Monday, November 6, 2017

भुइँमान्छेका उच्छवास

उपेन्द्र पौडेल शनिवार, कात्तिक ११, २०७४ 
हिजोआज समाज ब्रेकिङ न्युजमा विश्वास गर्छ । सनसनीपूर्ण खबर र तातेको राजनीतिक बहस छेड्नु, सामाजिक सञ्जालमा भाइरल हुने स्ट्याटस पोस्ट गरेर आफ्ना फ्यान फलोइङ गन्नु वा हनिप्रीत र रामरहिमको सम्बन्धको आयाम केलाउनुमा जति मजा छ, अरूमा कमै मज्जा भेट्टाउँछ समाज । चिया पसलमा बसेर वाम एकताको विश्लेषण वा कुन सेलिब्रेटीले लगाउने भित्री वस्त्रको मूल्य कति भन्ने कुनै पत्रिकामा छापिएको लेख लुकीलुकी पढ्नुजस्ता आनन्द छोडेर भुइँमान्छेका कथा र व्यथाले नदुखेको टाउको दुखाउने फुर्सद कमैलाई छ यहाँ ।
यस्तो माहोलमा पनि कोही छन्, जो दुख्याहा जीवनको कथा लगातार सुनिबस्छन् र त्यसलाई लिपिबद्ध गर्ने हिम्मत देखाउँछन् । लामो समयदेखि पत्रकारितामार्फत राजनीति, कला, साहित्य, सिनेमा र अन्य विविध विषयमा खुद्रा लेखन गरिरहेका यज्ञश यसअघि ‘मोहनदास’ र ‘नेलकटर’जस्ता किताबमार्फत अनुवादक अवतारमा देखिए । यहाँ चर्चा गर्न लागिएको किताब ‘भुइयाँ’ उनको पहिलो मौलिक किताब हो ।
पूर्वीदेखि पश्चिम तराई र केही भित्री मधेसका भूमिहीनहरूको संघर्ष, आन्दोलन र दुःखको फेहरिस्त प्रस्तुत गर्दै लेखकले लामो समयदेखि चलेको कमैया आन्दोलन, सुकुमबासी आन्दोलन, भूमि आन्दोलन, समाजमा व्याप्त अन्याय र सामन्ती शासकहरूको सचित्र वर्णन गरेका छन् भुइयाँमा ।
सिनेमाको केस्राकेस्रा केलाएर समीक्षा गर्ने यज्ञशले यसपटक सिनेमाका नायकनायिकाको होइन, वास्तविक जीवनका नायिकाहरूका कथा बुनेका छन् ।
किताब सर्सर्ती पढ्दा सलमा बेहेना, पार्वती राजी, पार्वती डगौरा, दुर्गा, तारा विक, गंगामाया बानियाँ, नेप्लु माझी, सावित्री थारू, चन्देश्वरी सदा र पुतली तामाङ गरी १० जना प्रमुख नारी पात्र तथा बलदेव राम र चुके चौधरीलगायत केही सहायक पुरुष पात्रकोे वहको वर्णनजस्तो लाग्छ । यद्यपि समग्रमा उनीहरूको कथामार्फत उनीहरूले बाँचेको समाज, त्यसभित्रका व्यथा र विभेदको मिहिन चित्रण हो यो किताब । किताब मधेसमा दुःखका सागरमा पौडिरहेका आममानिसलाई हेर्ने झ्याल हो भन्दा अत्युक्ति नहोला ।
नेपालगन्जको बनघुस्रा गाउँकी सलमा बेहेनाको घरमा रहेको सात क्विन्टल धानको कथाबाट किताब सुरु हुन्छ । माओवादी ‘जनयुद्ध’सँगै गाउँमा आएको परिवर्तन र डरबिच बटैयामा काम गर्ने मुस्लिम समुदायकी एउटी नारीले कसरी दृढ निश्चयी भएर जमिनदारको हुकुमतविरुद्ध विद्रोह गरिन् र सलमालाई कसरी यसले भूमि आन्दोलनको अगुवा बनायो भन्ने फेहरिस्त छ पहिलो अध्याय- ‘तातो कराहीमा ।’ जसैजसै अन्य पात्र र तिनका कथा अगाडि बढदै जान्छन्, पाठकले बुझ्छन्— नाम फरक होला, ठाउँ फरक होला, यिनीहरूसँग जग्गाको लालपुर्जा नहोला तर सबैतिरका सोझा, निमुखा र विपन्नसँग पुर्खैाली सम्पत्तिका रूपमा बिघाका बिघा दुःखको लालपुर्जा भने छ ।
