This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Sunday, June 30, 2019

जो उड्न सिकाउछिन्...

https://www.kantipurdaily.com/koseli/2019/06/22/156117830721648609.html
–उपेन्द्र पौडेल

आत्मकथा पढ्दा पाठकले सबैभन्दा बढी अपेक्षा गर्ने कुरा हो लेखकको इमान्दारी । लेखकले चतुराइपूर्वक सबैभन्दा बढी झुठ पस्कने विधा पनि आत्मकथा नै हो । नेपाली साहित्यको बजारमा आएका अधिकांश आत्मकथा पढ्दा ‘नार्सिसिस्ट–कथा’ पढे जस्तो लाग्छ । नार्सिसिस्ट–कथा अर्थात आफूले आफैलाई श्रेष्ठ मान्ने चरम आत्मानुरागीहरुको कथा । अब प्रश्न उठ्छ–भर्खरै बजारमा आइपुगेको सामाजिक अभियन्ता पुष्पा बस्नेतको आत्मकथा ‘पुतलीको घर’ पनि ‘नार्सिसिस्ट–कथा’मात्र हो वा त्योभन्दा बढी केही हो ?
सम्पन्न परिवारिक पृष्ठभूमिमा जन्मेका अधिकांश युवतीहरू झैं २१ वर्षको उमेरमा पुष्पा वस्नेत सामु थुप्रै बाटाहरु थिए । आमाबाबुले किनिदिएको स्कुटरमा हुइकिदै सिनेमा हल वा सपिङ्गमल चाहारीसकेर, टोफेल वा आइ.इ.एल.टी.एस. गरेर फर्दर स्टडीजका नाममा भिसा प्रोसेसिङ गर्न सक्थिन् । कुनै युवकसँग प्रेमलीन हुँदै नगरकोट वा पोखरा घुम्ने सपना देख्ने छुट पनि हुँदोहो । करिअरलाई महत्व दिदैं राम्रा कम्पनी र फर्ममा जागिर गर्नु वा पिताजीको व्यवसाय सम्हाल्ने विकल्पहरू पनिहुँदाहुन् ।
यी सबैखाले सजिला र चिप्ला बाटाहरुलाई थाती राखेर जेलमा विभिन्न अपराध गरेर वा परिबन्धमा परेर कारावासको सजाय भोगिरहेका आमाबाबुका ती सन्ततीहरू जसले  आफूले नगरेको अपराधको सजाय पाइरहेका थिए, तिनलाई खुला हावामा ल्याएर शिक्षा–दिक्षा दिलाउने दुस्साहसपूर्ण काम पुष्पाले रोजिन् । त्यही दुस्सााहसको फेहरिस्त हो पुतलीको घर ।
पुस्तकको आवरणमा सिएनएन हिरो र सिएनएन सुपरहिरोको लोगो अंकित भएपनि यो फगत सिएनएन हिरो वा सुपरहिरो हुँदाको अनभुव मात्र होइन । यो त एक लद्दु विद्यार्थीको असफलताले निमार्ण गरेको सफलताको कथा हो । स्कुल वा क्याम्पसको मार्कसिटमा उच्च अंक ल्याउनेहरु कहिलेकाही जीवनको परीक्षामा अनुत्तीर्ण हुन्छन् । फेरि यस्तो पनि देखिन्छ कि स्कुल वा क्याम्पसमा अत्यन्त न्यून अंक ल्याउनेहरु जीवनमा उच्चतम् अंकका साथ उल्लेख्य उपलव्धी हासिल गर्दछन् । शैक्षिक सूचकांकमा सँधै औसत वा कम अंक ल्याए पनि जीवनमा उपलव्धीको दृष्टिकोणले अब्बल दर्जामा उत्तीर्ण पुष्पा बस्नेतको जीवनकथा हर औसत र औसतभन्दा मुनिका विद्यार्थीको निम्ति उर्जाको टनिक हो ।
