Tuesday, October 30, 2012

अन्तरमनको यात्रा, जगदीशज्यू र म


आत्मीय जगदीश घिमिरेज्यू
प्रेम,
 सम्बोधन गर्नका लागि माथिका शब्दहरूनै पाएँ र यसैको प्रयोग गरे । उमेरले तपाँइभन्दा ४० बर्ष कान्छो भएकाले सम्बोधनको शब्द अरुनै केही हुनुपर्ने हो । दाजु भनौ भने यो उमेरको ठूलो फडकोले मलाई अलि असजिलो तुल्यायो । बुबा भनौ जस्तो लाग्यो तर यही वैशाखमा पिताजीको देहान्त भएको पीडाले निसासीयको म, माइलोमा धारण गरेर ओछयानको मुनि राखेको टेलिभिजन जस्तै हातैले छुँला जस्तो मृत्युको तस्बीर देखेको मानिसलाई फेरी त्यही शब्दले सम्बोधन गर्न र पुर्नजागरण गरेको थोरै समयमा फेरी गुमाउने शक्ति नभएकाले त्यो शब्द पनि सूचीबाट हटाउन पुगेँ । हजुरबुबा भनेर सम्बोधन गर्ने पनि सोच बनाएको हुूँ तर पुस्तकको अन्त्यमा छापिएको तस्वीर र त्यसैको साहाराले मेरो मानसपटलमा मैले बनाएको मानचित्रमा जगदीश घिमिरेको त्यो रुप पनि त्यती उमेर पाकेको आकृति नरहेकाले त्यो शब्दलाई पनि मेरो कलमले नकार्याे । अंकल भनेर सम्बोधन गर्नका लागि तपाइकै शब्द र वर्णनले फिरङ्गीको बोली बोल्न पनि दिएन ।
जुन हावा थियो मित्र पोल्दा जंगल अग्निको
त्यै गर्छ दीपको नाश, निर्धाको मित्र हुन्छ को ?
(पन्चतन्त्र ः अनुवाद लेखनाथ पौडयाल, अन्तरमनको यात्रा –१९३)
न जंगल पोल्ने तपाईको रोब हुँदा म तपाँइको जीवनमा हावा हुन सकेको थिएँ वा भएँ र न तपार्इँ दीप हुँदा नाश गर्ने प्रयास मात्र पनि गर्न सक्छु । मित्र हुनलाई उमेर, लिङ्ग र स्तरले फरक पार्देैन भनेर जति कुरा गरेपनि म भित्रको म ले तपाईलाई मित्र भनेर सम्बोधन गर्न अधिकार र अनुमती दुवै दिएन ।
 आत्मीय शब्दमा पनि आपत्ति जनाउने ठाउँ छ । डेढ दुई सय पान्नाको आत्मालाप पढेर र तस्वीर हेरेर पनि कहीँ आत्मीय लेख्न पाइन्छ भनेर कसैले मलाई प्रश्न ग¥यो भने मसँग त्यस मानिससँग मुठभेड गर्नका लागि कुनै तर्क छैन् । तर्क पेश गर्नका लागि न म उसको अगाडि प्रस्तुत हुन नै चाहन्छु  तर मेरो हृदयले र आत्मालापका प्रत्येक पानाहरूले यी शब्दहरूनै मेरा लागि सृजित गरिदिए र म त्यही शब्दरुपी भेट लिएर पत्र लेख्न बसेँ । रह्रयो  बाँकी शब्द ‘प्रेम’ । तपाईले त पढन छोडिदिनुभएछ तर म अझै पनि बखत जुर्दा र पुगेसम्म ओशो रजनीश का बाणीहरू सुन्छु र अनुभव गर्ने प्रयाश गर्छु । भर्खरै कुखुरे बैशको संघारमा हिंडिरहेको म र यस उमेरमा हुने प्रेम शब्दको परिभाषा र बुझाईको वीचमा मैले रजनीशको प्रेम शब्दको बुझाइको अनुभव वर्णन तथा ’पारिजातको फूल’ पुस्तकको भूमिकामा शंकर लामिछाने को पारिजातप्रतिको प्रेम उजागरका शब्दले कही कतै तंरगीत गराईदिएको छ ।
