फाइलभित्र आफूले कति हजार जनाको जीवन, सपना र भविष्यलाई अँठ्याएर राखेको छु भन्ने सरकारलाई त परको कुरा, त्यही फाइललाई समेत थाहा नहोला ।
सरकार भनेको शक्तिमात्रै होइन, आशा र भरोसा पनि हो । जब सरकारसँगको कुनै भरोसा बाँकी रहँदैन, अलिकति आफ्ना कुरा सुनिदिने पत्रकार भेट्दा पनि खुरखुरेकी महिलाले आफूलाई जंगलबाट कुनै सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिनुपर्‍यो भनेर बिन्ती बिसाउँछन् । योभन्दा चर्को अर्को ठट्टा कुनै हुन सक्ला र ?
सबैका जीवनकथामा आँखा डुलाएपछि लाग्छ, भुइयाँ जीवनभर दौडिरहने मान्छेका कथा हुन्, जो स्वस्थ हुनका लागि वा जीउ छरितो बनाउन दौडिरहेका छैनन्, बरु ती त दौडिरहेका छन् हिंस्रक सिकारी कुकुरझैं लघारिरहने प्रकृति, सरकार, जमिनदार र मालिकहरूबाट बच्नका लागि । पहाडमा पहिरोले लखेट्यो । तराईमा बाढीले लखेट्दैछ । यी दुवैबाट नछोएकाहरूलाई जमिनदार र सरकारले लखेट्दैछ । यसबाट पनि कोही बचेका छन् भने तिनलाई पनि गरिबी, अभाव र भोकले लखेटिरहेको छ र यो दौड श्वासको समाप्तिसँगै समाप्त हुनेछ ।
दुखियाका दुःखका कारण परचक्री मात्रै हुँदैनन्, आफ्नै सोचिएका र भनिएका आफन्त र नातेदारहरूले पनि निरीहलाई कहिले जबर्जस्ती र कहिले फकाई फकाई निरन्तर लुटिरहेका छन् । किताबका अधिकांश नारी पात्र पुरुषबाट विभिन्न बहानामा प्रताडित छन् । चुके चौधरीजस्ता केही अपवादलाई छोड्ने हो भने आफ्नै घरमा पुरुष पात्रबाट शंका, कुटपिट, बहुविवाह र बेचबिखनको मारमा परेका किताबका धेरैजसो पात्रले आफ्ना कथामात्रै बोलेका छैनन्, यो भेगकै कथा कहेका छन् ।
माओले ‘क्रान्ति बन्दुकको नालबाट सुरु हुन्छ’ भने तर भुइयाँले भन्छ- क्रान्ति सधैं बन्दुकको नालबाट मात्रै होइन; कहिले कुटो, कोदाली र हलोबाट, कहिले निवेदनबाट र कहिले प्रेमबाट पनि सुरु हुन्छ । किताबका कयौं पात्रले सामान्य जीवन बाँच्नका लागि अजबको क्रान्ति गरेका छन् र बनेका छन् पूरै समुदायका नेता तथा मुक्तिदाता ।र पनि ती अझै पिल्सिइरहेका छन् । भूमि आन्दोलनको नेतृत्व तहमै पुगेकाले त यो प्रताडना र विभेद भोग्नु परेको छ भने त्यहीँभित्रका सामान्य मानिसको हालत के होला ? सम्झँदै कहाली लाग्छ ।