कुल २६७ पेजमा फैलिएकोपुतलीको घरलाई पुष्पाको वैयक्तिक जीवनको भोगाईको कथा मात्र मान्नु गलत हुनेछ । यो त बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थालाई अझ नजिकबाट हेर्ने तिलस्मी लेन्स पनि हो भन्ने कुरा उनको पुस्तकको  ‘तस्करी’ शीर्षक  पढेपछि थाहा लाग्छ । झट्ट हेर्दा सरकारबाट सञ्चालित बालमन्दिर बच्चाहरुलाई हुर्काउने पढाउने केन्द्र जस्तो देखिएपनि कुनैबेला भित्रभित्रै मोटो रकमलिएर विदेशीहरुलाई बच्चा तस्करी गर्ने जघन्य अपराधको थलो समेत रहेको खुलासा गरेकी छन् । अस्पतालका नर्सहरु मर्दै नमरेको बच्चा बाउआमालाई मर्यो भनिदिएर  सामान्य रकमका लागि बालमन्दिरमा बच्चाहरु बेच्ने अझ भनौँ बालमन्दिरलाई बालमन्दिर होइन, बालबच्चा किनबेचको केन्द्र बनाइएको सत्य थाहा पाउँदा आङनै सिरिङ्ग हुन्छ । सँगसगै यस्तो पाशविकताको विरोधमा सानैदेखी हक्की पुष्पा बस्नेतले किन केही कदम चालिनन् भन्न प्रश्न पनि उब्जिन्छ ।
सविन सिंह नामको उनकै सहपाठीले पुष्पालाई सिएनएन हिरोका लागि आवेदन दिएको र उत्कृष्ट २५ मा पुगेपछि सिएनएनले बालबालिका तथा समाजकल्याण मन्त्रालयमा फोन गरेर पुष्पा बस्नेतका बारेमा सोधखोज गर्दा आफूहरुले पुष्पा बस्नेतलाई नचिन्ने बताएकाले ‘फुलको वासना वरिपरी, मानिसको वासना डाडापारी’ भन्ने उखान स्मरण गराउँछ । आफ्नो कामका लागी सरकारी कार्यालय डुल्दा कार्यालयमा सेवाग्राहीलाई कर्मचारीले देखाएको रवैया र ढिलासुस्तीको वर्णनले कर्मचारीको व्यवहार, कार्यशैली र  मानसिकता उदाङ्ग भएको छ  ।
पुष्पाको जीवनको इतिवृत्ति मात्रै होइन पुतलीको घर । यो त पुतलीको घरमा झुसिल्किराका रुपमा छिरेर पुष्पा बस्नेतको हेरचाहले पुतली बनेका कला, नीरमाया, मीना, आत्माञ्जली जस्ता कैयौँ केटाकेटीको जीवन कथाको सुन्दर कोलाज पनि हो । पुष्पाको जीवन बुझ्न उनका बारेमा बनेका कैयौँ डकुमेन्ट्री भेटिएलान् युट्युवमा तर यी केटाकेटीलाई मनैैदेखी बुझ्न पुस्तकले सहयोग गर्छ । विभिन्न अपराधले जेलमा सजाय पाइरहेपनि आफ्ना आमाबाबु प्रति नकारात्मक भावनाको विकास नहोस् भनेर पुष्पाले गरेको प्रयास किताबमा पढिरहँदा पुष्पा बस्नेत र उनको पुतलीको घरप्रतिको सम्मान चुलिन्छ । दुःखले हुर्काएका केटाकेटी कमाउन सक्ने भएपछि गोरु बेचेको साइनो लगाउँदै हक देखाउदै उनीहरुलाई फिर्ता मान्न आउने मौसमी आफन्तीहरुलाई पुष्पाले गरेको केरकार र खोजखबरले पुष्पा पुतलीको घरमा बस्ने केटाकेटीको वर्तमान मात्रै होइन, भविष्यप्रति पनि उत्तिकै सजग छन् भन्ने कुराले ढुक्क समेत बनाउछ ।
व्हाट् इज इन अ नेम भन्ने शेक्सपियरले कथन पुष्पाको हकमा ठ्याक्कै लागू हुन्छ । नाम पुष्पा भए पनि पुष्प झैं नाजुक लाग्दिनन् उनी । नामले कोमल, कामले चट्टान वा सो सरह ।
