Tuesday, July 25, 2023

नेपाली बाबु फ्रम लन्डन– जेपी क्रस

फागुन २२, २०७७ शनिबार ६:१०:०

अन्नपूर्ण पोष्टमा प्रकाशीत 

नेपाली बाबु फ्रम लन्डन | अन्नपूर्ण पोस्ट् (annapurnapost.com)



 कसैले उमेर सोधे उनी जोसिँदै बताउँछन्, ‘भर्खरै ९६ वर्ष।’ ‘बूढो हुनुभएछ है ?’ भनेर कसैले भने उनी तत्कालै जवाफ दिन्छन्, ‘अहिले नै कहाँ बूढो हुनु ? ज्योतिषीले ११० वर्ष बाँच्छस् भनेका छन्, १०० वर्ष पुगेपछि बल्ल बूढो हुन्छु।’

यो उमेरमा पनि दिनको चारदेखि पाँच घण्टा मर्निङ वाक र पुस्तक लेखनमा सक्रिय कर्णेल जेपी क्रससित उनको जीवनका बारेमा दिनभर कुरा गरेर फर्केपछि लाग्यो— उनले जुन जिन्दगी बाँचे, त्यो फगत एउटा कथाजस्तो मात्र छैन, गोर्खाली फौजका जिउँदो इतिहास र अपत्यारिला कथाहरूको एकमुष्ठ प्याकेज हुन् उनी। 

जीवनको पूर्वार्द्ध
फिलिप किनास्टोन र माग्रेट किनेस्टन क्रसको दोस्रो सन्तानका रूपमा युकेको लन्डनमा जन्मेका जोन फिलिप क्रसको बाल्यकाल एउटा औसत बेलायती बालकको बाल्यकाल जस्तै रह्यो। ‘पढाइमा सधैं प्रथम हुन्थें तर पछाडिबाट’, ठट्टा गर्दै लामो हाँसोका साथ भन्छन् कर्णेल। स्कुले जीवनमा पढाइमा कमजोर रहेका क्रसलाई गणित असाध्यै गाह्रो लाग्थ्यो। जिस्कँदै उनी भन्छन्, ‘गन्दा–गन्दा हातको औंलाले पुगेन, जुत्तामोजा खोलेर गनौं भनेको लन्डनको जाडोमा आँट नै आएन। होस् भनेर छोडिदिएँ।’ गणितमा जसोतसो ३२.१ लिएर पास भएपछि मडारिइरहेको दोस्रो विश्वयुद्धको कालो बादलमुनिको बेलायतमा थिए उनी। १७ वर्ष ९ महिना दुई साता पार भएपछि अनिवार्य भर्ति हुनुपर्ने सरकारी आदेशको पालना गर्दै सुरु भयो एउटा बेलायती ठिटोकोे लाहुरे जिन्दगी।

‘दैवको लीला ! मान्छे जसको हुनु छ उसैको हुन्छ, जहाँको हुनु छ उहीँको हुन्छ। बेलायतमा घर छैन, जमिन छैन, परिवार छैन। यो जीउलाई कतै जान मन पनि छैन। बेलायत मेरो होइन। नेपाली भएसी क्यार्न जानु बेलायत ?’

सैन्य सेवामा प्रवेश
बेलायती सेना भए पनि रिक्रुटको तालिम बाहेक क्रसले लगभग पूरै जागिरे जीवन बेलायतबाहिर बिताए। तिनताका भारत ब्रिटिस उपनिवेशमा थियो। भर्ती भएलगत्तैै उनी एक महिनाको पानीजहाज यात्रा तय गरेर जापानविरुद्ध लड्न तत्कालीन ब्रिटिश स्वशासित भारत आइपुगे। बम्बई झरेपछि रेल चढेर तीन दिनमा पुगे दिल्ली। त्यतैबाट देहरादुनमा पाँच महिना बेसिक र एक महिना जंगलको तालिममा सहभागी भएपछि अनि सुरु भयो लडाकु जीवन। 

