Thursday, August 20, 2020

‘जात्रा’ हो, तर हाडी गाउँको जात्रा होइन

 



स्वतस्फूर्त शब्दहरुमा भावको बान्की लाग्यो भने त्यो कविता हुन्छ । तिनै शब्दहरु योजनाबद्ध  हिसाबले घुमाउरो बाटो बनाउँदै नीतिसँग लुकामारी गरे भने त्यो कुटनीति हुन्छ । त्यसोभए कुटनीति र कविता एउटै तख्तामा राख्यो भने चाँही के हुन्छ ? त्यसरी कुटनीति र कविता एकैसाथ अटाए भने त्यो जात्रा हुन्छ । त्यो अभयकुमार हुन्छ ।

त्यसो त अभयकुमार जागिरको शीलशीलामा नेपाल आए । नेपालका लागी भारतीय दुतावासमा लगभग ३ बर्षको साँस्कृतिक विभागको पदीय दायित्व एकातिर, अर्कोतिर दुतावासको घेरा नाघेर कहिले कता , कहिले कता विचरण गरिरहने यिनको काव्यिक हृदय । यसै क्रममा आफ्ना आँखामा परेका दृश्य, मनमा उठेका भाव , नेपाल सम्बन्धी अध्ययन र नेपालमा यिनको संगतीमा रहेका व्यक्तिले यिनलाई बुझाएको नेपालको परिचय–यस्तै यावत् कुराहरुलाई यिनले कविताका माध्यमबाट उतारे  अंग्रेजीमा र नाम दिए द एट आइड लर्ड अफ काठमाण्डौ । यही कृतिलाई लेखक तथा पत्रकार किशोर नेपालले नेपालीमा अनुवाद गरे र नाम दिए– जात्रा ।

एनीग्म्याटिक लभ, फलन लिभ्स अफ अटम, क्यान्डलिङ द लाइट, रिमेन्स र दि सिडक्सन अफ दिल्ली गरी ५ वटा कविता संग्रह पहिल्यै प्रकाशन गरिसकेका अभय कुमारको जात्रा छैटौं  कविता कृति हो । नेपाल यूनेस्को विश्व सम्पदा स्थल, जात्रा,  काठमाण्डौका विम्बहरुमा, काठमाण्डौ भित्र, काठमाण्डौ बाहिर भूचित्रहरु व्यक्तित्व, चरित्र चित्राङ्कन गरी कुल ८ खण्डमा उनका कविताहरुलाई पुस्तकमा विभाजन गरिएको छ ।   



नेपालका युनेस्को विश्व सम्पदा स्थल 

हालैको भुकम्पकले भग्नावशेषमा परिणत भएका कतिपय विश्वसम्पदा स्थल अभयका कवितामा भने जस्ताका तस्तै ठडीइरहेका छन् । टुँडाल, छानो, घण्ट र  भरयाङ अटाएका छन उनका कवितामा,  अटाएका छन जिब्रो छेडेर रक्ताम्य भएको भक्तपुर मैचाको जिउको हाकुपटासी, अनि लुम्बिनीका भिक्षुको गेरुवस्त्र । कुशल कलाकारले रंग भरेर तयार गरेकोे सुन्दर चित्रजस्ता छन् उनका कविता ।  उनका कवितामा पशुपतिनाथ देखी स्वयंभु सम्म बोलेका छन् । कालीगढता र संस्कृतिको व्याख्या मात्रै गरेका छैनन कविले बरु अध्यात्म र भौतिकताको भुमरी पनि देखाएका छन् । कुनै समय मृगस्वरुप भएर पार्वतीसँग क्रिडामग्न महादेव सुनौलो पशुपतिको चारदिवार भित्र कैद भएर रहँदा समेत भक्तहरुलाई आर्शिवाद दिइरहेका छन् । यी सम्पदाको खस्कँदो अवस्थाप्रति चिन्ता पनि व्यक्त गरेका छन् । आफ्ना घर र चोकको फोहरलाई बागमतीमा सेलाएर पशुपतिको ढोका ढक्ढकाउँदै अनि घण्ट बजाउँदै   आर्शिवादको याचना गर्नेहरुलाई के अझै पनि आर्शिवाद दिँदै होलान पशुपतिनाथ ? 