भुइयाँ भुइँमान्छेहरूको अघोर साहसको कथा पनि हो । साहू र जमिनदार चट्टान हुन् भन्ने जान्दाजान्दै पनि निरीह अवस्थामा रहेका महिलाले उनीहरूसँग सिँगौरी खेल्नु सानो साहसले हुँदैन । हक प्राप्तिको आन्दोलन लामो समय उपलब्धिमूलक नहुँदा पनि अनवरत लडिरहने भूमिहीनहरू हुन् वा पढ्न नपाएको झोकमा १० वर्षको उमेरमा एक्लै काठमाडांै हानिएकी गंगामाया बानियाँ, असमान र अमेल विवाहका विरुद्ध लडिरहने पात्रहरू हुन् वा आफ्ना हकका लागि ‘हल्ला-बोल’ गर्ने सावित्री चौधरी र सुलो सदा हुन्, जस्तै दुःख र कष्टमा पनि यी कसैले हिम्मत हारेका छैनन् पट्यारलाग्दो लामो जीवन-संघर्षसँग ।
भूमि आन्दोलनको विषय राजनीतिक भएकाले राजनीतिक दलहरूप्रति त्यस क्षेत्रका बासिन्दाको वितृष्णा पनि ठाउँठाउँमा किताबमा पढ्न पाइन्छ । अझ विशेषत:१० वर्षे माओवादी आन्दोलनले स्थानीय महिला र पिछडिएका वर्गमा आएको चेतना र परिवर्तनको मनग्गे छाप पनि छ किताबमा । तर, अर्कोतिर पिछडिएका वर्गको मुक्ति र रक्षकका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेको माओवादीउपर थुप्रै पात्रले रोष प्रकट गरेका छन् ।
भूमिहीनहरू हुन् वा सिनो बहिष्कार आन्दोलनका अगुवा बलदेव राम हुन्, यिनीहरू माओवादीसँग गुनासो गरिहन्छन् किताबभरि नै । गाली त्यसैलाई गरिन्छ, जब कसैसँग आशा गरिन्छ र त्यो पूरा हुँदैन । आफ्नो आन्दोलनको सुरुमा श्रमजीवीको पक्षमा नारा लगाउने र कालान्तरमा अर्को शक्तिसँग मिलेर श्रमजीवीकै दोहोलो काढ्ने माओवादी दोगलापनको कथा धेरै पात्रले व्यक्त गरेका छन् र यी धेरैको समान कथाजस्ता लाग्छन् ।
विषयवस्तुका अलावा किताबको अर्को असाध्यै सुन्दर पक्ष यसको भाषा हो । गैरआख्यान भईकन पनि कुनै सुन्दर आख्यान पढेझैं तानिरहन्छ किताबले । कहीँ कतै सुन्दर कथा पढेझैं, कहीँ कतै बेजोड निबन्ध पढेझैं, कहीँ कतै कविता पढेझैं लागिरहन्छ । पात्रका बीचमा लेखक बोल्दा कुनै कथाको न्यारेटरले घटना र परिवेश जोड्नका लागि बुनेको सुन्दर तानझैं लाग्छ । झिनामसिना घटनालाई पनि असामान्य तवरले प्रस्तुत गर्नु लेखकको खासियत हो ।
सिनेमाको राम्रो अध्यता भएकाले पनि हुनुपर्छ, पढिरहँदा दिमागमा एउटा फ्रेम तयार हुन्छ । लाग्छ, पात्रहरू लेखकसँग होइनन्, हाम्रै छेउमा बसेर बोलिरहेका र रोइरहेका छन् अनि गोजीको रुमाल झिकेर दिनुभयो भने तिनै रुमालले तिनले आफ्ना सजल आँखा पुस्छन्झैं गरी सजीव वर्णन भेटिन्छ ।
अंग्रेजीका दुई शब्द ‘सिम्प्याथी’ र ‘इम्प्याथी’ सुन्दा उस्तै लागे पनि यी शब्दहरूको भावनात्मक अर्थचाहिँ अलि फरक छ ।
