भ्यालेन्टाइन डे नं १
हैन बैश पो चढेछ गाँठे । उसले सोच्यो । अघिल्लो वर्षसम्म उसलाई बाल दिवस, शहिद दिवस, प्रजातन्त्र दिवस आदिका बारेमा मात्रै थाहा थियो । पढाउन पनि त यहि मात्रै पढाएका थिए नि माष्टरहरूले कक्षामा । बुढाहरूले भन्दा पनि भनेनन् यस्तो दिवस नि हुँदो रहेछ । हुनत ती बूढाहरूलाई थाहा नि हुन परो नि । फेरी नेपाली गतेमा होइन फेवु्रवरी १४ मा रे । सुन्दै कस्तो रमाइलो, काउकुती लगाउँदो । खै मन परेकालाई प्रस्ताव पनि राख्छन रे अनि नाई भन्न नि पाइन्न रे । ए गाँठे कस्तो छाडा दिन रहेछ ? त्यो बर्षे पहिलोपल्ट भ्यालेन्टाइन डे का बारमा सुनेको थियो उसले ।
भ्यालेन्टाइन डे नं २
कम्ता पूर्व तयारी थिएन उसको यो साल । पत्याउनुभएन ? अघिल्ला बर्षको पुराना कापी किताब मधिशे भैयालाई बेचेर ४५ रुपैयाँ जम्मा पारेको थियो उसले । अनि अघिल्लो दिन बेलुका मात्रै बजार झरेर एउटा ग्रिटीङ्ग कार्ड र अत्तर छर्केको गुलाफको फूल किनेको थियो । आजसम्मकै सबैभन्दा राम्रो मेहेनत गरेर उसले कार्डको वीचमा एउटा पानको पातलाई तिरले छेडेको चित्र बनाएर दुबैतिर नाम लेख्ने ठाँउ खाली छोडयो । कारण उम्मेदवार मध्येका कुनचाहीलाई छनौट गर्ने भन्ने अलमलमा थियो ऊ । आफूसँगै ९ कक्षामा पढने घरछेउकी बिमला, हेडसरकी छोरी सुष्मा, रमेशकी बहिनी कला वा पल्लो गाउँबाट पढन आउने लप्टन बा की छोरी राधा । राम्री त हेडसरकी छोरी सुष्मा पो हो त । तर बूढाले थाहापाए वित्याँस पर्छ । पढन पनि त परो नि । बा ले मार्दैनन स्कूलबाट निकाले । होस राधालाई दिन्छु । राम्री पनि छ अनि लप्टन बा घरमा पनि छैनन् । सुरक्षित गन्तब्य लाग्यो उसलाई । उसमाथि लप्टनको ज्वाइ । उस्तै परे भोलिपर्सि बुढाले सलुट पो हान्न बेर मान्दैनन् । मनमनै निकै पुलकित भयो ऊ । बडो जतनसाथ मायाको सामाग्री झोलामा बोकेर सधैभन्दा अलि छिटो स्कूल हिँडयो । बाटोमा विष्णे भेट्टियो । गफै गफमा झोलामा धाप मार्ला र फूल कुच्चेला भन्ने कत्रो पिर । साँच्चै राधा कम्ती राम्री लागेन उसलाई त्यो दिन झन् । मनमनै दंग परयो । खाजा घण्टीमा राधा नजिक पुगेर दिउँ भनी नजिक पुगेको मात्रै थियो एकहुल केटाकेटी कक्षामा छिरे । आहो कस्तो ढिला भयो । त्यो दिन भर उसले सहि मौका खोजी रहयो तर राधालाई एक्लै भेटदै भेटेन् । आफैले एकान्तमा बोलाउन त आँट नि हुन परयो नि । छुट्टीको घण्टी लाग्यो । अहँ तर मौकै मिलेन । राधा साथीहरू संग विस्तारै घरतिर लागी । ऊ दोबाटो नछुटुन्जेल पछि पछि । घर पुगेर विस्तारै उस्ले त्यो कार्ड र गुलाफ खाटको पत्रामा घुसायो । अहिले सोच्छ । नदिएको ठिकै भएछ । मोरीको त्यही विष्णेसँग लभ रैछ ।
भ्यालेन्टाइन डे नं ३
