This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Saturday, March 23, 2013

बरालिदै जाँदा एउटा शनिबार

हुनत दशै तिहारको लामो विदाको आनन्द लिइरहेकोले शनिबारको दिनले विशेष महत्व त राख्ने होइन नै । तरपनि कहिलेकाही अनायासै सुन्दर समय विताइन्छ । मंसीरको २ गते लागिसकेकाले जाडो पनि विस्तारै बढदै गएको छ । आँगनमा रहेको लिचिको बोटले यस मौसममा अत्यन्तै प्रिय लाग्ने घाम छेकेर कोठासम्म पस्न नदिने भएकाले विहानै उठेर जाँगर चलाएर घरअगाडिको लिचिको बोटका हाँगा छिमल्न थाले । गाउँले परिवेशमा हुर्केको भए दैनिकजसो गाइवस्तुलाई रुखबाट घाँस खसाल्नु पर्ने हुनाले यस्तो कुरा खासै नौलो होइन तरपनि सानैदेखी बजारमै हुर्केबढेकाले खासै यो उमेरसम्म आइपुग्दा यस्तो प्रकृतिको काम गर्नुपरेन । एकैछीनको मेहनतले पनि हातभरि पानि फोरा उठेछ । जेहोस कोठामा छ्याङ्ग घाम लाग्यो । सन्तोष लाग्यो ।
हिजोमात्रै महान क्रान्तिकारी कमरेड प्रचन्नले बाग्लुङ्गका पदम कुँवरको हातबाट आक्रोशपूण थप्पड खाएको कुराले छापा तथा विद्युतिय माध्यममा खुब तहल्का पिटिरहेछ । प्रवृत्ति गलत भएपनि स्विकार्नुपर्ने कुराचाहि के हो भने त्यो आक्रोश क्षणिक आवेशको थिएन, एउटा लामो कालखण्डको निराशाको प्रतिफल थियो त्यो । अझ विशेष गरि फेसबुक र ट्वीटरमा त त्यो घटनाका बारेमा ठिक र बेठिक भन्दै चर्चाहरु छरपस्ट छरिएका थिए । बाहिरको काम सकेर यसो फेसबुक चेक गर्दै गर्दा एकजना मित्रको स्टयाटसमा आँखा लाग्यो । ‘बाग्लुङ्गका कुँवर परेर झापड मात्रै , नाउँडाडाको कुँवर परेको भए बन्दुककै गोली खान्थ्यो प्रचन्न तिम्ले’ भन्ने आशयको ति नाउँडाडाका कुँवर मित्रको स्टयाटस पढेपछि कमेन्ट गर्नुभन्दा पनि उनलाई फोनै गर्न मन लाग्यो । मित्र लेकसाइडको जर्मन बेकरीमा विहानी चिया (त्यतिबेला विहानको सवा दश मात्रै बजेको रहेछ) पिउँदै रहेछन । मलाई चियाको लागि निम्तो दिए । एकैछिन अगाडिसम्म पर्वत जाने योजना बुनिरहेको म खै केले तान्यो। मोटरसाइकलको कान बटार्दै हान्निए लेकसाइड तिर । साँझ पख फुट ट्रयाकमा टहलिनु होस वा विहान सखारै भर्खर सुतेको लेकसाइडको मुख्य बजारमा हिडनु होस, विस्तारै खहरे, पामेतिर साइक्लीङ होस वा साथिभाई संग राति अवेर सम्म पार्टि र ग्यादरीङका नाममा मापसेका लगि होस, अथवा तालमा डङ्गा सयरनै किन नहोस, लेकसाइड मेरालागि एनि सिजन, एनि वेदर र एनि टाइम फेवरेट ठाउँ मध्येको एक पर्छ । आफूलाई छुट्टैप्रकारको आनन्दीमा पाउँछु म फेवाताल किनारको त्यो वस्ती र बातावरणमा । अँ थियो मलाई जर्मन बेकरीमा पुग्नु । हल्लनचोकमा पुगेपछि जर्मन बेकरी खोज्नमै लाग्यो एकछिन । उसो त लेकसाइडका केही नाम चलेको ठाउँबाहेक यहीको रैथाने भएपनि त्यति धेरै होटल र रेष्टुराको त्यती हेक्का हुँदैन मलाई । जसोतसो पुगे जर्मन बेकरी । भर्खरै ध्यान सकेर चारजना ओशो सन्यासी मित्रहरु त्यहा जम्मा हुनुभएको रहेछ । स्वामी प्रेम विस्तार , राजेश, पुरुषोत्तम (प्रेमदिप), र अर्का एकजना मेरा लागि अपरिचित स्वामीजिलाई विहानको प्रणाम गर्दै अनि शुरुभयो शनिबारको पक्का क्षण । ओशो सन्यासीहरुसँग समय विताउन मलाई असाध्यै प्रियकर लाग्छ । म आफूलाइ पनि ओशोको विचार, विज्ञान र दर्शन मन पर्छ र त्यसैले पनि होला, ओशो सन्यासीहरुको वरपर म गज्जबको आभा पाउँदछु । जिवनका सामान्य पलमा पनि स्वतन्त्र र उन्मुक्त हासोँ हास्ने, सरल तरिकाले जिवनलाई सहज र स्वतन्त्र हिसाबले स्वीकार गर्ने र वर्तमानलाई महत्व दिएर आजमा निष्फीक्री बाँचेका ओशो सन्यासीहरुकोे वरपर वस्दा आफैमा पनि शक्तिको प्रवाह भैरहेझै लाग्छ मलाई । आफूलाई उनिहरुले के सोचीरहेका छन वा आफूलाई कतै उनिहरुले तौलिरहेका त छैनन भन्ने ख्याल मनमा नराखीकनै लाग्छ उनिहरुसंग जुनैपनि विषयमा विना रोकटोक कुरा गर्न पाइन्छ । करिब डेढ घण्टासम्मको त्यो जर्मन बेकरीको बसाइमा हामीले विज्ञान र दर्शनका कुरामात्रै होइन प्रचण्डको झापड देखी रजनिकान्तको डाइलग, फिरहेरा फेरी भन्ने हिन्दी चलचित्रको तासको खेला देखी मिसेल ओबामा र पा को प्रोजेरीया, तारे जमिनको डिस्लेक्सीया अनि हाकु कालेको लुट सम्मको चर्चा चलायौं । न हामीलाई कुनै निष्कर्षमा पुग्नु थियो न कुनै परिणामका लागि बसह गरिरहेका थियौ । पारिलो त्यो घाममा चिकेन, मस्रुम सुप, ब्ल्याक फरेस्ट र थुक्पाका कचौरा र प्लेटहरु रित्याउँदै हामी गफिइरह्यौ । करिब सवा बाह्र बजेतिर हामी पाँच ज्यान जर्मन बेकरीबाट बाहिरीयौं । स्वामी प्रेम विस्तार र अर्का एकजना स्वामी हामीसंग त्यहाँबाट छुटेपछि पुरुषोत्तमले खहरेको बाटो हुदै केही अगाडिसम्म जाने योजना बुने । राजेशको र मेरो स्वीकारोक्ती पछि दुइवटा मोटरसाईलमा हामि तिनजना त्यतातर्फ हान्नीयौं । गन्तब्यको कुनै ठेगाननै नलिइकन हामि हान्नीयौ खहरेको बाटो हुँदै अगाडि अगाडि । विना गन्तब्यको यात्रा अत्यन्तै रमाइलो लाग्छ मलाई । न यहाँसम्म पुग्नु छ भन्ने तनाव हुन्छ न हुन्छ समय र दुरीको बन्देज । गन्तब्यका लागि गरिने यात्रामा विचबाटोमा गरिने रमाइलो रहँदैन । या त पुग्ने हतार हुन्छ वा फर्केने चटारो । विना गन्तब्यको यात्रामा बाटोको प्रत्येक पललाई रमाइलो गर्र्दै जाँदा जहाँबाट फर्कु जस्तो लाग्छ त्यहीबाट फर्कन सकिन्छ । बेफिक्रि र विना कुनै सुर्ता । फेवातालको किनारै किनार कच्ची झै लाग्ने अर्धपक्की सडकलाई विस्तारै छिचोल्दै हाम्रो मोटरसाईकल अगाडि बढिरहयो । प्रकृतिले सँच्चैनै स्वर्गीय छटा दिएको छ पोखरालाई । सुन्दर हिमाल, ताल तलैया, मध्यम प्रकारको मौसम अनि स्वच्छ वातावरण । स्वर्गको टुक्रा धर्तीमा झरे जस्तो छ पोखरा भन्ने गित गुन्गुनाउदै सराङकोटबाट उडेका एक हुल