अर्काको दुःख बुझ्नु, चासो देखाउनु र चिन्ता व्यक्त गर्नु सहानुभूति वा सिम्प्याथी हो भने अरूको दुःखमा आफैं दुख्नु र छटपटाउनु इम्प्याथी अर्थात् समानुभूति । दुःखीका कथा लेखिएकै कारण यज्ञशको भुइयाँ पठनीय भएको होइन; यो त दुःख खाएर, लगाएर दःखको विस्तारामा दुखै ओढेर निदाउन खोज्दासमेत दुःखले नछोड्ने दुःखीहरूका आवाज संवेदनाको भित्री तहसम्म छोइएर कलमबाट छचल्किएको हुनाले पढ्नैपर्ने भएको हो ।
अनपढ र देहाती पात्रले बोल्ने संवादमा स्थानीय लवज र आद्रता नभेट्दा भने संवाद कहीँकहीँ अलि अपाच्य लाग्छ । भुइयाँहरूको संवाद उनीहरूको ज्ञान, चेतना र स्तरभन्दा एकदम माथिल्लो र परिस्कृत सुनिन्छ । कुनै विश्वविद्यालयको प्रोफेसरले बोल्ने भाषाजस्तो माझिएको भाषा किन छ भुइँमान्छेहरूको संवादको भाषा ? यहाँनेर यज्ञशले अलि कम मेहनत गरेको प्रस्ट देखिन्छ ।
अक्सर देखिन्छ— जब पत्रकारको कुनै किताब निस्कन्छ, लेखक हुने रहरमा न पत्रकार नै बन्न सकेको, न लेखक नै बन्न सकेको अधकल्चो अवतारमा देखिन्छ । पत्रकारिता व्यक्तित्व उसको लेखक व्यक्तित्वमाथि यति हावी हुन्छ कि उसले लेखेका कथाहरू पनि कुनै सपाट टिपोट वा वर्णनजस्ता लाग्छन् । यस मानेमा यज्ञश अत्यन्त सफल लेखकका रूपमा दरिएका छन् । पत्रकार यज्ञशलाई पूरै भुलेर जोकोहीले ‘भुइयाँ’ पढोस्, अहिलेका चलेका उत्कृष्ट केही लेखकहरूको पंक्तिमा उनलाई उभ्याउँदा कसैले आपत्ति जनाउला भन्नै पर्दैन ।
सचिन योगल श्रेष्ठको सुन्दर आवरणसहितको हार्ड कभर किताबलाई प्रतिपेज दुई रुपैयाँ पर्दा अलि महँगो लागे पनि १९० पेजमा फैलिएको भुइँमान्छेका कहानी भने अनमोल छन् ।सर्वाल्टन साहित्यको अब्बल नमुना हो- भुइयाँ । विद्रोह, रिस, आवेग, दुःख, पीडा, हुटहुटी, आशा अनि साहसको एकीकृत प्याकेज हो- भुइयाँ । सुललीत भाषा, संवेदनायुक्त विषय र सुन्दर व्याख्याले गर्दा ‘भुइयाँ’ले थुप्रै पाठकको मन जितिरहेको छ र जित्नेछ । तर, सरकारमा बसिरहेका जोकसैलाई ‘भुइयाँ’ मन नपर्न सक्छ । किनभने यो सरकारी कर्मचारी र सरकारसँगको गुनासोको प्याकेज हो । भूमिहीनमाथि भइरहेको बेवास्ता, सरकारी अकर्मण्यता र लाचारीको दस्तावेज हो किताब ।
लेखक :यज्ञश
प्रकाशक :फाइन प्रिन्ट
पृष्ठ :१९०
मूल्य :३८८
http://annapurnapost.com/news-details/82897#sthash.BbAlAUoH.gbpl 