चट् प्रेम झट् ब्रेकअपमा रम्ने सहरिया युवा पुस्ताका लागि मछेलीकी पूर्व-कमलरी पार्वती डगौरा र मुक्त कमैया चुके चौधरीको प्रेम ‘एकादेशको कथा’ लाग्न सक्छन् । पूर्वलोग्नेबाट प्रताडित पार्वतीले चुकेसँग प्रेम गरेकै कारण समाजमा कालोमोसो दलिएर निर्वस्त्र हुनुपर्ने घटना एक्काइसांै शताब्दीका हाम्रै समाजकोे घटना हो । खासमा यो घटनाभन्दा पनि हाम्रो समाजको कथित मर्यादाको दायरामा पवित्र प्रेम अझै पनि कति बदनाम छ भन्ने सत्यको तीतो उदाहरण हो ।
किताबभरि हामी भेट्छौं यस्तै पात्र, पात्रसँग जोडिएका अनेकौं परिवेश र घटना । दूरदराजका यस्ता घटना र शृंखला कहीँ साह्रै अपत्यारिला लाग्छन् र कहीँ साह्रै अत्यासलाग्दा पनि । भुइँमान्छेहरूका उच्छ्वास पढिरहँदा पीडाले घरिघरि आफ्नै श्वास अड्केजस्तो हुन्छ ।
भूमिहीनहरूले बेलाबेलामा गरेका आन्दोलन र सहमतिका नाममा गरिएका धोका देख्दा लाग्छ, यो देशमा सरकार भन्ने जिनिस नै छैन । उनीहरूसँग जग्गाको हक दिलाउनका लागि पटकपटक भएको सम्झौता र सहमति मन्त्रालयको कुन कुनामा, कुन फाइलमा अड्केर बसेका छन् र ती फाइलभित्र आफूले कति हजार जनाको जीवन, सपना र भविष्यलाई अँठ्याएर राखेको छु भन्ने सरकारलाई त परको कुरा, त्यही फाइललाई समेत थाहा नहोला ।
सरकार भनेको शक्तिमात्रै होइन, आशा र भरोसा पनि हो । जब सरकारसँगको कुनै भरोसा बाँकी रहँदैन, अलिकति आफ्ना कुरा सुनिदिने पत्रकार भेट्दा पनि खुरखुरेकी महिलाले आफूलाई जंगलबाट कुनै सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिनुपर्‍यो भनेर बिन्ती बिसाउँछन् । योभन्दा चर्को अर्को ठट्टा कुनै हुन सक्ला र ?
सबैका जीवनकथामा आँखा डुलाएपछि लाग्छ, भुइयाँ जीवनभर दौडिरहने मान्छेका कथा हुन्, जो स्वस्थ हुनका लागि वा जीउ छरितो बनाउन दौडिरहेका छैनन्, बरु ती त दौडिरहेका छन् हिंस्रक सिकारी कुकुरझैं लघारिरहने प्रकृति, सरकार, जमिनदार र मालिकहरूबाट बच्नका लागि । पहाडमा पहिरोले लखेट्यो । तराईमा बाढीले लखेट्दैछ । यी दुवैबाट नछोएकाहरूलाई जमिनदार र सरकारले लखेट्दैछ । यसबाट पनि कोही बचेका छन् भने तिनलाई पनि गरिबी, अभाव र भोकले लखेटिरहेको छ र यो दौड श्वासको समाप्तिसँगै समाप्त हुनेछ ।
दुखियाका दुःखका कारण परचक्री मात्रै हुँदैनन्, आफ्नै सोचिएका र भनिएका आफन्त र नातेदारहरूले पनि निरीहलाई कहिले जबर्जस्ती र कहिले फकाई फकाई निरन्तर लुटिरहेका छन् । किताबका अधिकांश नारी पात्र पुरुषबाट विभिन्न बहानामा प्रताडित छन् । चुके चौधरीजस्ता केही अपवादलाई छोड्ने हो भने आफ्नै घरमा पुरुष पात्रबाट शंका, कुटपिट, बहुविवाह र बेचबिखनको मारमा परेका किताबका धेरैजसो पात्रले आफ्ना कथामात्रै बोलेका छैनन्, यो भेगकै कथा कहेका छन् ।