जापानसँगको लडाइँमा जापानले हारेपछि हतियार उठाएर उनी भारत फर्के। तत्कालीन अफगानिस्तान सीमाको बजिरस्थानमा ब्रिटिस सेनाले बाटो बनाउँदै थियो। केही विद्रोही बाटो बनाउन रोक्दै थिए। बाटो खोल्न सेनाको टोलीमा रजमाक बजिरस्थान पुगेर १३ अगस्ट १९४७ मा भारतमा सुतेका जेपी क्रस भोलिपल्ट बिहान पाकिस्तानमा ब्युँझे।

सन् १९४७ को स्वतन्त्रतासँगै अब पाकिस्तानी सेना र भारतीय सेनाबीचको लडाइँ आपसी भएकाले ब्रिटिस प्रधानमन्त्री रिचार्ड एटलीले ब्रिटिस अफिसर अगाडि नबढ्ने आदेश दिएपछि तत्कालीन समयमा उपनिवेश रहेको बर्मातर्फ उनको फौज अगाडि बढ्यो। ४ जनवरी १९४८ मा बर्मा पनि स्वतन्त्र राज्यका रूपमा स्थापित भएपछि ब्रिटिस फौजमै उनी राईलिम्बू पल्टनमा सरुवा भए। त्यसपछि मलायामा २० वर्षसहित कुल उनन्चालीस वर्ष सैन्य सेवा गरेका जेपी क्रसले लगभग ३८ वर्ष एसियाली महाद्वीपमै काम गरे। लेफ्टिनेन्ट कर्णेल भई निवृत्त हुँदा भने ब्रिटिस क्याम्प तल्लो दीप पोखरामा कार्यरत थिए।

सैन्य जीवन भन्नेबित्तिकै सजिलो हुने कुरै भएन। ३० वर्ष सैनिक सेवामा जंगलमा मात्रै १० वर्ष बिताएको सुनाउँछन् क्रस। ‘गाह्रो थियो जंगलमा बस्न, सेनाको टोली लिएर हिँड्नुपर्ने, खानेबस्नेको ठेगान हुँदैन। वन्यजन्तु र बिच्छी, सर्पको पनि उत्तिकै डर। आफ्नो चिन्ता त छँदैछ, कमान्डर भएपछि फौजको पनि चिन्ता। कमान्डरका लागि सैन्य टोली परिवारजस्तै हो। सरकारी परिवार। १० वर्षमा कोही घाइते भएनन्, कोही मरेनन्। मेरो पुकारा दैवले सुन्यो। माथि हेर्दै नमस्कारको भावमा थपे उनले।

पल्टन छुटेको ४० वर्षपछि हालको निर्माणाधीन पोखरा विमानस्थलको चौरमा एक  जना बूढा मान्छे भेटे क्रसले। सलाम गरेपछि फर्काए पनि। कौतूहलतामा उनले सोधे। २१२६ हजुर। उताबाट उत्तर आयो। तपाई धनबहादुर हो ? क्रसले प्रश्न तेस्र्याए। लगभग ५० वर्षअघिको कमान्डरले नाम सम्झेको देखेर धनबहादुर भावुक भएको क्रस सम्झन्छन्।

लडाइँ मात्रैले कहाँ पुग्यो र ? तालिम पनि उत्तिकै। जंगल वारफेर स्कुलमा पाँच महाद्वीपका १० भन्दा बढी देशका सिपाहीलाई तालिम दिएका क्रसले आफ्नो कुल सैनिक सेवामा रिक्रुटिङ अफिसरका रूपमा हङकङ, बु्रनाई, मलाया, लाओसलगायत दूतावासमा समन्वय गरी २१४८  जनालाई बेलायती सेनामा भर्ती गरेका थिए। ३८ वर्ष एसियाली महाद्वीपमा धेरैजसो समय गोरखा फौजसँग काम गरेर कटाए। 

काल पनि नलेखी आउँदैन भनेझैं फौजी जीवनमा १२  पटक विभिन्न तरिकाले मरेर बाँचे क्रस। दुई  पटक टाउको छिनाउन खोजियो उनको। गोलीले छोएरै गएको तीन पटक। मस्ट वान्डेड सूचीमा परे कैयौं पटक। उनी मरेको खबर कैयौं पटक समाचार नै आएको पनि सम्झन्छन्। तोकेको आयु हर्न कहाँ यसै सजिलो छ र ?