 पारिजातलाई म प्रेम गर्छु । कसो कसो एउटी वहिनी भन्दा बढी नै शायद प्रेमिका जति नै , जो सँग आत्मीय संसर्ग होओस, जो सँग यौनको सम्बन्ध तुच्छकर वा हेयकर लागोस र यदि यौनलाई नअँगालेर यदि प्रेमको (चरमसीमा) को कल्पना सम्भव छ भने मैले उसलाई गरेको प्रेमको परिभाषा त्यही मात्र हुनसक्छ । मासिन लागेको आफ्नो species को अन्तिम कडीप्रति अघिल्लो कडीको प्रेम हो यो । त्यो सँग यति आफन्ती सम्वन्ध छ कि न त प्रजनन नै सम्भव छ न त पर्याप्ती नै
(शिरिषको फूल को भूमीकाबाट शंकर लामिछाने)
त्यसैले त्यही अन्तिम कडीप्रतिको प्रेम जस्तै अन्तिम शब्द प्रेम नै मैले लेखे । मन नपरेको भए मसँग तपाईका लागि बाँकी शब्दको अभाव रहेकाले क्षमा चाहान्छु ।
 यो पत्र लेख्न बस्दा मेरा मनमा दुईवटा कुरा खेलिरहेका छन् । जगदीश घिमिरे, ठूलो लेखक, साहित्यकार, त्यति ठूलो स्तर लिएर बाँचिरहेको मान्छे, आर्थिक रुपले सम्पन्न, स्वर्ग रुपी घर (पुस्तकमा बर्णन गरेअनुसार) मायालु सन्तती, अन्तराष्ट्रिय पुरस्कार विजेता, उमेरको लगभग क्रान्तिकारी छापामार, प्रतिष्ठित संस्थानहरूमा जागिरे, ज्ञानी त्यसमाथि माइलोमाको आत्मालापले पछिल्लो समयमा कमाएको ख्याती, आदि सबैकुरा बोकेर बसेको मानिसले म जस्तो पेशाले माष्टर त्यो पनि बोर्डिङ्गको , सधँै खोक्रा आर्दश घोकाएर केटाकेटीलाई पट्यारलाग्दो गराइरहने, गृहकार्य दिएर मानसिक तनाब बढाइदिने, सुगा रटाई गराएर केटाकेटीले राम्रो अंक ल्याउदा मख्ख पर्ने र आफ्नो मातृभाषा बोल्दा अंग्रेजी बोल्न बाध्य तुल्याउन लठ्ठीले सुइँक्याउने मानिसको चिठी के खाँचाले पढ्लान ? चिठी लेखेर पठाउदा खोल्दै नखोली फ्याक्ने पो हुन की वा इ–मेल नै गरौ भने पनि जङ्क मेल सम्झेर डिलिट पो गरीदिनेहुन कि भन्ने लागिरहेको छ तर पनि तपाईले भनेजस्तै मनको वह सबैलाई कह भनेझै पढेपनि नपढेपनि पठाउन पाउनु त मेरो अधिकार हो भन्ने लागेकाले शक्ति संचय गरेर लेख्दैछु । र दोश्रो प्रश्न म के लेखिरहेछु भन्ने लागीरहेछ । म पत्र लेख्दैछु त्यस्तो व्यक्तिलाई जसको शब्दबुनाईमा एउटा यर्थाथता छ । शब्दलाई जीबन्त तुल्याईदिने जादु छ अनि जसलाई हेर्नुपर्दा मैले मेरो शिरको टोपी च्याप्प समात्नुृपर्छ । त्यही व्यक्तिको