जेल सजाय दिने ठाउँभन्दा पनि सुधारगृह हो भनेर जतिसुकै भनेपनि हाम्रो समाज र मानसिकताले जेलजीवन बिताएर खुला हावामा निस्केका व्यक्तिलाई त हेयभावले हेर्ने गर्दछ भने जेलभित्र सजाय भोगिरहेका व्यक्तिलाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोणको हामी सबैले राम्ररी बुझेका छौँ । 
‘बीउगुनाको बाला, दूध गुनाको बुद्धि’ भन्दै सन्तानमा अभिभावकको गुण र दोषको प्रत्यक्ष प्रभाव केलाउने चलन छ । अपराधीका बालबच्चा पनि आपराधिक मानसिकता लिएर जन्मन्छन् वा त्यस्तै कर्म अंगिकार गर्छन् भन्ने धारणा हाम्रो समाजमा व्याप्त पाइन्छ । पश्चिमाहरु समेत यो मानेमा लगभग उस्तै छन् भन्ने चैँ उनीहरुले भीसा आवेदनमा तीन पुस्ताको फौजदारी विवरणको खोजीनिती गरेकोबाट थाहा लाग्छ । हामी चोरको छोराछोरी चोरै भएर निस्कन्छन् भन्ने मानसिकताले ग्रस्त छौँ । यी सबै विषम परिस्थितिका बीचमा ती निर्दोष बालबालिकालाई बन्दीगृहको अँध्यारा पर्खालहरूबाट बाहिरी दुनियाँमा ल्याई सपनाको प्वाँख हाल्न र उड्न सिकाउनका लागि पुष्पाले देखाएको आँट र उत्साह, शुरुवाती दिनहरुमा पुष्पाले भोग्नु परेको कठिनाइ र पुष्पादेखी पुष्पा मामुसम्मकोे कठिन यात्रा पुतलीको घरको आत्मा हो ।

पुस्तकमा पुष्पा बस्नेतले इमान्दारीका साथ आफूलाई आजको पुष्पा मामुसम्मको यात्रामा नजिकबाट सघाउने कैयौ पात्रका नाममा समेत केही अध्यायहरु खर्चेकी छन् । कोरियाली किमको वृतचित्रदेखी इल्गा अवार्डसम्मको यात्रा तथा सिएनएन हिरोको नोमिनेसनमा परेदेखी अर्वाड हात पारुन्जेल सम्मको उतारचढाववाला यात्रामा पुष्पाको मात्रै होइन, उनले पुतलीको घरमा ल्याएका नानीबाबुको जिन्दगीको नालीबेली पनि पाइन्छ । मानौं, पुष्पा धागो हुन् र केटाकेटी मोती हुन् । विस्तारै जब धागोमा अनेक मोती उनिदै जान्छन्, मोतीको साथले धागो पनि मुल्यवान हुन्छ । सतही रुपमा हेर्दा लाग्छ, पुष्पाले सिएनएन हिरो अवार्ड जितिन् तर गहिरिएर हेर्दा त्यो अवार्ड पुष्पा जत्तिकै उनको पुतलीको घरमा बाँचेका प्रत्येक केटाकेटीले पनि जितेका हुन् । त्यसैले त अर्वाड हातमा लिएपछि पुष्पाले भनिन् –दिस इज फर माइ चिल्ड्रेन ।
लाग्छ, मान्छेले गर्ने जघन्य अपराधका पछाडी ठुलाठूला कारण मात्र हुन्छन् । हाम्रो स्वभाविक अनुमान ठीक यहीनेर गलत सावित हुन्छ । एक किलो मासु, एउटा लुंगी, केही साना लोभ, अझै भोक लागेको बेला खान नपाएको अण्डा । यहाँ अपराध गर्न, मान्छे मार्न बस् यस्तै साना कारण काफी छन् । यस्तै अपराधको सजाय भोगिरहेका बन्दीले कलिला नानीहरुको जीवनका तमाम सपनालाई समेत बन्दीगृहमा कैद गरिदिएका छन्, जसलाई आजाद गर्छिन् पुष्पा मामुले ।