Wednesday, August 20, 2014

अध्यक्षीय मन्तब्य


मञ्चासिन तथा मञ्चाभिमुख सम्पुण महानुभावहरु

नमस्कार

३६५ दिन, ९७५ ओटा एस.एम.एस, १०२२ वटा इमेल, लगभग ५०० को संख्यामा फोन कल, २३ नियमित बैठक, ११ बोर्ड बैठक, ५ जोनल मिटिग, २ वटा साधारण सभा ४ वटा डिष्टिक कार्यक्रम, १३५० कि.मीको यात्रा, २१ वटा क्लबले गरेका कार्यक्रम, लगभग २००००० रुपैयाँ बजेट अनि केही फेलोसिप कार्यक्रम, 

अंक गणितमा बर्ष २०१३/१४ लाई हेर्ने हो भने यि र यस्तै संख्याहरुको जोडघटाउ आउँदो रहेछ तर अंकगणितीय हिसाबले मात्रै हेर्नु अन्याय पनि हुने रहेछ । बर्ष २०१३/१४ लाई भावात्मक तबरले हेरयो भने एक बर्षभित्र एउटा अलग्गै जिन्दगी भोगेको महशुस हुँदो रहेछ । 

मित्र अनिल खड्काले रोट¥याक्ट क्लबको पहिलो बैठकमा लिएर आउँदा दाई निर्देशन कुमार चुल्याजु अध्यक्ष हुनुहुन्थ्यो र अध्यक्षको कुर्चिबाट मिटिग चलाईरहनुभएको थियो । बस त्यतीबेलै बनेको थियो एउटा सपना । यस क्लबको अध्यक्ष बन्ने । अध्यक्ष बसेको कुर्चि बाहिरबाट हेर्दा आरामदायी गददा हालेको देखिएको थियो । त्यतीबेला लागेको थियो अध्यक्ष हुनु भनेको खादा, सम्मान आसन ग्रहण, प्रशंशा जोश, जाँगर उत्साह र हैकम हो । तर आज ठिक ७ बर्षपछि आफै अध्यक्ष भएर निवर्तमान हुने तयारी गरिरहँदा बल्ल अनुभुत हुँदैछ अध्यक्ष हुनु भनेको त्यती मात्रै होइन रहेछ । अध्यक्ष हुनु भनेको कयौ सोच्दै नसोचेका कुरा सोच्नु, भोग्दै नभोगेका कुरा भोग्नु र चिन्तन गर्न आवश्क छैनन् भन्ने कुरा चिन्तन गर्नु रहेछ । 

अध्यक्ष हुनु भनेको 




१) बैठकको अघिल्लो रात 

भोलि बैठकमा कति जनाको उपश्थिती रहलान ? 

२) कार्यक्रमलाई छुटयाएको बजेट पुग्ला ?

३) सचिवज्यू रिपोर्ट तयार भयो ?

४) कोषाध्यक्ष ज्यू डिउज उठयो ? विज्ञापनको पैसा कति उठन बाँकी छ ?

५) भोलिको कार्यक्रम छ । झमझम पानि परेर कार्यक्रममा कोही आएनन भने चाही के गर्ने होला ?

६)प्रमुख अतिथी आइदिएनन भने के गर्नु होला ? 

७) फलानो व्यक्ति मिटिगमा नआएको ३/ ४ हप्ता भयो , किन नअाउनुभएकाे होला ?

८ क्लबको प्रतिष्ठा र सामाजिक सेवाको भावना उचो बनाइराख्न यो कार्यकालमा के नयाँ गर्न सकिएला ? 

जस्ता अनेकौ प्रश्नको समाधान र उत्तर खोज्नु पनि रहेछ र बर्ष २०१३ १४ मा म अन्य यस्तै यस्तै थुप्रै प्रश्नहरुको उत्तर साथीहरुसंग मिलेर खोज्ने प्रयार गरियो ।


रोटरी बर्ष २०१३ १४ मा केही पुराना कुरालाई निरन्तरता दिँदै केही कामहरु अझ रचनात्मक तबरले गर्ने प्रयास गरियो । यस बर्र्ष पर्वतको माझफाँट गा.वि.स.का १५० जना दलित विद्यार्थीहरुमाझ मुख स्वास्थ्यको सचेतना गराउदै निशुल्क टुथपेष्ट व्रस वितरण र दाँत माझने प्रतियोगिता एवं दाँत शिविर होस वा अन्तराष्टिय आप्रवासीहरुको हक हितको सवालमा यूवा दिवसको कार्यक्रम होस, वृदाश्रममा सोलार कुकर वितरण होस वा अनुसन्धानमा संलग्न विद्यार्थीहरुलाई गुगल स्कलर तालिम होस, गाउँफर्क प्रावि.मा विद्यार्थीहरुलाई स्टेसनरी वितरण होस उपलब्ध श्रोत र साधनको अधिकतम उपयोग गर्दै हामीले सामाजिक सेवा तथा सदस्यहरुको वृत्ति विकासका लागि सक्दो जुटिरहयौं । समुदाय र आफैमा मात्रै होइन हामी यो बर्ष आफनै परिवारमा पनि रोट¥याक्ट गतिविधि लिएर प्रवेश गरयोैं । सधै मनाउँदै आएको तिज हामीले यस बर्ष श्रीमान गुमाएका एकल महिला दिदीबहिनीहरुको माइति बनेर तिजमा दर खुवाउने कार्यक्रम गरयौ अनि त्यसै गरी माता तिर्थ औंसीको दिनमा क्लबका सम्पूर्ण सदस्यका आमाहरुलाई एकैठाउँमा भेला गरेर आमा औसीं भनेको एक प्याकेट मिठाई, एक किलो फलफूल र केही रुपैया मात्रै होइन, भावना र संवेदनाको असिम अनुकम्पा पनि हो भन्ने सन्देश बाँडिरहयौं । 