नेपाली भाषा 
ब्रिटिस सेनामा भर्ती भएका क्रसलाई गोरखा वा नेपाल भन्ने शब्द त लाउने कुराको नाम हो वा खेल्ने कुराको नाम हो केही थाहा थिएन। देहरादुनमा पहिलो पटक नेपालीसँग भेटेर संगत गरेपछि उनलाई नेपाली पल्टनले असाध्यै मन छोयो। कालान्तरमा क्रसलाई गोर्खा पल्टनको कमान्डरकारूपमा काम गर्नुपर्ने भयो। परेन फसाद ! एकले बोलेको अर्काले बुझ्दैनन्।

भाषामा राम्रो पकड नभएकाले माइन फुटेर मरेको कुराले क्रसलाई असाध्यै बिझेको थियो। बर्मा लडाइँमा जाँदा आफूले दायाँ भन्ने ठाउँमा भाषा नबुझेकाले गलत दिशातर्फ गएर एक जना सिपाही मर्‍यो भने मात्रै भन्ने सोच्दा पनि मन गह्रुँगो भयो क्रसको। मेरो भाषा नबुझेर कोही सिपाही मर्‍यो भने मेरो सिपाही मात्रै मर्दैन, उता पहाडमा कसैको छोरा, कसैको श्रीमान् पनि मर्छ। त्योभन्दा ठूलो पाप के होला ? उनी सम्झन्छन्।

सबै गोर्खा सैनिकलाई अंग्रेजी सिकाउनुभन्दा आफूले सामान्य नेपाली सिक्नु बेस लाग्यो क्रसलाई र विस्तारै गोर्खा फौजले बोलेको सुन्दै क्रसले टुटेफुटेको नेपाली बोल्न सिके। ‘हतियार जम्मा दुईवटा हुन्छ कि गोली कि बोली। गोली चलाउन सिकें तर बोली सिक्न गाह्रो भयो हजुर’, क्रस भन्छन्। २२ वर्ष बेलायती फौजमा काम गरिसकेका क्रसलाई नेपालीले बोल्ने घुइँक्याउनुु, सुइँक्याउनु, मिल्काउनु जस्ता शब्द सिक्न असाध्यै गाह्रो भयो। कर्णेल क्रसले अहिले ठेट नेपाली बोलेको सुन्ने जोकोहीलाई उनको नेपाली भाषाको पकडले छक्कै तुल्याउँछ। नेपाली र अंग्रेजीबाहेक रोमन, उर्दु, क्यान्टोनी, इवान, मलायालम, फ्रेन्च, हिन्दी, भियतनामी, तमिल, थाई र तेमियार भाषामा समेत उनको राम्रो पकड छ।

क्रसले नेपाली भाषामा त्रिविबाट स्नातक गरेका छन् भने नेपाली भाषाको राम्रो पकडले उनी चाटर्ड इन्स्टिच्युट अफ लिंग्युस्टको सदस्यसमेत भए। ‘एसएलसी फेल खाको सहायक प्राध्यापकको जागिर पाको’, जिस्किँदै क्रसले भने। २०३८ सालदेखि ०४३ सालसम्म महिनाको १३०० रुपैयाँ तलबमा विश्वविद्यालयमा इङ्लिस एज फरेन ल्यांग्वेज पढाउन थाले। कनिकुथी नेपाली सिकेका क्रसले कालान्तरमा नेपालीले अंग्रेजलाई के देन दियो भनेर इतिहास लेख्ने कामसमेत गरे। भाषा विज्ञानसम्बन्धी टर्नर डिक्सनरीमा गएको ५० वर्षमा कति नयाँ शब्द आए भन्ने अनुसन्धानसमेत गरे। ‘हेर्नुस् बाबु, भाषा भनेको चुहिने बाल्टिन हो। जति बोल्यो उति राम्रो, छोड्यो चुहिएर सकिने’, सरल शब्दमा गहुँ्रगो कुरा गरे क्रसले।