पुष्पा बस्नेतको नायकत्वलाई किताबले स्थापित गरेको त देखिन्छ । यसका बाबजुद उनका कतिपय कमी कमजारी पनि छताछुल्ल पोखिएका छन् किताबभरि । डकुमेन्ट्री छायाङकनका क्रममा निन्द्राले आकुलव्याकुल भएका केटाकेटीको पहिलो पटक घर आएको भाव उर्तानका लागि उनीहरुलाई निदाउन समेत नदिइ भिडियो खिचिदाको प्रसंगले पुष्पा बस्नेत मानवीय हुँदाहुँदै पनि निर्मम लाग्छिन् । अघिल्लो जन्ममा मैले केटाकेटीहरुको के ऋण खाएकी रहिछु र अहिले यिनीहरुको सेवा गरिरहेछु भन्ने उनको कथनले उनी बढी नै रुढिवादी लाग्छिन् । समाजसेवाप्रतिको पुष्पाको प्यासन हेर्दा उनी नयाँ युग हाँक्न सक्ने आँटिली युवती लाग्छिन् । ठीक त्यहीबेला भूतप्रेत र पिचासप्रतिको उनको विश्वासलाई हेर्दा उनी परम्परागत् र अन्धविश्वासी चरित्रकी नमूना लाग्छिन् । एउटै ऐनामा देखिने उनको दुइटा रुप पत्याउन र पचाउन पाठकहरुलाई हम्मेहम्मे पर्छ ।
सन् २००५ मा सात हजार घरभाडा तिर्न हम्मे परेकी पुष्पाको पुस्तक पढदै जाँदा समाजसेवामा उनको आर्थिक छलाङ हजारबाट लाख हुँदै करोडौमा पुगेको देखिन्छ । समाजसेवाबाट शुरु भएको उनको कथाको अन्त्य कतै सम्पत्तीको मोहमा परेर अधिकांशले रोजेको दोहोरो चरित्रवाला संवेदनाको व्यापारमा पो टुंगिने हो कि भन्ने शंका पनि पाठकको मनमा उब्जन्छ ।
पुष्पाको जीवनका घटना र तथ्यहरु रोमान्चक छन् । तथ्य र कथ्यलाई सम्प्रेषण गर्न प्रयोग भएको भाषा काव्यिक छ । घनश्याम खड्कासँगको सहकार्यमा लेखिएको भनेर पुस्तकमा शुरुमै उल्लेख गरिएको पनि छ । पुष्पाको कथालाई घनश्यामका शब्दशिल्पले पाठक तानिराख्न मद्धत गरेको भएपनि पनि कतिपय ठाउँमा पुष्पाका कथाभन्दा घनश्यामको भावुकताहावी भँैदिदा पाठक दोधारमा पर्छ–पुष्पा बस्नेतलाइ पढिरहेको छु या घनश्याम खड्कालाइ भनेर !
यी सबका बाबजुद मेकअप बिना नै हिड्न रुचाउने पुष्पाको स्वभाव जस्तै छ उनको आत्मकथाको किताब पनि । उनले आफ्नो कथालाई टल्काएर प्रस्तुत गरेकी छैनन् । मपाइत्व र आडम्बरका डकारहरु छैनन् । पटकपटक हण्डर खादै लड्दै उठ्दाका तीतामीठा खस्रा भोगाइलाई तीतो, टर्रो अनि पिरो स्वादमै पस्केकी छिन् ।
देशको राजनीतिक अस्थिरता, बेरोजगारी र अव्यवस्थालाई दोष दिएर विदेश पलायन हुन खोज्ने र देशमा अवसर छैन भनेर चियापसलमा गफिने तमाम नेपाली युवाका लागि पुष्पाको जीवनकथा ठूलो प्रेरणाको स्रोत हो । आत्मकथाको नाममा आत्मप्रशंसा वा प्रशंसाको गुलियो मात्र रुचाउनेले पुतलीको घर नपढेकै बेस ! तीतो, टर्रो र पिरो स्वादको आत्मकथा पढ्न रुचाउनेका लागी चाहिँ गज्जबको खुराँक हो पुतलीको घर ।