Monday, November 6, 2017

कोहेलो केमेस्ट्री


पाउलो भन्छन्, ‘जिन्दगीको रहस्य सातौंपटक लडेर आठौंपटक उठ्नु हो ।’ जिन्दगीप्रतिको पाउलोको यही विश्वासले मलाई पटकपटक उनलाई पढ्न र पढिरहन प्रेरित गर्छ । पाउलोलाई पढिरहँदा जिन्दगीप्रतिको आस्था ह्वात्तै बढेर आउँछ । चिहानमा गाडिसकेका सपनाहरूसमेत अचानक बौरिएर आउँछन् र सपनाहरूमा प्राण भर्ने जाँगर पलाएर आउँछ ।
मान्छेभित्रका अनेकन ‘मान्छेहरू’लाई सरल शब्दमा उनी यसरी केस्राकेस्रा केलाउँछन्, तिनका कथाहरूमा हामी आफ्नै कथा भेट्न पुग्छौं । तिनका सुस्केरा र थकानमा हामी आफ्नै सुस्केरा र थकान भेट्न पुग्छौं ।
बच्चाहरूलाई सुनाइने कथा अक्सर ‘एकादेशको कथा’बाट सुरु हुन्छ । पाउलोको कथाचेत अलि बेग्लै छ । ‘इलेभेन मिनेट्स’ उपन्यासको सुरुआतमै उनी भन्छन्, ‘एकादेशमा एउटी मारिया नामक वेश्या थिई । एकैछिन पर्खनुहोस्, एकादेशमा शब्द सुन्दर बालकथाहरूका लागि प्रयोग गरिने शब्द हो र वेश्या वयष्कहरूका लागि प्रयोग गरिने शब्द हो । म कसरी यसरी विरोधाभाषपूर्वक पुस्तकको सुरुआत गर्न सक्छु ? तर, जीवनको प्रत्येक क्षणमा हाम्रो एउटा पाउ परिकथामा र अर्का पाउ पातालमा हुन्छ त्यसैले कथाको सुरुआत यहीँबाट गरौं ।’
कथाको सुरुआत र अन्त्य गर्ने उनको आफ्नै मायावी शैली छ । यही शैलीका कारण उनी सधैं प्रिय लाग्छन् । भनिन्छ, बाइबलपछि संसारमा सबैभन्दा बढी उद्धृत भएका कुनै लाइन छन् भने ती पाउलोकै किताबका लाइनहरू हुन् । चलचित्रमा समेत उनका किताबका लाइनहरू उत्तिकै चलेका छन् । जस्तो कि ‘ओम शान्ति ओम’ फिल्ममा शाहरूख खान भन्छन्, ‘केहेते हेँ कि अगर किसी चिजको दिलसे चाहो तो पुरी कायनात उसे तुमसे मिलानेकी कोसिसमे लग जाती हे ।’ (इफ यु वान्ट समथिङ, अल द युनिभर्स कनपायर्स इन हेल्पिङ यु टु एचिभ इट ।)
जनवरी महिनामा यसै डुल्दै गर्दा सेतो प्वाँख भेटियो भने पाउलो त्यसलाई पुस्तक लेख्ने निम्तो सम्झन्छन् र नयाँ पुस्तक लेख्न बस्छन् ।
अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्दा थेसिसको क्रममा मैले पाउलो कोहेलोलाई नै रोज्नुका पछाडि उनी लेखकमात्र लागेर होइन, एक तिलस्मी लेखक लागेर हो । कसैको जन्म ‘लेख्नका लागि पनि’ हुन्छ, कसैको जन्मचाहिँ ‘लेख्नकै लागि मात्र’ हुन्छ । आफ्नै नजरमा समेत लेख्नकै लागि जन्मिएका पाउलोको जीवनकथा आफैंमा कुनै रोमाञ्चक काल्पनिक कथाभन्दा कत्ति फरक छैन ।
सन्ततीले आफ्ना निर्देशन र सपना अक्षरशः पूरा गरेनन् भने खराब छोराछोरीको संज्ञा दिने समाज नेपाली समाज होस् वा ब्राजिलियन, भूगोलमात्र फरक हो, मानसिकता एउटै । यही मानसिकता र मापदण्डको तुलोमा राख्दा ‘एक अत्यन्त खराब सन्तान’ हुन् पाउलो । परिवार र समाजको निर्णयलाई लत्याउँदै पाउलोले सधैं आफ्ना सपनालाई पछ्याइरहे ।
आज विश्वका १५० भन्दा बढी देशमा जसको किताब पढिन्छ, जसको नयाँ किताब निस्कनासाथ लाखौंलाख प्रति बिक्री हुन्छ, उनै लेखकले ‘कुनै दिन लेखक बन्छु’ भन्दा बीस वर्षको उमेरभित्रमा तीनतीनपटक मानसिक अस्पतालमा भर्ना हुनु परेको थियो । सन् १९४७ मा ब्राजिलमा जन्मेका सत्तरी वर्षीय लेखक पाउलोका पिता एक इन्जिनियर थिए । इन्जिनियरिङ पढाउन खोज्ने परिवारको दबाब । लेखक बन्ने उनको आफ्नो सपना ।