जात्रा

जागीरे क्रममा जात्रै जात्राको शहर काठमाण्डौमा धेरै समय विताएकाले होला काठमाण्डौमा प्रचलनमा रहेका बिस्केट जात्रा, गाईजात्रा, घोडेजात्रा, इन्द्रजात्रा, कुमारी जात्रा, रातो मच्छिन्द्रनाथको जात्रा र सेतो मच्छिन्द्रनाथको जात्रालाई पानाहरुमा उतारेका छन् । छेउमा उभिएर दर्शक भएर जात्रा हेर्नु अलग कुरा हो तर एउटा कविको आँखामा जात्रा भनेको उत्सब मात्रै होइन, त्यस पछाडिको कथा, उपकथा र पटकथा पनि हो । तिनै जात्रा संग सम्वन्धित किंवदन्तीलाई समेत सरल र संक्षेपिकरण गर्दै कवितामा प्रस्तुत गर्नु यस खण्डको मुख्य आर्कषण देखिन्छ । भैरव र भद्रकालीका प्रेममा सर्प मारिएपछि मनाउन थालिएको बिस्केट जात्रा होस वा टुँडी राक्षसको आतंकलाई भूलाउन मनाउन थालिएको घोडेजात्रा होस या जर्जर खडेरीमा पानीका लागि गरिने मच्छिन्द्रनाथको जात्रा,  कविले जात्राको रौनकताको मात्रै व्याख्या गरेका छैनन् हामीले धेरैले मनाउँदै आएको तर त्यसभित्र नखोजेको मिथकिय पाटोलाई पनि सामान्य पाठकका लागि प्रस्तुत गरेका छन् । यसै खण्डमा अटाएको उनको कविता दशै सुन्दर कवितात्मक निबन्ध जस्तो लाग्दछ जहाँ घटस्थापनामा जमरा रोप्दादेखी पूर्णिमाको दिनसम्मको रौनकलाई सरल र सटिक तबरले व्यक्त गरेका छन् । 


काठमाण्डौका विम्बहरु ÷काठमाण्डौ भित्र

काठमाण्डौ धेरैका लागि अजिब शहर हो । यो शहर छामेर र भोगेर व्याख्या गर्नेहरु प्रत्येकलाई सोध्ने हो भने केही दृष्टिविहिनहरुले हात्ति छामेर दिएको प्रतिक्रियाझै फरक फरक प्रतिक्रिया आउने निश्चित छ । यस खण्डमा अभयले काठमाण्डौ र यहाँको जीवनलाई खण्डखण्डमा उतारेका छन् । मञ्जुश्रीको तरबारका पौखरले स्थापित भानुभक्तको अमरावती आज कोलाहलमय कचौरा बनेकोमा कवि मन चिन्तीत बनेको छ । साँझ पर्नासाथ कुनै नव यौवनाझै खिलखिलाउने तथा हरेक विहान मस्त निद्रामा रहने ठमेलदेखि रंगीन दरबारमार्गको रंगलाई शब्दका कुचीले खेलाएका छन् । विस्तारै बृद्ध हुँदै पशुपतिको बृद्धाश्रममा शरणागत हुने र छेवैका पशुपतिको आर्यघाटमा ब्रम्हलिन हुँदै गरेका काठमाण्डौलाई पनि उतारेका छन् । परिवारको मुहारमा केही थान खुसीका रेखा कोर्न अमुल्य जवानी दुर देशमा खर्चन गएका युवा अनि चिर निन्द्रामा काठका चिसा बाकसमा फर्कदै गर्दा चुपचाप चुपचाप मौन आँशु बहाउँदै प्रार्थनामा जुटिरहेको  त्रिभुवन विमानस्थल–यी सबका पीडा पोखिएका छन् । उसो त परोपकारका नाममा प्रचारमुखी बन्दै गएको मान्छेलाई पनि पशुपति बृद्धाश्रमले राम्रै व्यंग्य गरेको छ –