स्कूलको अन्तिम बर्ष कक्षा १० । यो साल पनि भ्यालेन्टाइन डे मा प्रस्ताब नराखे उसले पूरा स्कूले जीवन खाली विताएको याद सधैभरी बोक्नुपर्ने थियो । यो पाला उसले प्रेमपत्र कोर्ने विचार गरयो । उम्मेदवार थिई रञ्जीता । हाँस्दा गालामा खाल्टा बस्ने, लजाएर भुतुक्कै पार्थी मोरीले । ‘प्यारी ंरञ्जीता, हिमाल भन्दा अग्लो र सागर भन्दा गहिरो माया तिमीलाई’ प्रेमपत्र लेख्न सिकाउने किताबबाट पहिलो हरफको नाम बाहेक अरु जस्ताको तस्तै सारयो उसले । अनि विचमा के के लेख्यो कुन्नी तर ‘उही तिम्रो जनमभर माया गर्ने विरु’ ले चिठीको अन्त्य गरयो । ऐया ! ! ! ! च्वास्स सियोले चौर औला घोचेर B+R पनि लेख्न भ्यायो आफनै रगतले । लौ तयार भयो प्रेमपत्र । आँटी छोरालाई बाघले पनि खाँदैन । खाजा छुट्टीमा स्कूल पछाडीको समिको बोटमुनी बोलाएर थमायो उसको मुटु रञ्जीताको हातमा । ऐया ! ! ! ! ! ! ! विहान सियोले घोचेभन्दा धेरै दुख्यो । ‘मुर्दार’ भन्दै धुजा धुजा पारिदीई उसको मुटु उसकै अगाडि रञ्जीताले । पख ! हेडसरलाई नभने । लौ मारी मोरीले । बेलुका घर जाने बेला हेडसरले अफिसमा बोलाए । भारी मन लिएर अफिस छिरे । एक्लै रचन हेडसर । ठिकै भो गाली गरेको अरुले सुन्ने भएन । सुन ! हेडसरले सधैझै कडा स्वरमा भने बालाई भन्दिनु । हाम्रा घरतलका रामदत्तेले भैसी बेच्न खोज्दैछन् । तेरा बाले भैसी किन्न खोज्दैथे । कम्ता सास पलायो मलाई ? कमसेकम चिठी च्यातेपनि हेडसरलाई त भनेकी रैनछ रञ्जीताले । माया त गर्छे के ।
भ्यालेन्टाइन डे नं ४
कलेज पढन शहर झरेको बर्ष थ्यो त्यो । कलेजका साथीभाई जम्मा भएर शान्ति स्तुपा घुम्न जाने सल्लाह थियो उनिहरूको । उसहित ४ जना केटा र पाँच जना केटी समुह निक्लेको थियो स्तुपाको लागि । उक्लदै जाँदा कहिले अघि त कहिले पछि । भिडमै पनि कस्तो आँखा जुध्न सकेको ? यो पो हो त मन संग मनको नाता । के के का मात्रै कुरा गरेनन उनीहरूले । पढाई, करियर, भविष्य ओहो । लाग्यो शान्ति स्तुप कहिल्यै नआइपुगोस । माथि पुगेपछि तल पोखरा हेरे । उसले उनको आँखाबाट र उनले उसको आँखाबाट । कसम यसअघि उनीहरूलाई पोखरा त्यती राम्रो कहिल्यै लागेन । रानीबनको बाटो फर्केदै गर्दा हात समाएर उसले भन्यो आइ लब यु । लजाउँदै उनी हासिन् । यति सुन्दर मुस्कान थियो कि ऊ बताउनै सक्दैन । अब पो रेल लिगमा आइपुग्यो उसले सोच्यो । अनुभवको कमिले होला, पहिलो मायाँ धेरै महिना टिकेन् । न कुनै विशेष भावनाले पलाएको माया थियो त्यो र न छुटिनलाई कुनै विशेष कारण नै चाहियो ।
भ्यालेन्टाइन डे नं ५