आर.आइ ३२९२ कै इतिहासमा पहिलोपटक रोट¥याक्ट क्लबहरु समेत आयोजक रहि जोन फोर का सबै रोट¥याक्ट क्लब हरु र रोटरी क्लब अफ पोखरा न्यूरोड मिलि हामीले ५ दिने रोटरी यूथ लिडरसिप अर्वाड (राइला) आयोजना गर्न सक्यौ यसै बर्ष । पोलियो शुन्य अवस्थामा नेपाल प्रवेश गरेको छ । हामी सबैलाई बधाई । हाम्रो संयुक्त प्रयासले संभव भएको पोलियो शुन्य अवस्थाको शुखद घडिमा आफनो कार्यकालमा योगदान दिन पाउँदा गौरवान्वित महशुस भैरहेछ । आर.आइं प्रेसिडेन्ट रोन डि बर्टन को थिम Engage Community Chage Lives  सफलिभूत पार्न योगदान दिएको भन्दै यसै बष आर.आइं प्रेसिडेन्ट रोन डि बर्टन र डिष्टिक्ट गर्भनर दिलेन्द्र राज श्रेष्ठको हस्ताक्षर अंकित प्रेसिडेन्सीय साइटेसन अवार्ड क्लबले प्राप्त गरेकाले पनि मानविय सेवामा अझ समर्पित भएर लाग्न प्रेरणा मिलेको अनुभुति भएको छ ।


यि सबै कार्य एक्लैले पक्कै सम्भव थिएन । क्लबका हरेक सदस्यहरुको सहयोग साथ र सदभावले मात्रै यि सबै कामहरु संभव भएका थिए । त्यसैले सम्पूर्ण सदस्य साथीहरुलाई म हृदयदेखी आभार प्रकट गर्न चाहान्छु । क्लबका पूराना सदस्य साथीहरुको योगदान त छदै छ केही नयाँ सदस्यहरुले पनि यस बर्ष धेरैनै सहयोग गर्नुभयो । मैले यसो भनिरहँदा यहाँहरुमध्ये जसलाई यो सम्बोधन भित्र म पनि पर्छु भन्ने लागिरहेको छ वहाँहरु सबैलाई पनि फेरी एकचोटी धन्यवाद

जोन फोरका सबै रोट¥याक्ट क्लबका अध्यक्ष साथीहरुले पनि कार्यकाल सफल बनाउन उत्तिकै सहयोग र सदभाव व्यक्त गर्नुभएको छ । मुरी मुरी धन्यवाद वहाँहरुलाई पनि

जेड आर आर सृजना भुर्तेल र जेड एस. विनोद आचार्य, तपाईहरुको सहयोग सदा याद रहिरहनेछ । 

आफनै होम क्लब रोटरी क्लबका सम्पूर्ण सदस्यहरु एवं भर्खर निर्वतमान हुनुभएका माइकल सर । हाम्रो होस्टे मा यहाँहरुले हैसे नभनिदिनुभएको भए यो संभव थिएन । रोटरी रोट¥याक्ट को पार्टनर इन सर्भिस को भावनालाई सहि अर्थमा यस बर्ष हामीले हाम्रो प्यारेन्ट क्लबसंग उपभोग गरयौं । 