कुनै परोपकारी छिर्छ कहिलेकाँही

बृद्ध र बृद्धालाई चारो छरेर तस्बिर खिचाउन

वितरण गर्छ कम्बल सस्तो प्रचार पाउन

जीवनको अन्तिम र अनन्त सत्य हो मृत्यु तर पनि कोही यस्तो मान्छे छैन जो हिँडेरै आर्यघाट आओस् । भनिन्छ धर्तीमा मान्छे एक्लै आउँछ र एक्लै जान्छ तर दुई जना नभइ कोही आउँदैन र चारजना नभइ कोही जाँदैन । आफन्तले मोक्ष प्राप्ती गर्दा आल्हादित हुनुपर्नेमा उनकै आफन्तहरु आर्यघाट वरपर विलाप गरिरहेकोमा आर्यघाट आफै आश्चर्यचकित भेटिन्छ । काठमाडौं भनेको एक र अनेक अर्थमा आर्यघाटको डबली पनि हो । जेलिएको काठमाण्डौलाई कविले यस खण्डमा सरल, सहज र बोधगम्य ढङ्गले चिन्तन सहित प्रस्तुत गरेका छन् । 


काठमाण्डौबाहिर

मनको विमान चढेर कवि चितवन, धुलिखेल अनि नगरकोट देखी पोखरासम्मको सयर गर्दछन् ।  चितवन, पोखरा र मुस्ताङको प्रकृति र प्रकृतिप्रेम प्रतिको अनुराग मात्रै होइन, धुलिखेल र नगरकोटमा प्रेमलिन जोडी पनि कविको आँखाबाट छुटेका छैनन । राप्ती नदीको लयमा तैरिरहेका गोहीहरु एकोहोरो हेरेर निस्केपछि देबी मनकामनाको दर्शन गरेर एकैछिनमा सन्ध्याकालिन सिन्दुरे रंगमा टल्किरहेको माछापुच्छेको सयर गर्दै याक गोठालाको पछि लाग्दै जाँदा हिमालपारीको गाउँ मुस्ताङ कतिबेला पुगिन्छ पत्तै हुँदैन । अनि छिनमै लम्किइरहेका हात्तिसंगै बर्दियाका लागि निक्लेका पाठकहरु इटै इटाका नेवारी घरहरुविचबाट शान्त बगिरहेको मस्र्याङदीलाई नियाल्दै बन्दिपुरको सिद्धगुफ पुगेपछि पो सुस्ताउँछन र निस्कन्छन हुस्सुले ढाकीएको भेडेटारको टावरमा आफ्नो थकान मेटाउन कविसँगै । 


भूचित्रहरु

फेवाको शरिरमा फैलिएको जलकुम्भी र आत्मा धमिल्याउने हर्पनको बाढी सायद देखेका थिएनन कविले । त्यसैले त माछापुच्छेको फेवाप्रतिको आशक्ति अनि प्रेम छताछुल्ल पोखिएको छ यस खण्डको कवितामा ।  फेवामा अंकमाल गर्न आतुर माछापुच्छेको प्रेमील अनुरोध शान्त भावमा मौन तरंगहरुमा तरंगीत भइरहेछ यिनको कवितासँगै । आरोहणको खुसी र उन्माद  मात्रै होइन, मृत्यूको चिसो संभावना पनि उत्तिकै छ प्रत्येक सगरमाथा आरोहीसँग । चमकदार हिरा जडित स्वेत आकृतिले लोभ्याएर आफूमाथि विजय प्राप्त गर्र्न आउनेहरुलाई चुपचाप आलिंगनमा बाँध्ने मृत्यूकी देवी बनेकी छन् सगरमाथा । प्रत्येक बोट, बुट्यान, चरन र खोचमा एउटा प्रेमीभैm विलिन भएर पर्वतसँग एकाकार हुन खोजिरहेछ कवि मन पर्वत कविता मार्फत । बर्षौ देखी काकाकुल काठमाण्डौ बासिलाई अझ प्यासी बनाउदै मात्र कागजी फाइलहरुमा बगिरहेको मेलम्चीले प्यास अझ बढाएको छ अनि सपना सपना नै हुन् भन्ने आभाष दिइरहेछ । 