बारेमा र उसका भावनालाई तराजुमा राखेर मुल्याङ्कन गर्ने सोच मात्रै पनि म गर्न सक्दिन त्यसैले समिक्षा भन्ने शब्द उच्चारण पनि गर्नु छैन मलाई । शुद्ध पत्र लेखेको हुँ भन्ने सोचाइलाइ माथ ख्वाइदिन्छ मैले पत्र सुरुवात गरेका वाक्यहरूले । आराम छु आरामको कामना गर्दछु भनेर पत्रको सुरुवात गर्ने बानँी परेको म यही शब्दबाट पत्रको सुरुवात गर्दा कतै खिसी गरेको पो भनिठान्ने हुन कि भन्ने डरले पनि पत्र लेखेझै लागेको छैन । त्यसैले के लेख्दैछु भन्ने ज्ञान नहुँदा नहुँदै पनि मरो कलम चलिरहेको छ र यसको गतिलाई देख्दा लागीरहेछ कतै कही केही कुराले यसलाई उर्जा निश्चयनै दिएको छ । हुनसक्छ त्यो उर्जा अन्तरमनको यात्रा हो ।
 तपाईले भनेझँै आत्मलापको प्रत्येक पान्नाहरू फर्काउँदै अगाडि बढदै जाँदा उनान्सय डिग्री को तापक्रम त मेरो मनभित्र रहेकै हो तर रेलको इन्जिन चलाउन र चमत्कारी काम गर्ने बाफ निकाल्न जुन अन्तिम एक डिग्रीको आवश्यकता रहन्छ त्यो अन्तिम एक डिग्री पाउनका लागि मैले अन्तिम पातो सम्म नियालें । सायद सय डिग्री पुगेछ क्यारे । मरुभूमिका अण्डीको बोट पनि विशाल बृक्ष हुन्छ भनेझै मेरो जर्जर मरुभूमिरुपी मनमा यो सानो पत्रको अण्डी भए पनि अंकुशायो । अनि लाग्यो अझ कति यर्थाथवादी बन्न सक्छन यी जगदीश घिमिरे ।
 ‘पुसी क्याट पुसी क्याट ह्वेर ह्याभ यु विन ? आई ह्याभ विन टु लण्डन टु लुक एट अ क्वीन पुसी क्याट पुसी क्याट ह्वाट डीड यु डु दियर  ? आई फ्राइटेन्ड द लिटिल माउस अन्डर द चियर’ भन्ने बालगीतमा बिरालाले लण्डनमा पुगेर कुर्सीमुनीको मुसो देख्छ भनेझँै तपाइको विशाल अन्तरमनको यात्राको दरबारमा पनि मैले मुसो मात्रै देखेको हुनसक्छु । तपाईको सामाजिक सेवा र तासेसको वर्णनमा कताकता घमण्डको गन्ध भेटेझँै लाग्छ त कताकता एउटा देशभक्त नागरिकको छवि पनि पाउँछु । शायद आफ्नो अन्त्य नजिक छ भन्ने ज्ञान नभैदिएको भए जगदीश घिमिरे यो पुस्तक लेख्न र यत्तिकै मार्मिक वर्णन गर्ने समर्थ हुन्थें ? भन्ने प्रश्नले पनि मलाई बेलाबेलामा झकझकाउँछ । जीवन भोगाईको पूर्वाद्धको घडी भोगीरहेको म पनि आफ्नो अन्त्यज्ञान नभएकाले उन्मादमा बोलिरहेको हुनसक्छु तर क्रान्तिकारी जगदीश र समाजसेवी जगदीशका जुन दुई फरक आकृति पुस्तकमा प्रस्तुत भएको छ त्यसले मलाई र मेरो अन्तरमनलाई पनि वेस्कन हल्लाईदिएको छ । प्रत्येक दिन विहान उठ्दा जोश लिएर उठने म प्रत्येक रात