प्याराग्लाइडरको छाया मुन्तीर मुन्तीरै हामी गुडिरहयौ, गुडिरहयौं । फेवातालको किनारमा माथिबाट प्याराग्लाइडर चढेर आएका स्वदेशी एवं विदेशी पर्यटकको प्याराग्लाइडर पट्याइरहेका स्कूले किशोरहरु देखिन्थे । भनेको सुनेको, यस क्षेत्रका धेरै स्कुले उमेरका किशोर किशोरीहरु या त पर्यटक गाइड बनेर वा यसैगरी प्याराग्लाडर पट्याएर पैसा कमाउन सिपालु हुन्छन रे । अनि पैसा कमाउने र पर्यटक संगको बसउठले पढाइमा खासै ध्यान नजानेहुनाले अधिकांश किशोरहरुले ७,८ कक्षा भन्दा बढि पढदैनन रे । तरपनि तिनको अंग्रजीभने मिठो हुन्छ । विस्तारै फेवाताल, त्यसकिनारका होटल र रेष्टुरा अनि माछाको चित्र अंकीत रेष्टुराका बोडर्हरु छिचोल्दै खपौदी कटेर फेवातालको मुहान हर्पन खोलाको किनारै किनार हामी बढयौं । जति जति रेष्टुराका बोर्डहरु छिचोल्दै अगि बढयौ त्यती त्यती हर्पनको स्वच्छ र कलकल बगिरहेको पानि, फाँटका पहेलपुरे धान खेत, कतै धान काटेर निन विछयाइएका खुला खेत त कतै बडेमानका कुन्यूले स्वागत गरेझै लाग्यो । बदलिदो शहरीकरण र प्लटिङ का कारण बजार क्षेत्रमा त यस्ता दृष्य दुर्लभनै भैसक्यो । यसैले यस्ता कुन्यू देख्दा पनि मन त्यसै पुलकित हुन्छ । ‘श्रमको फलहो राम्रो श्रम हुन्छ रमाइलो, केही दुःख भने हुन्छ काम गर्दा घमाइलो’ भनेर दैवज्ञराज न्यौपानेले किसान कवितामा भनेझै बाटोका छेउछाउमा कृषक बुबाआमा र दाजुभाइहरु असारमा रोपेको पसिनाको दानाले उब्जाएको बालि थन्क्याउनमा व्यस्त हुनुहुन्थ्यो । मंसीरको महिनाकृषक दाजुभाइका लागि उल्लासको महिना हो । पसिनाले सिंचीत गरेर रोपेको मानोलाई मुरीमा उठाउने यो महिनामा सायदै कोही कर्मयोगी किसानको भकारी खाली रहन्छ । अलि अगाडि पुगेर सिद्ध बराह मावि अगाडि मोटर साइकल रोकेर दाई सकेर धान बत्ताउदै गरेका कृषकदाईका छेवैछेउ अगाडी बढदै हामी उक्लीयौ सिद्धबराह मन्दिरको थुम्कोतिर । सानो थुम्कोको विचमा रहेछ सिद्धबराहको मन्दिर ।
 पुरुषोत्तम त्यहा पहिलेनै पुगेका भए पनि राजेस र म पहिलोपटक त्यहा पुगेकाले त्यसको उत्तपत्तिको बारेमा खुलदुली लाग्नु स्वभाविक थियो । मन्दिरकै परिसरमा बराहक्षेत्र समितीकै बैठक चल्दै रहेछ । बैठक चल्दै रहँदा तारापती भण्डारी जो त्यसै क्षेत्रकै पूर्व वडा अध्यक्ष एवं सेवानिवृत शिक्षक समेत हुनुहुँदो रहेछ, वहाँले बहुतै चाख मानेर हामीलाई त्यस क्षेत्र र वराह देवताका बारेमा पुरानो किंवदन्ती सुनाउनुभयो ।