व्यक्तित्वहरु

संगीत दर्शन, कला अनि साहित्यका शिखर पुरुषहरुमाथि कलम चलाइएको यो खण्डमा कविले सिद्धार्थ, भानुभक्त, देबकोटा विपी, नारायणगोपाल अनि अरनिकोलाई कवितामा उभ्याएका छन् । सिद्धार्थ भन्ने वित्तिकै अक्सर उनका ज्ञान र भावका कुरा गर्नेहरुभन्दा फरक विचार प्रस्तुत गर्दै सिद्धाथलाई नै आफ्ना कदमको पूर्नमुल्याकन गर्न लगाएका छन् । प्रेमको लागि छटपटाइरहेकी श्रीमती र काखे छोरालाई रातको अन्धकारमा छोडेर आत्मबोधिका लागि निस्कने सिद्धार्थलाई अमानवीय र निर्दयी करार दिएका छन् । कलात्मक बायोग्राफी जस्ता लाग्ने उनका कवितामा जीवनभर कर्णप्रिय संगीत र गीत दिएर मरणोपरान्त चोकमा शालिक बनेर गाडीको कर्कश हर्न सुन्न बाध्य नारायण गोपाल पीडा पोखिरहेका भेटिन्छन् । 


चरित्र चित्राङ्कन

कुनै अन्वेषकले गरेको सुक्ष्म अन्वेषणझै कुमारीको आभाको सुन्दर बर्णनबाट सुरु भएको यो खण्डमा मानविय स्वभाव र चरित्रको पोष्र्टमार्टम गर्ने कवि सफल देखिन्छन । फरक फरक रंगका टुक्रा जोडेर तयार गरिएको सुन्दर कोलाज जस्तो लाग्ने यस खण्डमा डान्सबारमा मदमस्त भएर जवानी ओछ्याउने डान्सबारकी केटीका मात्रै होइन, रजस्वला अघि देवी बनेर पुजिएकी र रजस्वला पछि एकाएक उपेक्षित बनेर न देवता बन्न सकेकी र न मान्छे भनिन रुचाइएकी कुमारीको पीडा पनि पोखिएको छ । देशमै उपेक्षित र बेकामे भएको युवा ऋण काढेर विदेशिन्छ अनि विदेशी भूमिमा निस्सासिएर सपनामा आफनै गाउँमा खेत जोतेको र मेलापात गरेको कल्पन्छ । जब जाग्छ फेरी अर्का अन्त्यहीन भुमरीमा आफूलाई पाएर सुकुनको खोजीमा दशौ तल्लाबाट हामफालेर फर्कन्छ,  प्लाइउडको कफिनमा आफनै गाउँमा शान्तसँग । 

खोला तरेर लौरो विर्सने मान्छे नै त हो  । होइन भने सगरमाथा विजयका अनेकौ कथाहरु प्रतिध्वनीत भैरहँदा कही कतै यात्राको अडिग सहयात्री त्यो शेर्पा पनि त देखिदो हो, बोलिदो हो र लेखिदो हो । एउटा उपेक्षित शेर्पा जात्राको अन्तिम पृष्ठमा निराश भएर सोधिरहेछ–


म सगरमाथा चढने पहिलो वीर

तिमिलाई विजयपथ देखाउँदै

मैले तिम्रा लागि खाना पकाएँ 

तिमीलाई हिउँले टोक्दा 

तिमी बिरामी पर्दा

तिम्रो स्यहार गरे

बदलामा मैले पाएँ

उपेक्षा, अपमान र केही नगद


आवाजहरुको कर्कशता धेरै  

किताबले विभिन्न ठाउँका फरकफरक परिवेश र घटना, दुर्घटनाहरुसँग हाम्रो जम्काभेट गराइदिन्छ । प्रकृति र संस्कृति मात्रै होइन, प्रणय, पिडा र असन्तुष्टिहरुको दस्तावेज पनि हुन यी कविताहरु । उनका कवितामा प्रकृति बोल्छ । मुर्ति मन्दिर गुम्बा र सम्पदा बोल्छ ।  युगौ देखी मौन रहेका वा  मौन तुल्याइएका सम्पदा, शक्ति वा व्यक्तिको माउथपिस बनेर उभिएका  पशुपतिनाथ, भक्तपुर, आर्यघाट, बबरमहल, बन्दिपुर, माछापुच्छे नारायण गोपाल, अरनिको शेर्पा सबैसबै बोल्छन् जात्राका कविताहरुमा । सरल, सहज र स्वतस्फूत देखिनने अभयका कवितामा सम्पूर्ण देश अटाएको छ । कुमारी देखी डान्सबार सम्म, मुस्ताङ देखी जनकपुर सम्म अनि इमागो डे देखी बन्दीपुरे चिया पसल सम्मको यो रंगीन कोलाजमा कुटनितीज्ञ अभय कुमारको छाँया भने अत्यन्तै कम परेको छ । 