अर्को भ्यालेन्टाइन् डे सम्झन्छ ऊ । कम स्याँ स्याँ सास बढेको थियो उनीहरूको त्यो साल । रुपा सँग अफेयर थियो उसको त्यो साल । कम थाकेका थिए दुबै भ्यालेन्टाइन डे का दिनमा ? गलत नसोच्नुहोस् । पार्कमा एक अर्काको टाउकोमा टाउको अड्याएर गफ गरिरहेका बेला धेरैजसो प्रेम दिवसको वरीपरी सुरु हुने प्रहरीको ‘अपरेसन मायापिरती’ मा परेका थिए उनिहरू । भ्यालेन्टाइन डे ले साँस्कृतिक विचलन र विकृती ल्याएको भन्दै पार्क तथा रेष्टुरामा आपत्तिजनक क्रियाकलापमा संलग्न जोडिलाई पक्राउ गर्ने आदेश थियो माथिको । सायद प्रहरीको त्यस दिनको कोटा पुगेको रैनछ् । पार्कमा गफ गरिरहेका उनीहरू पनि परे निशानामा । अहो कति भागे त्यो दिन उनीहरू । धन्दै समातेको पुलिसले । ‘असत्तीहरू । मायाप्रेमका दुश्मनहरू । के गरेका थियौै र हामीले ? पार्कमा बसेर गफ गर्न नि नपाउनु? आफ्नी छोरी पोइला गई होला अनि अरु माया गर्ने जोडीलाई रिस पोख्छन डण्ठेहरू’ । साँझ महेन्द्रपुल हुलाकपछाडीको ठेलामा पानीपुरी खाँदै उनीहरूले खुब गाली गरेका थिए प्रहरीलाई ।
भ्यालेन्टाइन डे नं ६
सायद वारेन्टी विना नै आउने भएर होला अक्सर एक बर्ष भन्दा धेरै टिकेन उसको माया पिरती रुपासँग । तर यो बर्षको भ्यालेन्टाइन डे अझ खास थियो उस्का लागि । ४ महिना भयो उसको रिनासंग लभ परेको । अझ भर्खरै नयाँ जागीर शुरु गरेकाले सानोतिनो उपहार किनिदिन पनि समस्या थिएन् । भ्यालेन्टाइन डे का दिन उस्ले विहानै रिनालाई चोकको क्याफेमा बोलाएको थियो । किशोर कुमारको लभ सङ्स को सिडी र क्यासीयोको हाते घडीको बक्सा हातमा थमाउदै पुरै भावना ओठमा उतारीदिएको थियो उस्ले । कम भावुक भएकी थिइ रिना ? दिउसो घुम्न जाने र बेलुका सँगै डिनरको प्रस्ताव पनि थियो । भ्यालेन्टाइन डे कै दिन छुट्टीलिँदा अलि अफ्ठयारो हुने भएकाले अघिल्लो दिनको लञ्च आवर देखीनै उ विदामा थियो । दिउसो डेभिज फल परिसरमा प्रेमलिन हुँदै बेलुका नटि नट्समा डिनर । साँच्चै कम रमाइलो थियो त्यो क्षण । आफनो कमाई हुँदाको आनन्द पनि त थियो नि त्यो । बेलुका रिनालाई छोडन जाँदा रिनाको कोठाबाहिर पुगेर सोध्यो कफि खुवाउँदिनौ ? ऊ अझै सम्झन्छ, कफि खान रिनाको कोठामा छिरेको ऊ रिनाको अस्पष्ट ‘नाईँ नार्इँ’ र उसको ‘केहै हुँदैन के’ मा उसको ‘केही हुँदैन’ले जितेको थियो मध्यरात र त्यसपछि विहान सम्म ।
भ्यालेन्टाइन डे नं ७
यो प्रेम पनि कस्तो । कस्तो मादकता, कस्तो खुसी अनि सँंगसँंगै कस्तो मिठो पिडा , यो सालको भ्यालेन्टाइन डे को वरिपरी कति तनाव थियो । माया त यथावत नै थियो तर तनाब पनि उत्तिकै । विच विचमा रिनाको नाई नाई लाई उसको केही हुँदैन ले पटक पटक र कयौं पटक जितेको एक बर्ष भएको थियो तर सँगसँगै अर्का दुई महिना भएको थियो रिनाको महिनावारी नभएको । प्रत्येक भेटमा रिना निन्याउरो अनुहार लागउथी अनि ऊ सम्झाउथ्यो । Don’t worry. Everything will be okay तर रिना के महशुस गर्थी त्यो त ऊ कसरी बुझन सक्थ्यो र ? अव त अति भयो । भ्यालेन्टाइन डे का दिनभन्दा अघिल्लो दिन