सुत्नुअघि आफूलाई सिसिफस सँग तुलना गर्न पुग्छु । सिसिफस दयाको पात्र हो वा इष्र्याको पात्र आजसम्म निक्र्यौल गर्न सकेको छैन तरपनि पुस्तकमा वर्णित मृत्यूको वर्णनले मेरो अन्तरमनमा तंरगीत हुने लामा भविष्यका योजनाहरूलाई भोलिका लागि मात्र सिमित गर्न प्रेरणा दिन्छन् । भौतिकवादी संसारमा आजका लागि संघर्ष गरिरहेको म भित्र अन्तरमनको यात्राले आध्यात्मवाद तिरको मार्ग प्रस्तर गर्न लागेको कुरा स्वीकार गर्दा मलाई कति पनि लाज लागिरहेको छै्रन् । क्षणभंगुर जीवनका प्रत्येक दिनहरूलाई प्रत्येक साँझ समिक्षा गर्न बाध्य बनेको छु म  आजकल किनकी प्रत्येक साँझ नै पो मेरो जीवनको अन्तिम साँझ हो कि भन्ने तर्कना मनमा खेलिरहन्छ । यस लौकीक चोलामा प्रवेश गर्दा फिर्ती टिकट पनि संगै लिएर आएका हुन्छौ हामीहरूले । बस आजकल फिर्ति सवारीका बारेमा पनि सोच्न थालेको छु । जीवनको यो घडीसम्म आइपुग्दा धेरै उकाली ओराली काटे जंघार तरे र काँडाहरूबीच हिँडे । दुःख धेरै देखे जस्तो लाग्छ । प्रगतीपथमा आफ्ना पाइलाहरू नबढेको देख्दा जती जीवनप्रति वितृष्णा पैदा हुन्थ्यो, ती क्षणहरू आज मेरालागि उत्सवका क्षणहरू बन्दैछन् । लोकोपकारका लागि शंकरले कालकुट बिष शरीरमा लिएर हिडेझैँ जीवनभर रामेछापबासीको शंकर बनेर हिँडेका जगदीशले पनि आज माइलोमा रुपी कालकुट बिष शरीरमा लिएर हिडिरहेका छन भन्ने सोच मात्रैले पनि मेरा शिथिल नशाहरू जोशले भरिदिन्छ र सोचमा डुब्दै अवचेतन मनले दुवै शंकरलाई सम्मान गरिरहेको हुन्छु । शायद तपाँइको ठाउँमा मलाई त्यो रोग लागिदिएको भए न मसंग वल्र्ड नेर्वसको त्यस्तो महंगो जीवनविमा थियो न उपचार गर्न सक्ने खुबी त्यसैले आफ्नो मनको बह आँशुमा पोख्थेँ होला । भाग्यमानी हुनुहुदो रहेछ तपाई, कमसेकम मनका वह शब्दमा उतारेर पोख्नका लागि समय त पाउनुभयो ।
 बौदमार्गीहरू आफ्ना ढोकाका संघारमा मखनका पुतला टाँस्छन रे । दिनको ताप चढदै गएपछि जब ती पुतलाहरू पग्लेर खस्छन त्यस कुराले उनीहरूलाई याद दिलाइरहन्छरे कि यो जीवन क्षणिक छ । अनि परिवर्तन संगै बाच्न पनि सिकाउँछरे । कति बौदमार्गीहरू यसको अनुसरण गर्छन थाहाछैन तरपनि तिनै भाव बोकेर हिंडने दलाईलामाका अनुयायीहरूको चीनसंग यो झडप ठीक हो वा होइन मेरो मनज्ञानले छुट्टयाउनै सक्दैन । दलाइलामाका अनुयायीहरू आजकल दिनहूँ निर्घात कुँटिदैछन् । बुद्धका शान्तिदूतहरू मानिने उनीहरू दिनहुँजसो रगक्तामे हुँदैछन् । मानबचोला