‘लेखक बन्छु’ भन्ने आफ्नो सपना पटकपटक सुनाउँदा उनको मानसिक सन्तुलन बिग्रेको आशंकामा उनलाई पटकपटक मानसिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालबाट त्यहाँबाट निस्केपछि औपचारिक अध्ययन छोडेर उनले हिप्पी शैलीमा फिरन्ते जीवन बिताए । गाँजा, मदिरा, ड्रग्सजस्ता कुलतमा समेत बाँचे । एलिस रेजिना, रिटा लि र राउल सिक्सेसजस्ता केही चर्चित ब्राजिलियन संगीतकारका लागि गीत लेखेका कोहेलोका गीतले पनि उनलाई सुख दिएनन् । तत्कालीन सैनिक सरकारले विद्रोही र क्रान्तिकारी गीत लेखेको भन्दै उनलाई पटकपटक जेल हाल्यो र उनी यातनाको सिकार बने ।
उत्तरपश्चिम स्पेनमा रहेको स्यान्टिआगो डी कम्पोस्टेलाको धार्मिक यात्रामा निस्केका बेला उनको यात्रा र आध्यात्मिक चेत मुखरित भएर पहिलो आत्मपरक पुस्तक ‘द पिलग्रिमेज’ बजारमा आयो तर यसले पाउलोलाई खासै सफलता दिलाएन । त्यसलगत्तै १९८८ मा उनको अर्काे पुस्तक ‘द अल्केमिस्ट’ स्थानीय पोर्चुगिज भाषामा प्रकाशित भयो । प्रकाशकको दावा थियो— द अलकेमिस्ट नौ सय प्रतिभन्दा बढी बिक्दै बिक्दैन ।
हुन पनि सुरुमा मुस्किलले एक हजार प्रति पनि बिक्री हुन सकेन । फ्रेन्च भाषामा त्यस पुस्तकको अनुवाद भएपछि भने पुस्तकको बिक्रीमा अपेक्षाकृत सुधार भयो । अमेरिकी प्रकाशनगृह हार्पर कोलिन्सले अंग्रेजी भाषामा अनुवाद गरेर बिक्री सुरु गरेपछि भने ब्राजिलमा मात्रै होइन, विश्वभरि नै अत्यधिक बिक्रीको सूचीमा पर्न सफल भयो- द अल्केमिस्ट । न्युयोर्क टाइम्सको बेस्ट सेलर लिस्टमा लगातार तीन सय हप्तासम्म ‘द अलकेमस्टि’ले आफ्नो स्थान सुरक्षित गर्‍यो । हेर्दाहेर्दै किताब ८० भन्दा बढी भाषामा अनुवाद भयो । किताबको बिक्रीले बिक्रीको सबै रेकर्ड तोड्यो । आजसम्म सात करोडको संख्यामा ‘द अलकेमिस्ट’ बिक्री भइसकेको रेकर्ड छ ।
भनिन्छ, मान्छेले जे गर्छ चालीसको उमेरभित्रै गरिसक्छ । त्यसपछि उसको ऊर्जा र उत्साहमा खिया लाग्न सुरु गर्छ । पाउलो यस मानेमा अपवाद लेखक हुन् । उनको पहिलो किताब नै लगभग चालीस उमेरको हाराहारीमा प्रकाशित भयो । ४१ को उमेरमा निक्लेको ‘द अलकेमिस्ट’ उनको करिअरको सुरुआती सफलताको बिन्दु बन्न पुग्यो । लगभग प्रत्येक दुईदुई वर्षको फरकमा किताब निकाल्ने पाउलोको पछिल्लो प्रकाशित कृति ‘द स्पाई’सँगै हालसम्म ३४ वटा किताब निस्किसकेका छन् । प्रत्येक किताब लाखौं प्रति बिक्री भएका छन् ।
पाउलाको प्रत्येक किताबको विशेषता नै यही हो कि उनी आफ्ना किताबमा आशाको खेती गर्छन् । संसारभरका लाखौं मानिस उनको यही आशाको खेतीलाई प्रेम गर्छन् । मान्छेको जीवन परि श्रम र भाग्यको संयोजन हो र आफ्ना सपना पूरा गर्ने एउटै उपाय आफूभित्रको डरमाथिको विजय हो भन्ने सार भेटिन्छ पाउलोका अक्सर पुस्तकमा । पाउलो आफैं पनि आध्यात्मिक चेतले प्रेरित भएकाले उनका धेरैजसो पुस्तकका पात्र कहीँ न कहीँ अध्यात्मतिर झुकाव राख्छन् ।
पाउलो आफू पनि खुब यात्रा गर्न रुचाउँछन् । त्यसैले उनी आफ्ना पात्रलाई पनि यात्रामा निकाल्छन् । ‘द अल्केमिस्ट’को स्यान्टियागो होस् वा ‘इलेभेन मिनेट्स’की मारिया, ‘ब्रिडा’की मुख्य पात्र ब्रिडा वा अन्य पुस्तकका अन्य पात्र, यिनीहरू सबै आफ्ना सपना, आत्मिक र भौतिक खोजका लागि यात्रारत भेटिन्छन् । प्रेम, यौन, शानसौकत, भाग्यजस्ता विषयवस्तु उनका किताबमा समेटिएको पाइन्छ ।