डाक्टर देखाउन गए उनीहरू । क्लिीनिक वालाले नाम सोध्यो । फर्जि नाम र ठेगाना बताएर डाक्टर देखाउने चाँजोपाँजो मिल्यो । तपाईको समस्याः महिनावारी भएन । तपाईहरूको सम्वन्ध ः साथी साथी । बस डाक्टरलाई बुझन काफी थियो । यूरिन टेष्टका लागि स्याम्पल लिएर भोलि रिपोर्ट लिन बोलायो डाक्टरले । रात झिमिक्कै नगरी कट्यो । भोलिपल्ट ल्याबवालाले रिपोर्ट लिएर डाक्टरलाई देखाउन भन्यो । पढेको अंग्रेजी काम लाग्यो । रिपोर्टमा ‘नेगेटिभ’ लेखेको पढन खासै गाह्रो भएन । लामो सास लिए दुबैले त्यतीबेला जब डाक्टरले युरिन इन्फेक्सनले यस्तो भएको र आत्तिनु नर्पेन भन्दै केही औषधी थमायो । रामोराम डेमोक्लेसको तरवार हट्यो ।
भ्यालेन्टाइन डे नं ८
ओ दाई एक क्वाटर खुकुरी रम । भ्यालेन्टाइन डे नं ८ मा उसले बोलेको पहिलो बाक्य थियो यो । साला संसार धोकेबाज छ । उसले सोच्यो । कम्ता माया गर्थे उसलाई । **** खुब माया गर्छु भन्थी मलाई तर एक चोटी हुन्न भन्न नि सकिन । कस्ती खत्तम रैछ हे । ३ महिना अघि अमेरीकाको डि.भी. परेको केटासंग परिवारको करले विवाह गरेकी उसकी पूर्व प्रेमीका रिनालाई मनमनै गालि गर्दै थियो ऊ । विदेश जान पाएपछि खुरुक्कै हुन्छ भनिछ । सब नाटक रैछ् । सब देखावटी रैछ् । प्रत्येक घुटकीसँगै उसले खुब गाली गरेको थियो रिनालाई । यो पैसाले स्याण्डल किन्देको भए कति खुसी हुन्थी ? फेरी स्याण्डल फेरी फरी लगाउने सोख पनि त थियो त्यसको रक्सीको पैसा तिर्दै गर्दा उसले सोच्यो । त्यस दिन उसले खुब पियो अनि साँझपख ड्याम साइडको पार्कमा बसेर रानीबन तिरबाट झरदै गरेका जोडिलाई चर्का चर्का स्वरमा गाली पनि गरेको सुनिन्थ्यो ।
भ्यालेन्टाइन डे नं ९
कतिञ्जेल नसम्हाल्नु आफूलाई ? केही समयपछि करै लाग्यो सम्हाल्न । रिनासंगको विछोडको लगभग ७ महिनापछि उसको जिवनमा नयाँ आयाम बनेर आइन सृष्टि र यसपाला उनको प्रस्ताव स्वीकार गरयो उसले । पुराना स्मृतीहरूलाई उसले सकेसम्म शेयर गरेन सृष्टिसंग । आफनै अनुभव बाट उसले सिकेको थियो मनग्गे पाठ । प्रेम धेरै समयसम्म लम्ब्याउनु ठिक हुँदैन । अनि सृष्टीसंगको छोटो प्रेमलाई बैवाहिक सम्वन्धमा परिणत ग¥यो । विहेपछिको पहिलो भ्यालेन्टाइन डे थियो त्यो । विहानै आखाँ खोल्दा अगाडी टेबलमा ह्याप्पी भ्यालेन्टाइन डे लेखेर राखिएको थियो । अनि संगै एउटा प्याकेट । खोलेर हेरयो । माछाको जोडीले चुम्वन गर्दै गरेको एउटा गज्जबको सजाउने बस्तु थियो अनि त्यसैको तल लेखिएको थियो made for each other like us.। अफिसमा त्यसदिन प्रतिघण्टा एक का दरले आएको मायालु एस.एम.एसले उसलाई अझ तरंगीत गराएको थियो । त्यसरात अंगालोमा बेरिएर सृष्टिकोे प्रश्न थियो ‘एम आई योर फष्ट भ्यालेन्टाइन ? । बडो दार्शनीकझै उत्तर दियो उसले ‘विफोर मिटिङ अ राइट पर्सन यु कम एक्रस मेनी रङ पर्सन एण्ड जष्ट अन्डरस्ट्याण्ड यु आर दयाट राइट पर्सन फर मी’ । बस उत्तर काफि थियो । यो एउटा यस्तो भ्यालेन्टाइन थियो जहाँ उसलाई पहिलोपटक लागेको थियो । अँ बस यो चाही असल हुँदैछ् ।