घोर पाप हो र परमेश्वर र उहाँका पुत्रको प्रार्थना र भक्तिले मात्र मोक्ष प्राप्त गर्न सकिन्छ भन्दै ज्ञान बाँड्दै हिडने ख्रिष्टिय दाजुभाईहरू पनि आफैभित्र ‘क्याथोलिक’ र ‘प्रोटेस्टेरीएन’ का नाममा मतभेद साँच्दैछन भने आफूबाहिरका प्रमुख प्रतिपक्ष भनिठान्ने इशाईहरूसँगको उनिहरूको प्रतिष्पर्धा इराक र अफ्गानीस्तानले भोगीरहेका साम्राज्यवादी आक्रमणहरूबाट स्पष्ट नै छ । ख्यातशक्रो भगाङ्गो विधुरपी मलिनो, माधवो गोपजात । वेश्यापुत्रो बशिष्ठो रतिपतिरतनु सर्वभक्षि हुताश । व्यासोमत्स्यो दरीयो लवणजलनिधि पाण्डवा जारजाताः रुद्रा प्रेतास्तीधारी त्रिभुवन विजयी कस्य दोषो नचास्ती ? (भनिन्छ इन्द्रका शरीरभरी योनी चिन्ह छन्, चन्द्रमालाई दागले छोपेको छ , श्रीकृष्ण भगवान गोठालाका छोरा हुन, वशिष्ठ ऋषि वेश्याका छोरा हुन, अग्नी सर्वभक्षी छन्, व्यास मझिनीका छोरा हुन, समुन्द्र नुनै नुनको चर्को पानीले भरिएको छ । पाण्डवहरू जारका सन्तान हुन् । त्रिभुवन बिजयी रुद्र शिवले समेत मसानको बास गर्दछन् भने दोष नभएको को छ र ? )  भन्दै हामी हिन्दुहरू पनि पुराण र माहाभारतका दोषीहरूको दोष केलाउँदै आफ्ना दोषहरू र वैगुणहरू सही हुन भन्दै ‘जस्टीफाइ’ गरीरहेका छौं । सबैले बुझेको कुरा हो मृत्यु शाश्वत छ तर पनि हामी जीवनको यो प्रतिस्पर्धामा जसरी लागिपरेका छौँ दौड जित्न, अगुवाको खुट्टा तान्न  अनि युद्धकौशल देखाउन, त्यसले हाम्रो अन्तरज्ञानमाथी नाङ्गो ताण्डब गरिरहेछ ।
 पुस्तकका पाना पल्टाउँदै जाँदा तपाईको उपचारविधिका बारेमा पढछु । किमो थेरापी देखि विभिन्न सुली नलीका उपचारपद्धती मन नलागी नलागी अगाढि बढाउँदै जान्छु पानाहरू, केही क्षण लाग्छ म कुनै प्रख्यात डाक्टरले क्यान्सर निरुपरण गर्नका लागि लेखेको उपचार पद्धतिसम्बन्धी पुस्तक अध्ययन गरिरहेको छु । जति जति अगाडि बढदै जान्छु, उती उती अझ बोझिला नलीहरू कहिले हातबाट, कहिले छातीबाट त कहिले गर्धन बाट रोपिदँै गएको वर्णन पढदा म आफै निसासिएको छु , सास फेर्न गाह्रो भएको र धेरै पटक घाँटी किक्क  भएको अनुभूति गरेको छु ।