पहिलो पटक नेपाल
नेपाली राम्रै बोल्न जान्ने भइसके पनि क्रस नेपाल भने आउन पाएका थिएनन्। त्यति बेलासम्म श्री ३ सरकारको निमन्त्रणामा बेलायतबाट बर्सेनि दुई छोरामान्छे मात्र नेपाल आउन पाइन्थ्यो। आफ्नो नेपाल आउने सपनालाई  पटक–पटक थाती राखेका क्रसले पहिलो चोटि २००३ माघ २३ गते साथीको साथ लागेर नेपाल हानिए। जेपी क्रस र उनका साथी १५५ वर्षमा नेपाल आउने १२६ र १२७औं बेलायती नागरिक बने। 

रक्सौलदेखि अमलेखगन्जसम्म तीन रुपैयाँ चौध आनाको टिकट थियो। त्यहाँबाट हिँड्दै हेटौंडा, भीमफेदी चिसापानीगढी थानकोट आइपुगेर पहिलो पटक नेपाल खाल्टो देखेको बताउँदा उनका आँखाको चमक लोभलाग्दो थियो। त्यहाँदेखि दूतावासको गाडी चढेर काठमाडौं आइपुगे। उनी काठमाडौं आउँदा काठमाडौंमा जम्मा साढे एक माइल सडक मात्र पिच भएको थियो।

क्रस सम्झन्छन्— पाँचवटा साधन थिए। श्री ३ सरकारका दुईवटा, श्री ५ सरकारका दुईवटा र ब्रिटिस सरकारको एउटा। विष्णुमती र बागमतीको पानी पिउनलायक भएको र १० दिन लगाएर काठमाडौं, भक्तपुर भादगाउँ, कीर्तिपुर सबै घुमेको क्रसले बताए। ९ बजे तोप पड्केर कछुवा हुनुपर्ने नचली बिहान ५ बजे तोप पड्केर बल्ल बाहिर चल्न पाइने। त्यति बेला लाग्ने रात्रिकालीन कफ्र्युलाई सम्झे उनले। 

श्री ३ सरकारसँगको त्यो भेट
पहिलो पटक नेपाल यात्रामा उनको एउटा रोचक घटना छ। त्यही भ्रमणमा उनले श्री ३ पद्मशमशेर जबरासँग दर्शनभेट पनि गरे। शिष्टाचारले गर्दा सरकार अंग्रेजी मात्रै बोले। ‘ह्वाट इज योर नेम ?’ भन्न खोजेका पद्मशमशेरले ‘योर नेम केरेकेरे ह्वाट ह्वाट’ भनेर पो सोधे। क्रसले बुझेनन् तर श्री ३ सरकारसँग दोहोर्‍याएर सोध्न पनि आँट आएन। ‘कहाँबाट आयो भन्न खोजेको’, क्रस अलमलमा परेको देखेर पद्मशमशरले भने।

जसोतसो कुरा टुंग्याइयो। टुटाफुटा अंग्रेजीमा ‘म राजनीतिक मान्छे होइन। म साइलेन्ट मान्छे हो, राजनीतिमा वास्तै छैन। सेनामा अलि बढी मन छ’ भनेको सम्झन्छन् क्रस। नेपालका प्रधानमन्त्रीले दिएको शिष्टाचार भेटले क्रसलाई अत्यन्तै प्रभावित पार्‍यो। फर्केपछि चिठी लेखे, डियर महाराजा, थ्यांक यु भेरी मच फर लेटिङ मी कम टु योर ब्युटिफुल कन्ट्री अनि यस्तै यस्तै लेखेर पोस्ट गरे। केही महिनापछि श्री ३ सरकारले दस्तखत गरेको चिठी आइपुग्यो भारतमा। श्री ३ सरकारको चिठी भनेपछि जतनसाथ फ्रेममा हालेर राखेका थिए क्रसले। पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा पद्मको साइँला दाइको नाति हुन् भन्ने सुनेपछि उनले त्यो चिठी गौरवशमशेरलाई देखाए।