भ्यालेन्टाइन नं १०
भ्यालेन्टाइन नं ११
भ्यालेन्टाइन नं १२
भ्यालेन्टाइन नं १३
भ्यालेन्टाइन नं १४
भ्यालेन्टाइन नं १५
भ्यालेन्टाइन नं १६
भ्यालेन्टाइन डे नं १७
विहानै छोराकोे रुवाइले ब्युझयो ऊ । घरभरी धुपको बास्ना आइरहेको थियो । रोहणकी आमा भन्दै बोलायो । तर उत्तर आएन अनि बल्ल याद आयो । महिनाभरी श्री स्वस्थानी परमेश्वरीको व्रत वसेकी रोहणकी आमा आज पक्कै पनि निकै व्यस्त छिन् । महिनाभरी नित्य मध्यान्ह कालमा श्री स्वस्थानी परमेश्वरी एवं महादेवको व्रत बसेर आज साङेको दिन थियो । पण्डितजी विहानैबाट मन्त्रको ध्वनी उच्चारण गरी रहेका थिए् । वाहिर निस्क्यो । आफन्तहरू आएका छन् । आज अफिस जाने कुरा पनि भएन । हिजो विदा माग्न विर्सेछ । फोन गरेर विदा माग्यो । दिनभरी पुजा पाठमा व्यस्त रहयो । ८ कुडका सुपारी, ८ रोटी, ८ पान लगाएतका सामाग्री श्रीमतिले ढोगेर दिइन । सौभाग्यवति भएस् भएस उसले आर्शिवाद दियो । दिनभरीको पुजाको रन्कोले साँझमा केही हल्का हुन उ बजार निस्क्यो । एकछिनमा फर्कनु थियो । घरमा भजन चल्नेवाला थियो । बजारतिर यसो टहलिदै गर्दा महेन्द्रपुलतिर पुग्यो उ । अलि चहलपहल थियो बजारमा सधैभन्दा आज । स्वस्थानीको फूल तार्न आएका मानिस होलान उसले सोच्यो । आर्चिज निर आएपछि पो बल्ल घैटामा घाम लाग्यो । ठूलो पानको पात मा ह्याप्पी भ्यालेन्टाइन डे लेखेको रैछ । लौ आज त भ्यालेन्टाइन डे पो रैछ । पुराना भ्यालेन्टाइनका दिनहरू उसको अगाडी सिनेमा झै फन फन घुम्न लाग्यो । लौ भ्यालेन्टाइन डे विर्सेने दिन पनि आएछ भन्दै उ खिस्स हाँस्यो । एक दर्जन चुरा किनेर आज श्रीमतिलाई सरप्राइज दिने सोच बनायो । बेलुका भजन सकिएपछि लखतरान श्रीमती उ संगै सिरकभित्र घुर्सीन् । सरप्राइज दिने बहानाले उसले ह्याप्पी भ्यालेन्टाइन डे भन्दै चुरा निकाल्यो र दियो श्रीमतीलाई । तिमी मलाई पटक्कै माया गर्दिनौ खै वास्तै छैन यत्रो प्रेम दिवसमा पनि । उसले घुर्की लगायो । याद छ नि । मैले नि हजुरलाई प्रेमपत्र तयार गरेकी छु । झन दंग पारिदिइन उसकी श्रीमतीले उसलाई । उठेर दराज खोलीन र थमाइन उसको हातमा एउटा मझौलो आकारको खाम । अनि उसले जो पढयो त्यसपछि उ अवाक भयो । खामभित्र थिए तिन महिनादेखी तिर्न बाँकी घरबेटीको घरभाडाको हिसाब, छोराको स्कूलको तिर्न बाँकी फि, रमेश साहुकहाँको उधारो राशन ल्याएको हिसाव अनि घरमा चाहिएको सामाग्रीको लिष्ट ।
फाल्गुण २, २०७०
14th Feb 2014.
0 comments:
Post a Comment