 मधुमालतीको कथामा मधुकरले मालतिलाई फिर्ता पाउनका लागि बिष्णु भगवानको दरबारसम्म पुग्ने र ती वीचमा आइपरेका व्यवधानलाई जसरी पार गरेको थियो ठीक त्यस्तै तपाईले बर्णन गरेका आधुनिक उपचार विधिहरू पढदा र तिनको खर्चको अनुमान मात्र पनि गर्दा जगदीश घिमिरे मेरालागि दन्त्यकथाको राजकुमार संग तुलना गर्न योग्य छन जोसँग सम्पन्नता त छ तर स्वास्थ्य छैन, उपचार गर्ने झाँक्रिहरू त  प्रशस्त छन तर पूर्ण रोग निको हुने संभावना छैन, पिर र सुर्ता गर्ने राजा, रानी अनि सम्पूर्ण दरवारियाहरू त छन तर उसको आत्मा उसको छैन । उसकै शरिरमा वगीरहेको रगत उसको अधिनमा छैन् । तैपनि उ भरमग्दुर प्रयास गर्छ । आफ्ना रगतमा वगीरहेका माइलोमाका अवशेषहरूलाई निमिट्यान्न पार्न । एकदिन मर्नैपर्छ भन्ने ज्ञात हुँदाहुँदै पनि जब हामी थाहा पाउँछौ कि मृत्यु नजिकिदै छ स्वतस्र्फूत रुपमा हामी आफूभित्र जिजिविषा उत्पत्ति भएको पाउँछौं । मिल्ने भए त त्यो काल भन्ने सत्यमाथि हामी साम दाम दण्ड भेदको उपाय प्रयोग गरेर भएपनि पर सार्ने कोशिश गथ्र्याँै होला तर निरीह हामी ओल्टो कोल्टो फेर्नै नमिल्ने गरी पाइप घोच्नु परोस वा गासका गास ठिम्रा गोली चवाउनु परोस कन्दै, आर्तनाद गर्दै र गाली गर्दै अझै केही घण्टा, दिन महिना वा बर्ष पछि सार्ने प्रयास गर्छौ । चाहे त्यो जगदीश घिमिरे होस वा म, अलिक बढी बाँच्ने इच्छा हामी सबैभित्र सदैव बाँचिरहेको हुन्छ र त्यसैले हामी मान्छे होैँ  र मान्छेहुनुको अस्तित्व धानीरहेछौँ ।
 यो पुस्तक पढनुभन्दा अगाडि म निकै फ्रस्टेड थिएँ । जीवनसँग सदैव तनावग्रस्त रहन्थे । पढाई, परिवार, सम्वन्धी, जागीर, करियर, अनि छत्तीस थरी अरु समस्या र सोचले मेरो मंथीगलमा गुँड बनाएका थिए ।  जीवनको एउटा गन्तब्य खोज्न नसकेर हतास थिँए । चालक बेहोस भएपछि ढल्पलाएको जहाज जस्तो ढल्पलाएको मेरो जीवन घरी घोप्टेभिरमा ठोकीएर तहसनहस हुने भयले आत्तिन्थँे त कहिले जादुई शक्तिको पर्खाइमा स्वप्नील संसारमा कल्पनारत हुँदै विताउँथे । जीवनमा केही गर्नु छ । केही गरेर देखाउनु छ जस्तो लाग्थ्यो तर यो पुस्तक पढेपछि ती सम्पूर्ण सोचहरूप्रति हाँस्न मन लागिरहेछ मलाई । प्रत्येक दिन केही लामो भविष्यको योजना जव मनभित्र तर्जुमा गर्छु अनि फेरी शून्यवादको भूमरीमा फस्न पुग्छु । बाँचुन्जेल तेरो र मेरो, मरेपछि ढुँङ्गाको चौघेरो भनेझै स्वस्थ्यको त्यस्तो विधि पथपरहेज गर्ने तपाई  र माइलोमाको जुन अकल्पनिय निकटस्थ सम्बन्ध छ आजकल जीवन त्यतै केन्द्रित भएको छ । दोधारे भएको छु म । न ज्यान फालेर यो सांसारिक दौडमा आफूलाई होम्न सकिरहेको छु न योजनाहरूलाई सिमाबद्ध गरी तिनै योजनाहरूको चितामाथी चढेर हाँस्न सकिरहेछु  । तपाईले भनेजस्तो स्ववास्तविकतामा म