‘अहिले पनि नाश पार्नु हुन्न भनेर घुसारेर राखेको छु’, क्रसले प्रस्ट्याए। ‘त्यसपछि सधैंलाई नेपाल नै बस्नुभो ?’, थप उत्सुकताले सोधें। ‘कालो–कालो बाख्राको मासु मीठो चाम्रो मान्छे राम्रो कहाँ हो र दिल बसेको राम्रो ? मेरो दिल नेपालमा कसोकसो बसिगो। नेपाल आउने हुटहुटी मेटिएकै थिएन’, आफ्नै लवजमा क्रसले थपे, ‘फर्केर गएपछि ब्रिटिस आर्मीको जंगल वारफेर स्कुलको कमान्डेन्ट सम्हाल्नु पर्‍यो। लावसको दूतावासमा ९ महिना तालिममा जानुअघि नेपाल आएर पूर्व ७० दिन, काठमाडौं तराई सात दिन, पश्चिम ३० दिन गरी १०७ दिन नेपाल घुम्दा दिनैपिच्छे पल्टनका कोही न कोही चिनजानको मान्छे भेटे र सोधे रे।

नानीको बाबु गयो कलकत्ता,
नानीको आमा भयो बेपत्ता...। 

त्यस्तो त भएको छैन नि हैन ? उखान–टुक्का मन पराउने क्रस यसैगरी बेलाबेला उखान–टुक्का जोडेर गफिन रुचाउँछन्।

क्रस अन्ततः नेपाली
ब्रिटिस सेनाकै जागिरका क्रममा भर्ना छनोटका क्रममा लामो समय नेपालमा बसोबास गरेपछि क्रसलाई नेपालको मायाले गाँज्दै गयो। उता बेलायतमा कोही आफन्त नभएका र यता नेपालमा परिवारसमेत भएका क्रसले स्थायी बसोबासका लागि सरकारसँग बसोबास अनुमति मागे। तत्कालीन राजा वीरेन्द्रले विदेशी भए पनि जमिन र घर किन्न दिने लालमोहर जारी गरिदिए क्रसका नाममा। क्रसले सोचे यति भएपछि एकबारको जुनी आनन्दले कट्छ नेपालमा।

तर माओवादी जनयुद्ध सुरु भएसँगै आएको परिवर्तनले क्रसलाई पनि आफूले पाएको लालमोहरमाथि शंका लाग्न थाल्यो। राजाको प्रतिमा ढल्यो। नोटबाट फोटो हटाइयो। राष्ट्रिय गान फेरियो। झन्डासम्म फेर्ने कुरा चले। सरकारले बक्सेको लालमोहर तोडियो भने प्यारो नेपाल छोडेर कसरी बस्ने ? अनि क्रसलाई नागरिकताको खाँचो महसुस भयो। गैरपर्यटक भिसामा नेपाल बसेकाले नेपाली नागरिकता प्राप्त गर्न जन्मभूमिको पासपोर्ट बुझाएर स्वीकृति प्रमाणपत्र कागज ल्याउनुपर्ने, भाषा जानेको हुनुपर्ने र योगदान दिएको हुनुपर्ने थियो।

क्रसको यो सबै योग्यता पुगेकै थियो अनि उनले दिए नागरिकताका लागि आवेदन। अपशोच, जंगलमा लडेका धेरै युद्ध बिर्साइदियो क्रसलाई नागरिकता प्राप्तिको संघर्षले। वर्षौंसम्म क्रस धाइरहे मन्त्रालय। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा तत्कालीन गृहमन्त्री भीम रावललाई फोन गरेर योग्यता र योगदानका आधारमा तुरुन्तै नागरिकता दिन अह्राए। सिनासमा उनकै रिसर्च फेलो रावलले ३ महिनाभन्दा बढी नलाग्ने ढाडस दिए तर नागरिकता फाँटका सचिवले दुई सय जना लाइनमा भएकाले काम बन्ने तर प्राविधिक कुरा नमिलेको बताए। क्रसले बुझे, यो टेबलमुनिको आग्रह हो। तर त्यसरी नागरिकता नलिनेमा क्रस दृढ थिए।

त्यसपछि कैयौं सरकार फेरिए। क्रसको फाइल यो फाँटदेखि उताको फाँटसम्म डुलेको डुल्यै भयो तर नेपाली नागरिक हुने क्रसको सपना पूरा हुने छाँटकाँट देखिएन। २०३३ सालदेखि नेपाल बस्दै आएका क्रसले अन्ततः ३२ वर्ष ६ महिना दुई दिनको पर्खाइपछि २०७१ सालमा नेपाली नागरिकता प्राप्त गरे। मनले नेपाली रहेका क्रस कागजले पनि नेपाली बने र बने नेपाली नागरिकता पाउने दोस्रो ब्रिटिस नागरिक। 