पाउलो क्लासका लागि भन्दा पनि मासका लागि लेख्ने लेखक हुन् । उनका धेरैजसो पुस्तकका पात्र आममान्छे हुन्छन् र आममान्छेको कथाले नै उनका पुस्तकमा स्थान पाएको देखिन्छ । त्यसैले पनि आममानिसका लागि पाउलो आइकनिक लेखक हुन् र उनका करोडांै फ्यान यसको प्रमाण हुन् । सामान्य मानिसका लागि त उनी सेलिब्रेटी लेखक हुन् नै, जुलिया रोर्बटस्, म्याडोना, विल स्मिथ र पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि पाउलोका पुस्तक पढेको र आफूहरूले मन पराएको सन्दर्भ उद्धृत गरेका छन् ।
पोर्चुगाली भाषामा बेस्ट सेलर राइटर होस् वा जीवित लेखकमध्ये सबैभन्दा धेरै भाषामा पुस्तक अनुवाद भएको रेकर्ड वा लोकप्रियताको सवालमा अग्रपंक्तिमा आउने लेखक पाउलोले जीवनमा थुप्रै रेकर्ड राखेर स्वयंलाई ‘रेकर्ड किङ’ बनाएका छन् । करोडौं पाठकका प्रिय लेखक पाउलो किताब निकाल्छन् कि कुनै मोहनीमन्त्रले बाँध्ने बुटी निकाल्छन्, बुझिनसक्नु छ । पाठकमाझमा यतिविघ्न क्रेज किन छ उनको ?
पाउलो जति चर्चित् र पढिने लेखक हुन्, उनी त्यति नै आलोचित पनि छन् । उनका आलोचक भन्छन्, ‘पाउलो केटाकेटी एवं भर्खरै पढ्न सुरु गर्नेका लागि राम्रा लेखक हुन् । तर, हुर्कंदै जाँदा र केही पुस्तक पढिसकेर पनि मानिसहरू अझै पाउलोमा अड्किबस्छन् भने बुझ्नुहोस् उनीहरूको संसार अझै ठूलो भइसकेको छैन ।’
पेड्रो नाभा, गुइमेरइस रोजा वा क्ल्यारिस लेस्पेक्टरजस्ता ब्राजिलका स्तरीय कथाकार एवं लेखकका बीचमा पाउलोलाई तुलना नै गर्न नमिल्ने गरी कमजोर लेखकका रूपमा लिने जमात पनि ठूलै छ । चर्चित ५० धर्मका वाहियात सिद्धान्त, चल्तीका ३० महान् मानिएका व्यक्तिको उद्धरण र केही सेल्फहेल्प किताबको जिस्टलाई एकै ठाउँमा घोलेर पाउलोलाई पिलाउनुहोस्, पचाउन नसकेर केही समयपछि उनी बान्ता गर्छन् र त्यही बान्तालाई आममानिस पाउलोको नयाँ किताब मानेर वाहवाही गर्छन् भन्ने गम्भीर आरोप पनि लाग्दै आएको छ पाउलोलाई ।
यति हुँदाहुँदै पनि चर्को आलोचनाको हुरीले कहिल्यै ढलाउन नसकेको रूखको नाम हो— पाउलो कोहेलो । उनको लोकप्रियताको पारो हेर्दा स्वयं लोकप्रियता पनि आफैंमा छक्क पर्छ ।
भलै समाज र राष्ट्र बदल्ने चर्का कुरा नहोलान् उनका किताबमा वा सबैभन्दा बढी चल्ने राजनीतिको कारखानाका लागि उनका किताब अराजनीतिक कवाडीसिवाय केही नहोलान् । तर पनि पाउलो जिन्दगीका हजारौंहजार यक्ष प्रश्नका जवाफ दिइरहन्छन् आफ्ना टेक्स्टमार्फत । उनी जिन्दगीलाई नयाँ ढंग र कोणबाट हेर्न प्रेरणा दिइरहन्छन् सधैं ।
यतिविघ्न चर्चित लेखकले नयाँ पुस्तक लेख्ने बेला संयोगपूर्ण अनुष्ठानलाई विश्वास गर्छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्ला । जनवरी महिनामा यसै डुल्दै गर्दा सेतो प्वाँख भेटियो भने पाउलो त्यसलाई पुस्तक लेख्ने निम्तो सम्झन्छन् र नयाँ पुस्तक लेख्न बस्छन् । भन्छन्— उनी पुस्तकका लागि कथा वा विषय खोज्दै हिँड्दैनन्, उल्टै पुस्तकका लागि विषय वा कथा उनलाई खोज्दै आउँछन् र त्यसपछि सुरु हुन्छ उनको यात्रा अर्को पुस्तकका लागि । आशा गरौं, पाउलोले त्यो सेतो प्वाँख भेटिरहून् सधैं लेखिरहून् किताब ।

0 comments:

Post a Comment