Tuesday, October 30, 2012

सलाम सुन्दर नारीहरुलाई !

एउटा बालकका लागि सबैभन्दा पहिले नारीको परिचय भनेको आमा हो । उ आमा नामक नारीको कोखबाट यस धर्तिमा पर्दापण गर्दछ र त्यसपछि बिभिन्न चरणमा विभिन्न रुपमा उसको जीवनमा नारी हरुको प्रवेश हुन्छ । ममतामयि तथा वात्सल्यले ओतप्रोत महिलाको रुपमा उसले पाएको नारीको परिचयमा अझ बढि विशेषणहरु थपीन्छ । बढ्दै गर्दा उसको जिवनको परिदृष्यमा दिदी बहिनीको प्रवेश हुन्छ । अनि उसले स्नेह बुझद्छ । संगै खेल्ने साथी संगीको रुपमा नारीको प्रवेश हुँदा उसले सहयोग र सदभाव बुझद्छ । गुरुआमाको रुपमा नारीको प्रवेश हुँदा उसले ज्ञान, विचार र विवेक बुझद्छ । हुर्कदै गर्दा जिवनसंगीनीको रुपमा नारीको प्रवेश हुँदा उसले आड, भरोसा, हेरचाहा, माया र आत्मीयता बुझद्छ अनि छोरीका रुपमा उसको जिवनमा नारीको प्रवेश हुँदा वात्सल्यता र सामिप्यता बुझद्छ । यसरी पुरुष नारीको विभिन्न परिचय बोकेर बाँचिरहेको हुन्छ । हुनत हामीकहाँ नारीको परिचय का रुपमा रुप्।वती, सुन्दर, सहनशील, कोमल, दयावान अझ धेरै विशेषण हरु प्रयोग गर्ने गरिन्छ र ति मध्ये सुन्दरतालाई नारीको प्रमुख गुणका रुपमा लिने गरिन्छ । नारी सुन्दर हुन्छिन र सुन्दरता नारीको प्रमुख सम्पति पनि हो । इतिहास साक्षि छ नारीको रुप र सुन्दरताले विभिन्न समयमा भयंकर  परिवर्तनहरु तथा युद्धहरु अनि छलकपट र बेइमानीहरु जन्माएका छन् । चाहे त्यो हाम्रो पुर्विय सभ्यता होस वा पश्चिमी सभ्यता ।  ग्रिक र ट्रोय विचको भयंकर युद्धका पछाडी एफ्रोडाइट र हेलेन , आफ्नै कुलको विनाश हुने गरी भएको महाभारत युद्धका पछाडि सुन्दर द्रौपती र उनको रुप अनि त्रेतायुगका महापुरुष रामचन्द्र र लंकापति रावण विच भएको युद्धका पछाडि सिता । नारीको तिलस्मी रुपले  जब पुरुषलाई बशिभुत गर्दछ अनि  पुरुष बहादुर भएर विभिन्न साहसिक काम गर्ने गर्दछ भने नीरीह भएर अचेतन मनले भयंकर डरलाग्दा र विनाशकारी काम गर्न पनि पछि पर्दैन् ।
आज २१ शताब्दीमा आइपुग्दा सुन्दरता हेर्ने आँखा र बुझने मन अनुसार फरक पर्छ भन्दै आजको मानिस भौतिक सुन्दरताको पछाडि  दौडिरहेको छ । सुन्दरता भनेको  खाली बाहिरी आडम्बर र चमकधमक भनेर बुझिन थालिएको छ । अनुहार छोपिने गरी बेहीसावसंग दलिएको पाउडर र क्रिम, ओठभरी दलिएको रंगीविरगंी लिपिष्टीक, आखाँ माथि र तल दलिएका विभिन्न सौन्र्दय प्रशाधनका बस्तुहरु, विभिन्न प्रविधि लगाएर तन्काइएको कपाल , अर्धनग्न शरीर र बनावटी खिस्स हाँसो आज सुन्दरताको परिभाषा बनेको छ । सुन्तलाको सार भनेको स्वाद हो । त्यसभित्रको रस हो । सुन्तलाको प्रयोगले मानिसको स्वास्थ्यमा दिने फाइदा हो । सुन्तलाको बोक्रा हेरेर बोक्राको रंग हेरेर सुन्तलाको फाइदा र स्वाद तौलिनु मुर्खता मात्र हो । हामी हिजोआज पहेलो सुन्तला राम्रो । हरियो सुन्तला राम्रो, ठूलो सुन्तला राम्रो , सानो सुन्तला राम्रो भनेर सुन्तलाको आकार प्रकार र रंगमै भुलिरहेका छौ ।  