माओले ‘क्रान्ति बन्दुकको नालबाट सुरु हुन्छ’ भने तर भुइयाँले भन्छ- क्रान्ति सधैं बन्दुकको नालबाट मात्रै होइन; कहिले कुटो, कोदाली र हलोबाट, कहिले निवेदनबाट र कहिले प्रेमबाट पनि सुरु हुन्छ । किताबका कयौं पात्रले सामान्य जीवन बाँच्नका लागि अजबको क्रान्ति गरेका छन् र बनेका छन् पूरै समुदायका नेता तथा मुक्तिदाता ।र पनि ती अझै पिल्सिइरहेका छन् । भूमि आन्दोलनको नेतृत्व तहमै पुगेकाले त यो प्रताडना र विभेद भोग्नु परेको छ भने त्यहीँभित्रका सामान्य मानिसको हालत के होला ? सम्झँदै कहाली लाग्छ ।
भुइयाँ भुइँमान्छेहरूको अघोर साहसको कथा पनि हो । साहू र जमिनदार चट्टान हुन् भन्ने जान्दाजान्दै पनि निरीह अवस्थामा रहेका महिलाले उनीहरूसँग सिँगौरी खेल्नु सानो साहसले हुँदैन । हक प्राप्तिको आन्दोलन लामो समय उपलब्धिमूलक नहुँदा पनि अनवरत लडिरहने भूमिहीनहरू हुन् वा पढ्न नपाएको झोकमा १० वर्षको उमेरमा एक्लै काठमाडांै हानिएकी गंगामाया बानियाँ, असमान र अमेल विवाहका विरुद्ध लडिरहने पात्रहरू हुन् वा आफ्ना हकका लागि ‘हल्ला-बोल’ गर्ने सावित्री चौधरी र सुलो सदा हुन्, जस्तै दुःख र कष्टमा पनि यी कसैले हिम्मत हारेका छैनन् पट्यारलाग्दो लामो जीवन-संघर्षसँग ।
भूमि आन्दोलनको विषय राजनीतिक भएकाले राजनीतिक दलहरूप्रति त्यस क्षेत्रका बासिन्दाको वितृष्णा पनि ठाउँठाउँमा किताबमा पढ्न पाइन्छ । अझ विशेषत:१० वर्षे माओवादी आन्दोलनले स्थानीय महिला र पिछडिएका वर्गमा आएको चेतना र परिवर्तनको मनग्गे छाप पनि छ किताबमा । तर, अर्कोतिर पिछडिएका वर्गको मुक्ति र रक्षकका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेको माओवादीउपर थुप्रै पात्रले रोष प्रकट गरेका छन् ।
भूमिहीनहरू हुन् वा सिनो बहिष्कार आन्दोलनका अगुवा बलदेव राम हुन्, यिनीहरू माओवादीसँग गुनासो गरिहन्छन् किताबभरि नै । गाली त्यसैलाई गरिन्छ, जब कसैसँग आशा गरिन्छ र त्यो पूरा हुँदैन । आफ्नो आन्दोलनको सुरुमा श्रमजीवीको पक्षमा नारा लगाउने र कालान्तरमा अर्को शक्तिसँग मिलेर श्रमजीवीकै दोहोलो काढ्ने माओवादी दोगलापनको कथा धेरै पात्रले व्यक्त गरेका छन् र यी धेरैको समान कथाजस्ता लाग्छन् ।
विषयवस्तुका अलावा किताबको अर्को असाध्यै सुन्दर पक्ष यसको भाषा हो । गैरआख्यान भईकन पनि कुनै सुन्दर आख्यान पढेझैं तानिरहन्छ किताबले । कहीँ कतै सुन्दर कथा पढेझैं, कहीँ कतै बेजोड निबन्ध पढेझैं, कहीँ कतै कविता पढेझैं लागिरहन्छ । पात्रका बीचमा लेखक बोल्दा कुनै कथाको न्यारेटरले घटना र परिवेश जोड्नका लागि बुनेको सुन्दर तानझैं लाग्छ । झिनामसिना घटनालाई पनि असामान्य तवरले प्रस्तुत गर्नु लेखकको खासियत हो ।