किट्सले भनेका छन्– Heard melodies are sweet but those unheard are sweeter.  यहाँनेर नसुनिएको धून अर्थात मौनताको सौन्दर्य गज्जब लाग्छ । रमण महर्षिले अभ्यास गरेको मौनताको तिख्खरपनलाई यदाकदा कविहरुले पनि स्वाद मानीमानी अंगिकार गरेको देखिन्छ । शब्दशब्द बोल्छन् अभयका कविताहरुमा । यति आवाज निकालेर बोल्छन् कि त्यो आवाजको कर्कशता सुनेर कान थुन्न समेत बाध्य हुन्छ पाठक धेरैपटक । शब्दहरुलाई अलि कम बोल्न दिएर भावलाई बढी बोल्न दिएको भए यिनका कविता फितलो हुनबाट जोगिन्थे पक्कै ! आफूले टिपेका सबै मिथकहरुलाई बोल्न लगाउदा गन्ज्याङगुन्जुङ आवाजहरुको कोलाज लाग्छन् यिनका कविताहरु । जीवनका सत्यहरु जस्तै कविताका कतिपय सत्यहरुले मौनता, केवल मौनता माग गर्छन् भन्ने कुरा नै बिर्सेका छन् यिनले । यस अर्थमा छुटाउनै नहुने सन्नाटामय मिठास पंक्तिहरु छुटेका छन् यिनका कविताबाट ।


कविताका कच्चा पदार्थको थुप्रो 

अभयका कविताको सुन्दर पक्ष नै उनका कविताका सीमा पनि हुन् । कविता छोटा सरल र सहस त छन तर कुनै कुनै कविता त यति छोटा छन कि ती सुरु हुन नपाई सकिन्छन् । शिल्प र भाव विस्तारै बुन्दै जाँदा अब यहाँ सुन्दर कुरा घटित हुन्छ भन्ने लागेको बेला कविता सकिएको हुन्छ । केही कविताहरु जवरजस्ती कविताकै लागि मात्र उभ्याइए झै देखिन्छन । पोखरा , चुरे जस्ता स्थान विशेषका केही कविताहरुमा बिम्वको प्रयोग सटिक र स्पष्ट हुन नसक्दा कविताले सौन्र्दय गुमाएका छन् । कतिपय कविताहरु कविता कम निबन्धमा लाईन ब्रेक गरेर जबरजस्ती तयार गरिएको झै बनावटी लाग्दछन् । कविताको प्रयोगशालामा एक यिनका कविताहरुलाई राखेर हेर्दा यी कविता कम, कविताका कच्चा पदार्थ बढी लाग्छन् । यस अर्थमा अभय कुमार कविताका कच्चा पदार्थका रहरलाग्दा संकलनकर्ता भएकोमा कसैको दुईमत हुन सक्दैन ।

‘जात्रा’ हो, तर हाडी गाउँको जात्रा होइन

प्रत्येक जात्रा आफैमा एउटा चित्रात्मक कथा हो । जात्रासँग जोडिएर आउने मिथकीय पृष्ठभूमि आफैमा भव्य चित्रभन्दा कम हुँदैन । जात्रा कविता संग्रहमा त झन् प्रत्येक पानापिच्छे जसो भेटिने इटालियन कलाकार तार्शितोका चित्रले कवितालाई अझ गज्जबको सजिब तुल्याएका छन् । 


आफ्नो छोटो बसाइको क्रममा आफनो जागिरे व्यस्तताका बाबजुद नेपालको भूगोल, कला,संस्कृति र सभ्यताप्रतिको चासो र तिनको बान्कीपूर्ण प्रस्तुतीका लागि भने अभय कुमारलाई जति धन्यवाद दिएपनि कम नै हुन्छ । 