के हँु भनेर एकिन गर्न गाह्रो परेको छ मलाई आजकल । म पूर्णत तपाइका भावनाहरू आत्मसाथ गरेर जीवनको अन्तिम क्षणमा तपाइँले प्राप्त गरेका ज्ञानका झिल्काहरूमा आफ्नो जीन्दगीमा छाइरहेको अँध्यारोलाई हटाउन सलेदो बाल्न पनि सकिरहेको छैन न त त्यही अध्यारोमै जीएर सुकरातले भनेझै हामीले देख्ने गरेको र भन्ने गरेको यथार्थ भन्दा दुईगुणा पर रहेको सत्यलाई नदेखेझै गर्न सक्छु । त्यसैले यो दुविधाको स्थिीतिमा आफ्नो दैनिकी कटाउन सकस परेको छ मलाई आजकल ।
 जीवनका सुनौला पाटाहरू पनि नियाल्ने कोशिस गर्छु । साना तिना प्राप्तिहरूमा पनि उन्मुक्त हाँसो हास्न खोज्छु तर मेरो हाँसो आफैलाई ढोंगी लाग्छ । ओठ लेप्राएर दाँत देखाउनुनै आजकल हाँसोको परिभाषा भएको छ मेरालागी । त्यसैले म तपाइको लेखाइका शब्दपछाडी लुकेका अनगिन्ती वेदनाहरूलाई महशुस गर्नै प्रयास गर्दछु । तपाईको ठाउँमा आफूलाई राखेर कल्पना गर्छु र खुला आँखाले तपाइको जीवन जीएको सपना देख्ने गर्छु म आजभोली । कसैको परिस्थिीतीमा ठ्याक्कै पसेर स्वंय पिडकले महशुस गर्नै जस्तो महशुस गर्ने त असम्भव नै छ र त्यो प्रयास पनि निरर्थक नै हुन्छ तरपनि यदि एव्सर्ड लाग्छ जीवन आजभोली की त्यही पागलपन भएपनि भोगेर आफ्नो यस चोलामा प्रत्येक दिन कम्तिमा एक मिनेट तपाई भएर जीउने चाहाना गर्दैछु । त्यस्तै खुसी, त्यस्तै मान, त्यस्तै प्रतिष्ठा, त्यस्तै जोश, त्यस्तै सेवाभाव, त्यस्तै सरलता, त्यस्तै आत्मीयता, त्यस्तै स्तर, त्यस्तै गौरव, त्यस्तै सिर्जना, त्यस्तै निश्वार्थता अनि त्यस्तै सुलीनली, त्यस्तै पिडा, त्यस्तै वैराग्यता, त्यस्तै नैराश्यता, त्यस्तै लाचारी, त्यस्तै भुटभुटी अनि त्यस्तै व्यग्रता । मानिलीनुस, म कम्तीमा दिनको एक मिनेट जगदीश भएर जिउन चाहान्छु र त्यस एक मिनेट भित्रका प्रत्येक सेकेण्ड, मिलीसेकेण्ड, माइक्रोसेकेण्ड र पिको सेकेण्डभित्र हजारौ पलहरू अनुभुति गर्न चाहान्छु । तपाँईलाई व्यक्तिगत रुपमा आजसम्म भेटेको पनि छैन र चिन्दीन पनि तर तपाइसँगको आफन्ती सम्बन्ध आफैभित्र मौलाउदै गएको छनक पाँउछु म । पुस्तक पढनुअघि जगदीश घिमीरे मेरालागी दयाका पात्र थिए र पुस्तक पढिसक्दा तपाई इष्र्याको पात्र बन्नुभयो । बस् । त्यही ट्रान्जीसन नै मेरालागि जगदीश घिमीरेको परिचय हो । अस्तु
उपेन्द्रप्रसाद पौडेल
कास्की, देउराली १, तुलसीटोल
हालः नदीपुर, पोखरा–३

३ ९८४६०३५५५६

0 comments:

Post a Comment