सिनेमाको राम्रो अध्यता भएकाले पनि हुनुपर्छ, पढिरहँदा दिमागमा एउटा फ्रेम तयार हुन्छ । लाग्छ, पात्रहरू लेखकसँग होइनन्, हाम्रै छेउमा बसेर बोलिरहेका र रोइरहेका छन् अनि गोजीको रुमाल झिकेर दिनुभयो भने तिनै रुमालले तिनले आफ्ना सजल आँखा पुस्छन्झैं गरी सजीव वर्णन भेटिन्छ ।
अंग्रेजीका दुई शब्द ‘सिम्प्याथी’ र ‘इम्प्याथी’ सुन्दा उस्तै लागे पनि यी शब्दहरूको भावनात्मक अर्थचाहिँ अलि फरक छ ।
अर्काको दुःख बुझ्नु, चासो देखाउनु र चिन्ता व्यक्त गर्नु सहानुभूति वा सिम्प्याथी हो भने अरूको दुःखमा आफैं दुख्नु र छटपटाउनु इम्प्याथी अर्थात् समानुभूति । दुःखीका कथा लेखिएकै कारण यज्ञशको भुइयाँ पठनीय भएको होइन; यो त दुःख खाएर, लगाएर दःखको विस्तारामा दुखै ओढेर निदाउन खोज्दासमेत दुःखले नछोड्ने दुःखीहरूका आवाज संवेदनाको भित्री तहसम्म छोइएर कलमबाट छचल्किएको हुनाले पढ्नैपर्ने भएको हो ।
अनपढ र देहाती पात्रले बोल्ने संवादमा स्थानीय लवज र आद्रता नभेट्दा भने संवाद कहीँकहीँ अलि अपाच्य लाग्छ । भुइयाँहरूको संवाद उनीहरूको ज्ञान, चेतना र स्तरभन्दा एकदम माथिल्लो र परिस्कृत सुनिन्छ । कुनै विश्वविद्यालयको प्रोफेसरले बोल्ने भाषाजस्तो माझिएको भाषा किन छ भुइँमान्छेहरूको संवादको भाषा ? यहाँनेर यज्ञशले अलि कम मेहनत गरेको प्रस्ट देखिन्छ ।
अक्सर देखिन्छ— जब पत्रकारको कुनै किताब निस्कन्छ, लेखक हुने रहरमा न पत्रकार नै बन्न सकेको, न लेखक नै बन्न सकेको अधकल्चो अवतारमा देखिन्छ । पत्रकारिता व्यक्तित्व उसको लेखक व्यक्तित्वमाथि यति हावी हुन्छ कि उसले लेखेका कथाहरू पनि कुनै सपाट टिपोट वा वर्णनजस्ता लाग्छन् । यस मानेमा यज्ञश अत्यन्त सफल लेखकका रूपमा दरिएका छन् । पत्रकार यज्ञशलाई पूरै भुलेर जोकोहीले ‘भुइयाँ’ पढोस्, अहिलेका चलेका उत्कृष्ट केही लेखकहरूको पंक्तिमा उनलाई उभ्याउँदा कसैले आपत्ति जनाउला भन्नै पर्दैन ।
सचिन योगल श्रेष्ठको सुन्दर आवरणसहितको हार्ड कभर किताबलाई प्रतिपेज दुई रुपैयाँ पर्दा अलि महँगो लागे पनि १९० पेजमा फैलिएको भुइँमान्छेका कहानी भने अनमोल छन् ।सर्वाल्टन साहित्यको अब्बल नमुना हो- भुइयाँ । विद्रोह, रिस, आवेग, दुःख, पीडा, हुटहुटी, आशा अनि साहसको एकीकृत प्याकेज हो- भुइयाँ । सुललीत भाषा, संवेदनायुक्त विषय र सुन्दर व्याख्याले गर्दा ‘भुइयाँ’ले थुप्रै पाठकको मन जितिरहेको छ र जित्नेछ । तर, सरकारमा बसिरहेका जोकसैलाई ‘भुइयाँ’ मन नपर्न सक्छ । किनभने यो सरकारी कर्मचारी र सरकारसँगको गुनासोको प्याकेज हो । भूमिहीनमाथि भइरहेको बेवास्ता, सरकारी अकर्मण्यता र लाचारीको दस्तावेज हो किताब ।
लेखक :यज्ञश
प्रकाशक :फाइन प्रिन्ट
पृष्ठ :१९०
मूल्य :३८८
http://annapurnapost.com/news-details/82897#sthash.BbAlAUoH.gbpl 

0 comments:

Post a Comment