त्यति दुःख गरेर लिएको नागरिकताले क्रसलाई धन्नै हिरासत पुर्‍याएन। धरान जान एअरपोर्ट पुगेका उनलाई टिकट काउन्टरले नक्कली नागरिकता भनेर प्रहरीकहाँ उजुरीसम्म परेको रोचक किस्सा आँखा चम्किला बनाउँदै सुनाए क्रसले। नागरिकता पाएको दिनदेखि उनी घरबाहिर निस्कँदा बरु लौरो छुटाउलान्, नागरिकता छुटाउँदैनन्। ‘किन नि नागरिकता बोकेरै हिँड्ने ?’ प्रश्नको उत्तरमा उनी भन्छन्, ‘इर्टिस ब्रिटिस तँलाई ब्रिटिस, मेरो घरको बाटो किन हिन्थिस् भनेर भन्न सक्दैन नि कसैले। म पनि नेपाली हो।’

विदेशीको नेपाली परिवार
क्रसको नेपाली परिवारको कथा पनि रोचक छ। ब्रिटिस फौजमा भर्ती हुन लमजुङ ठूलो स्वाँराको १९ वर्षे बुद्धिमान दुरा उचाइ नपुगेकाले भर्ती त हुन सकेनन् तर त्यही क्याम्पमा क्रसको धर्मछोरा बन्ने यात्रामा भर्ती हुन पुगे। ४३ वर्षअघि तलब दिन्न। लुगाफाटो व्यहोर्छु। भोग नलाग्ने गरी जमिन किन्छु भनेर धम्पुलाई सँगै लिएर हिँडेका क्रसले कालान्तरमा बुद्धिलाई कानुनतः धर्मछोरा र व्यवहारमा आफ्नै छोराका रूपमा पाए। अहिले छोरा बुहारी, तीन नाति र तीन नातिनीसहितको परिवार छ क्रसको। उसो त स्याङ्जातिरका झाँक्रीकै कुरा पत्याउने हो भने ४०० वर्षअघि क्रिस्चियनको देशमा बुद्धिमान दुरा धम्पु र जेपी एकै कोखमा जन्मेको कहानी पनि छँदै छ। 

लेखक र लेखन यात्रा
ब्रिटिस सेनामा क्रसले जागिर मात्रै खाएनन्; आफ्नो जागिरे जीवनका अनुभव, दोस्रो विश्वयुद्धको वृत्तान्त र नेपालीहरूको ब्रिटिस सेनाको यात्रा र विक्रासक्रमलाई पुस्तकाकारमा जीवन्त पनि राखेका छन्। सेवा अवधिमा दुईवटा र ३९ वर्षको सेवानिवृत्त जिन्दगीमा बाँकी गरी २१ भन्दा बढी पुस्तक छन् क्रसका। जंगल वारफेयर एक्सपियरेन्स एन्ड इन्काउन्टर, इन गुर्खा कम्पनी द ब्रिटिस आर्मी गुर्खा १९४८ टु प्रेजेन्टजस्ता उनका लोकप्रिय पुस्तक लाखौं बिक्री भएका छन्।

विदेशी प्रकाशन गृहले खोजी–खोजी क्रसका पुस्तक प्रकाशन गर्छन्। नेपाली गोर्खा इतिहास बुझ्न खोज्नेका लागि क्रस भरपर्दा स्रोत मानिन्छन्। ६० भन्दा बढी जिल्ला घुमेका क्रस नेपाली सेनाको मिलिटरी एकेडेमी खरीपाटी र जंगल वारफेयर कलेज अमलेखगन्जमा पनि बेलाबेलामा गेस्ट लेक्चरका रूपमा गइरहन्छन्। आज पनि उनी किताब नेपालीमै टाइप गर्छन्। ‘टुक्राटुक्री नोट गर्छु। सानो कागजमा लेखिराख्छु। अनि सिलसिला मिलाएर जोड्छु’, क्रस भन्छन्। 