यसैगरी धन्यवादको पात्र हुनुहुन्छ पोखरा स्थित सम्पूण रोटरी क्लबका अध्यक्षहरु । राइला सहआयोजनाका अवसरका लागि रोटरी क्लब अफ पोखरा न्यूरोड एवं शुवास सिग्देल दाईलाई धन्यवाद

एम. ए. वि. एड. एल.एल. वि सम्मको अध्ययनका क्रममा पाठयपुस्तक तथा विविध गरी लगभग १५० केजी किताबको अध्ययन गरियो होला । जिवनका चौविस बसन्त लगाएर त्यती धेरै मोटा र गहुँगा पुस्तकले मलाई जे सिकायो जति ज्ञान दियो लगभग २५० ग्रामको यो अध्यक्षको कोलार ले एक बर्षमा लगभग त्यतीनै ज्ञान र अनुभव दिएको छ मलाई । 

अब केही मिनेटमै म अध्यक्ष बाट निवर्तमान अध्यक्ष हुनेछु आज अर्का एउटा कुरा पनि अनुभव हुँदैछ । सधै कुर्चि छोडन नचाहेकोमा हामी नेताहरुलाई गालि गथ्यौं तर कर्चि र पद छोडन गार्है हुँदो रहेछ ।। एक मन त लागिरहेछ केटाकेटीमा जब केही कुरा दिन मन हुन्न अनि अञ दिन्न भनेर जिदी गरेझै यो कोलार र अध्यक्षको जिम्मेवारी सुवासजी लाई नदिउ । कुदौं बाहिर बाहिर । तर सुवासजि जस्तो योग्य र जिम्मेवार साथीलाई अध्यक्षीय जिम्मेवारी सुम्पन पाउँदा ढुक्क लागिरहेछ । शुभकामना सुवासजि र यहाँको टिमलाई । 

धन्यवाद दिन धेरै बाकि हुनुहुन्छ । 

अध्यक्ष हुनु भनेको कहिलेकाही अलि फरक निर्णय लिनु पनि रहेछ । कहिलेकाही फरक निर्णय लिन क्रममा कसैलाई नराम्रो लागेको भए बुझिदिनुहोला त्यो व्यक्तिगत नभएर संस्थागत हितका लागि लिइएको निर्णय थियो । It was nothing personal but totally professional. 

यतिबेला म स्मरण गर्न चाहान्छु मेरो आमा सरस्वती पौडेल र बुबा स्व. चिरञ्जीवी प्रसाद उपाध्याय लाई । उहाँहरुको सदमार्गप्रतिको प्रेरणा दिर्घजीवि रहयो । त्यसैगरी धन्यवाद मेरो अर्धागीनी पदमा र छोरी आभा प्रति जसको जिवनको कयौ अमुल्य घण्टाहरु रोटरयाक्टका लागि मैले कहिले मागेर कहिले विना सुचना लिएको छु र बदलमा उल्टो भरोसालाग्दो काँध र निश्चल हाँसो पाएको छु । 


सन्त कविर भन्छन

बुरा जो देखने चला मे बुरा ना मिला कोही

अपने अन्दर झाँकके देखा तो मुझसे बुरा ना कोही


बर्ष २०१३/१४ मा जे जती राम्रा कामहरु सम्पन्न गर्न सकियो ति सबैका लागि क्लबका सम्पूर्ण सदस्य र सम्बिन्धत सबैमा म त्यो श्रेय बाडन चाहान्छु र यदि केही गल्ती कमि कमजोरी भएको भए अध्यक्ष हुनुको नाताले त्यसको सम्पूर्ण जिम्मेवारी म एक्लैले बहन गर्न चाहान्छु । 

धन्यवाद सबैमा यतिबेलासम्म मलाई सुनिदिनुभएकोमा

कवि रोबर्ट फ्रस्ट भन्छन

The woods are lovely dark and deep
But I have promises to keep
and miles to go before I sleep
and miles to go before I Sleep.

Thank You Everyone 

१२ जुलाई २०१४
हाेटल फुलवारी रिसाेट, पाेखरा