Sunday, December 23, 2012

सपना दलालहरु


मृगौला, मूर्ति र शरीर बेचिएका खबर
दैनिक अखवारको हेडलाइन बन्ने यो देशमा
कहिल्यै महत्ताको खबर बनेनन्
ती भन्दा कैयन मर्मस्पर्शी अनि भयानक
सपनाहरु बेचिएका खबरले

छरप्रस्ट छरिएका मैला धैला आकृतिहरुलाई
बटुलेर कसैगरी, जोडेर मनको धागोले
हामी उमार्छौं सानो सपनाको बिरुवा
असाध्यै सानो सपना, तर मिठो सपना
अनि आइपुग्छन्,
 कहिले आफन्त बनेर उकेरा लगाउन
कहिले गोडमेल गरिदिन्छन् हितैषी बनेर
समाजसेवी बनेर कहिले मलजल गर्छन्
जब झाँङ्गिन्छ त्यो सानो आँकुरा
ठूलो रुख बनेर
सपनाको रुख, कल्कलाउँदो, लोभलाग्दो
हागाँमा एउटा बनाउँछ
सानो धोविचराले, सपनाकै गुँड
पिङ खेल्छन सन्तती
चचहुई चचहुई,
अर्का हाँगामा उन्मुक्त
देखेर सबथोक दङ्ग हामी
सपनाको बोटमा फूलेका सपनाका फूलहरु
हाम्रा सपनाका फूलहरु

तर
जीवित सपनाको उचाई नाप्नुभन्दा
लमतन्न सपनाका लाशहरुको
लम्बाई नाप्न सजिलो भएरै होला
सय, हजार र लाखका चम्किला आराहरुले
फेदैदेखि, मिलेसम्म जरैदेखि
ग¥ल्याम्म ढालेर हाम्रा सपनाका रुखहरु
पार्छन टुक्रा टुक्रा र फिजाउँछन
बगरेले जसै थुप्राउँछ , निरीह थुप्राहरु

उनीहरु, हो उनीहरु
बुझ्दैछु । हाम्रा सपनाहरु
हाम्रा मात्रै होइन रहेछन्
असलमा ती त हाम्राभन्दा बढी
सम्पत्ति रहेछन उनीहरुका
हाम्रा सपना बेचेर
आफ्ना सपनाको जग हाल्ने
हाम्रा सपनाका रगतले
आफना महलको रंङ्ग भर्ने
उनै सपना दलालहरुका
उनै सपना दलालहरुका


२०६९।०९।०५
नदीपुर, पोखरा


0 comments:

Post a Comment