कस्तो विडम्बना आजकल चिसो बुझन, शितलताको महशुस गर्ने र ताजगीको अनुभव गर्ने कोकाकोला चाहिने भैसकेको छ । चिसो भनेकै कोकाकोला भन्ने संस्कृतिमा हुर्किएको आजको मान्छे ले सुन्दरता भनेकै फेयर एण्ड लभ्ली भनेर बुझदा अचम्म मान्नु पर्दैन । दैलो पिच्छे खुलेका व्युटि पार्लरमा पसेर अनुहारका छाला तन्काउदैमा वा चाउरीपनालाई घटाउन रिंकल फ्रि क्रिम क्रिम दल्दैमा सुन्दर भइदैन । भौतिक सुन्दरता र शारीरिक आर्कषणलाई सुन्दरता भनेर बुझन थालिएको यो परिप्रेक्ष्यमा अब सुन्दरताको परिभाषा परिवर्तित हुनु अत्यन्तै आवश्यक भएको छ । नारी मृग नयनले होइन असल चिन्तनले राम्री हुन्छीन, बान्की परेको शारिरीक बनोटे होइन दृढ अठोटले आर्कषक हुन्छिन , लामो केशले होइन उनका कामले समाजमा दिएको असल सन्देशले उनको सुन्दरतामा सुगन्ध थपेको हुन्छ । सुन्दर मन, मेहनती हातहरु, क्लिष्ट विचार, सकारात्मक सोच र दृढ अठोट भएका नारीहरु को पौरख छरिनुपर्दछ, विचार बाडिनुपर्दछ, सोच प्रशारित गरिर्नुपर्दछ, विचारले विचार जन्माइनुपर्दछ अनि बल्ल सुन्दरताको कसीमा ति नारीहरुको सुन्दरता खरो उर्तने गर्दछ । सुन्दर नारीको खोजीमा ऐश्वर्या राय, एन्जिलना जोली र व्रिटनी स्पेयर्सको नाम जप्ने गरेको धेरै भयो अब त हामैै टोल छिमेकमा र समुदायमा विशिष्ट योगदान दिएर सबैको प्रेरणाका श्रोत बनेका नारीको सुन्दरताको प्रशंसा गरिनुपर्दछ । एच.आई.भि , एड्स अनि मृत्यु भन्ने समाजमा ब्याप्त धारणालाई एच.आई.भि, एड्स र जिवन  भन्ने नयाँ धारमा बगाएर आँकुरा भिलेजमा रहेर जिन्दगी संक्रमितको उद्धारमा लगाउने लक्ष्मी अधिकारी र महिला मञ्चमा रहेर काम गर्ने संक्रमितद्धय क्रमशः  लक्ष्मी अधिकारी र मिनाकुमारी श्रेष्ठको बैचारीक सुन्दरता र सेवाभाव कुनै सुन्दरीभन्दा कम छैन । हरियोखर्क अस्पतालमा रहेर लामो समयसम्म कुष्ठरोगीको सेवा गर्ने यशोदा राजभण्डारी र गरिब तथा विपन्न महिलालाई व्यवसायिक तालिम प्रदान गरेर सबल बनाउने महिला शिप व्यवसायीक तालिम केन्द्रकी  रामकली खड्काको सुन्दरताको तुलनामा अरु कोही रुपवति कहलीएकी सुन्दरी आउन सक्छिन र ? पर्यटन प्रवद्धनको क्षेत्रमा  काम गर्नें लक्की क्षेत्री वा बर्षौ देखी रातो रंग सङ्ग सम्बन्ध छाडेका एकल महिलाको रातो रंगसंग सम्बन्ध गास्न पहल गर्ने प्रमिला तझ्या, नारी सेवा केन्द्र मार्फत नारीको बृहत्तर हितका लागी काम गर्ने उषा बरुवाल वा खेलमार्फत राष्ट्रको गौरव र कृति बढाउन सफल मञ्जु गुरुङ्ग, साहित्यसेवामा अग्रसर सरस्वती श्रेष्ठ ‘प्रतिक्षा’ वा  पत्रकारीता मार्फत समाजमा सचेतना र सु–सन्देश फैलाउन क्रियाशिल दुर्गा भण्डारी अनि रिता गुरुङ्ग यि सबैको मानसिक सुन्दरता, नारीजाती र सम्पूर्ण समाज अनि राष्ट्रसेवाको दृढ अठोटले उनीहरुलाई विश्वका कुनै सुन्दरीभन्दा कम बनाएको छैन ।  समाज रुपान्तरणका लागि असल सन्देश फैलाउने हाम्रै टोल छिमेकमा लुकेर रहेका समाज र राष्ट्रको सर्वपरिहितमा खटेर लागीरहने यि तथा यस्तै अन्य सुन्दर नारी आकृतिहरुलाई बाहीर ल्याएर उनीहरुको क्षमताको कदर गरिनुपर्दछ । संसारलाई देखाइनुपर्दछ कि बास्तवमै सुन्दरताको सहि अर्थ यो हो । अनि उहाँहरुको योगदान र सेवाभावले क्षणिक भौतिक सुन्दरतालाई महान ठानेर सांसारिक दौडमा दौडिरहेको आजको युगको मानिसमाझ चेतना फैलियोस । १०० अन्तराष्ट्रिय नारी दिवसको शुभकामना । अनि सलाम यी तथा यस्तै बिचार, कर्म र सेवाका धनि सम्पूर्ण सुन्दरीहरुलाई । सुन्दर नारीहरुलाई ।

0 comments:

Post a Comment