उखानै छ –कही नभएको जात्रा हाँडी गाउँमा भन्ने । टुँडालदेवीको खटलाई गहना पोखरीमा विसर्जन गरिसकेपछि गहना पोखरीभित्र गहना खोज्न जुन तछाडमछाड हुन्छ , त्यसैले हो हाँडीको गाउँको जात्रालाई हाँडी गाउँको जात्रा बनाएको । अभय कुमारको जात्रा पनि जात्रा नै हो, तर हाँडी गाउँको जात्रा होइन । यो कवितात्मक जात्रा हो । कवितात्मक जात्रामा गाईजात्रा, घोडेजात्रा, कुमारी जात्रा, बिस्केट जात्रा जस्ता जात्रा मात्र मनाउने होइन कि काठमाडौंभित्र र काठमाडौं बाहिरका अधिकांश धार्मिक र पर्यटकीय स्थलहरुको शाब्दिक परिभ्रमण गर्न सक्छन् पाठकहरुले । राष्ट्रिय विभूतिहरुलाई सलाम ठोक्दै साधुको खरानी पोतिएको शरीरदेखि डान्सबारकी केटीको चालु आलिंगन र मदमस्त कायाको साविती बयान समेत दिन्छन् यिनका कविताहरुले । जात्रा कविता संग्रहभित्र के–के अटाएका छन् भनेर सोध्दै नसोध्नुस् , बरु सोध्नुस् के के नै पो अटाएका छैनन् भनेर ! श्वेतवस्त्रधारी हिमालय पर्वतदेखि चुरे प्रदेशसम्म , लाँकुरी भन्ज्याङदेखि शिवपुरी डाँडासम्म , भानुभक्तदेखि बीपीसम्म, स्वप्न बगैचादेखि हरित खोंचसम्म । नेपाल सम्बन्धी आफ्नो जति सामान्य ज्ञान छ, त्यो सबैलाई कविताको माध्यमले खिच्न कहीकतै कसर नै बाँकी राखेका छैनन् कविले । यो सब हाडी गाउँको जात्रामा कहाँ सम्भव हुनु , सिवाय अभय कुमारको ‘जात्रा’मा !


निःसन्देह, सिंगो जात्रा किताबभित्र अभय कुमारले कविताको बोली कम, संस्कृतिको भाषा बढी बोलेका छन् । यसर्थ जात्रा भित्रका अभयका कविताहरु पढेपछि कसैले प्याच्च सोध्न सक्छ–नेपालका जात्रा, चाडपर्व, संस्कृति र ठाउँहरुको परिचय दिने कुनै परिचयात्मक किताब पढे भैहाल्यो नि, किन अभय कुमारको ‘जात्रा’ पढ्नु पर्यो ? कविता लेख्नकै लागि कुनै एउटा बिम्ब समातेर त्यसलाई तन्काएर पाठकहरुलाई गर्न सम्म बोर गरेको आरोप पनि लाग्न सक्छ उनलाई ।

यहाँनेर नागरिकतामा देश भारत लेखेर कविता संग्रहमा नेपालका सांस्कृति, भौगोलक बान्कीहरुलाई पस्कन कसैले गरेको प्रयासलाई नजरअन्दाज गर्नै सकिन्न । त्यसो त भारत र नेपालका कतिपय चाडपर्व र संस्कृतिका बीचमा धेरै समानताहरु रहेको पाइन्छ । नेपालकै एक कविले नेपालका जात्राहरुलाई थिम बनाएर लेखेको भए त्यो सामान्य लाग्थ्यो , तर भारतका एक कविले नेपालका जात्राहरुलाई थिम बनाएर कविता लेख्नु आफैमा जटिल र रोचक लाग्छ । यो जटिल , तर रोचक साहसका निम्ति पनि अभय कुमार प्रशंसाका पात्र छन् । जात्रामा उनको प्रशस्त अध्ययन देखिन्छ, अनुभव देखिन्छ , कल्पनाशिलता र दर्शन पनि देखिन्छ । 

जात्रा कविता संग्रहभित्रका कविताहरु सरसर्ती पढौं वा गहिरिएर , काव्यिक चेतना , काव्यिक स्पर्श र काव्यिक टिकाउपनको अभाव जो कोहीलाई पनि खड्किन्छ । सत्य हो, अभयका कविताहरु साहित्यीक हिसाबले उति महत्वपूर्ण लाग्दैनन् , तर साँस्कृतीक, धार्मीक तथा पर्यटकीय हिसाबले उनका कविताहरुले कोरेको स्केच तारीफयोग्य छ र सधैं रहिरहनेछ ।



0 comments:

Post a Comment