बुढेसकालको दैनिकी
बिहान ४ बजे उठेर शारीरिक अभ्यास गरेपछि सूचनाका लागि ई–मेल आदि सामाजिक सञ्जालमा बस्छन्। त्यसपछि मार्निङ वाक। झमझम पानी परिरहने पोखरेली मौसममा पनि क्रस बिहान मर्निङ वाकमै भेटिन्छन्। पानी परेको दिन पनि नछोड्ने ? उत्तरमा आँखा झिम्क्याउँदै क्रस थप्छन्, ‘चिनी र नुन मात्रै बिलाउँछ पानीमा, मान्छे बिलाउँदैन।’ लडाइँमा हुँदा लामो समय अड्कलेर खाएकाले धेरै खान सक्दैनन् उनी। पहाडतिर जाँदा मायाले खाना थप्न खोज्दा क्रस भन्छन्, ‘एउटा मात्रै पेट, सयौं पटक भेट।’

‘विवाह गरौं जस्तो लागेन ?’, कुराको प्रसंग बदलें। ‘१७ वर्षमा बिहे हुन खोजेको कलिलो भनेर बाउले दिएनन्। लडाइँको बेला १७ वर्षमै भर्ती भएँ। तालिमको तालिम, लडाइँको लडाइँ, इन्डिया, बर्मा, जापान कता हो कता ? १० वर्ष जंगलमा मान्छे भेटिएन, केटी कहाँ भेट्नु र बिहे हुनु ? अहिले सबैको देख्दा लाग्छ, बिहा भनेको रिट्ठे भुमरी हो। गरे पनि दुःख, नगरे पनि दुःखजस्तो लाग्छ। ठीकै छ, जीवन चलेकै छ’, क्रसले यसरी बिट मारे। 

क्रसको १० वर्षअघि धूमधामले घरमै चौरासीको पूजा पनि भयो। दसैं पनि धूमधामले मनाउँछन्। गोर्खा फौज जहाँ हुन्छ, दुर्गा पूजा हुने भएकाले फौजबाटै हिन्दू धर्ममा प्रेम बस्यो उनको। विश्व हिन्दू महासंघको सदस्यसमेत रहेका उनी आफूलाई अनररी हिन्दू र अनररी बौद्ध बताउँछन् भने ब्याप्टाइस्ट क्रिस्चियन पनि हुन्। स्वास्थ्यको राम्रो परहेजले ९६ वर्षमा पनि क्रस तन्दुरुस्त देखिन्छन्। आँखाले अलि ठम्याउँदैनन्। जलबिन्दुको अपरेसन गरेदेखि दिनको पाँच पटक आँखामा औषधि हाल्छन्। कान कम सुन्ने भएकाले हियरिङ एडको सहायता चाहिन्छ। धूमपान मद्यपान कहिल्यै गरेनन् रे। 

‘बानी भनेको डन्डी नभएको पिँजडा हो। हेर्दा फुक्काफाल तर आफैंले बाँधेको बन्धन। त्यसैले मन ढुक्क भएपछि स्वास्थ्य यसै राम्रो’, क्रसको विश्वास यस्तो छ। ९६ वर्षमा पनि जेपी क्रस उत्तिकै सक्रिय छन्। उनकै नाममा बर्सेनि आयोजना हुने अन्तरविद्यालय बास्केटबल होस् वा नजिकैका विद्यालयका कार्यक्रम, क्रस अतिथिका रूपमा अझै पनि सम्मिलित भइरहन्छन्। कहिले पोखरामा हुने म्याराथनमा ७ वर्षकी सानी नानीसँगै दौडेका भेटिन्छन्।

भनिन्छ, साँझ परेपछि चरा गुँड फर्कन्छन्। उमेर बित्दै जाँदा जन्मभूमिको माया झन् गाढा हुन्छ।  क्रसलाई भने अहिले बेलायत बेलायत होइन, बेलायकजस्तो लाग्छ रे। ‘दैवको लीला ! मान्छे जसको हुनु छ उसैको हुन्छ, जहाँको हुनु छ उहीँको हुन्छ। बेलायतमा घर छैन, जमिन छैन, परिवार छैन। यो जीउलाई कतै जान मन पनि छैन। बेलायत मेरो होइन। नेपाली भएसी क्यार्न जानु बेलायत ?’ उठ्दै क्रसले भने।


0 comments:

Post a Comment