 वहाका अनुसार त्यस क्षेत्रमा बराह खास गरी तिन वटा रहेछन । एउटा पञ्चासेको डाँडामा रहेको बराह, अर्का त्यही सिद्ध बराह र अर्का फेवातालको विचमा रहेको ताल बराह । परापूर्व कालमा फेवाताल हालको स्थानमा नरहेर त्यही सिद्धबराहको थुम्कोको वरीपरि थियो रे । त्यस वरपरको क्षेत्रमा रहको माझीको बस्तीले समेत त्यस कुराको प्रमाणीत गर्दछ । एकदिन बराह भगवान बजारतिर (हालको फेवाताल क्षेत्रतिर) सामान्य मानिसको भेष धारण गरेर घुम्न निस्केछन् । त्यसवखत हालको फेवातालभएको क्षेत्रमा मानिसको बस्ती राम्रै रहेछ । बेलुका साँझ परेपछि बराह भगावानले प्रत्येक घरमा बास मागेछन तर कसैले आतिथ्यता नदेखाइ बास बस्न दिएनछन् । अनि अन्त्यमा एकजना अत्यन्तै गरिब बुढा बा को घरमा बास पाएछन्। रिसले आकुल भएका बराहले रातिनै ती बुढाबा लाई भोलि विहान सम्म यो क्षेत्र पानिले जलमताल हुने भएकाले सुरक्षित स्थानमा जानका लगि भनेपछि बुढाबा पनि रातिनै हालको बराह थान रहेको थुम्कोमा गइ बसेछन् । भोलिपल्ट विहान झिसमिसेमै हरपाकको डाँडाले थुनिरहेको त्यस बेलाको ताल फुटन गै बाढीका रुपमा ताल बगेर हालको फेवातालका रुपमा रहनगै त्यस क्षेत्रमा रहेका अधर्मी मानिसको सत्यानास गरेको भन्ने किवंदन्ती प्रचलनमा रहेछ । २०३८ सालमा फेवातालको तल्लो बाँघ फुटदा समेत हाल फेवातालको पानि सबै बगेर गै फेवातालको पिँधतिर आपँको बुटका ठुटा, घरका जग भेटिएको तथ्यले पनि यो किवंदन्तिलाई पुष्टि गरेको तर्क दिँदै भण्डारी सरले हामिलाई तात्कालिन सोहि स्थानका घले राजा देखी राजाको भण्डारे हुँदै कसरी भण्डारे हरु भण्डारी भए भन्ने सम्मका कुराहरु सुनाउनुभयो । अगिदेखी टाउको दुखेको भन्दै निन्याउरो अनुहार लगाएका राजेश समेत यस शक्तिपिठमा आउने वित्तिकै टाउको दुख्न छोडेको भन्दै थिए भने पुरुषोत्तम पनि त्यस क्षेत्रको बारेमा राम्रो जानकार भएकाले भण्डारी सरसंग निकै गफिदै थिए । मुसुमुसु मुस्कुराउँदै र अन्जान बन्दै आफनै गाउँ र ठाउँ अनि आफन्तकै बारेमा उनले भण्डारी सरका मुखबाट बर्णन सुनिरहेका थिए । त्यस शक्तिपिठ परिसरमै संस्कृत अध्ययन अध्यापनका लागि भवन बन्ने क्रममा रहेछ र निकट भविष्यमै संंस्कृतको पढाइ सुरुहुने समेत जानकारी हामीले पायौं । ज्ञानका भण्डार भएको विभिन्न संस्कृतमा लेखीएका ग्रन्थ विदेशीले लगेर बडो महत्ताका साथ पढदा हामी नेपालीहरु भने बुर्जुवा शिक्षा भन्दै पाठयक्रममा रहेको संस्कृत विषयलाई हटाएर आधुनिकता र २१औं शताब्दीको शिक्षाको नाममा उही पुरानो रट लगाइरहेछौ । संस्कृतको विशालता र ज्ञान हामीले बल्ल विस्तारै महशुस गर्दै गएका छौ विस्तारै खुल्न लागेका संस्कृत विद्यालयहरु यसैका उपज हुन । करीब एक घण्टा लामो बसाईपनि विस्तारै भोक पनि लाग्न थालेकाले भण्डारी सरलाई समेत मोटरसाईकलमा हालेर हामी फेरी अगाडी बढयौं । करिब २ मिनेट अगाडी बढेपनि बाटोकै छेउमा रहेको भण्डारी सरको घरमा उहाँलाई छोडदा चियाका लागि असाध्यै कर गर्नुभएको थियो । भोकले आकुल बनाएको त्यो क्षणमा चियाका लागि रोकिनुभन्दा खानाकै जोहो गर्नु ठिक लागेकाले उहाँको आत्मीय आमन्त्रणलाई भारि मनले नर्कादै फेरी अगाडी बढयौं । केही मिनेटको कच्ची यात्रा र सानो एउटा खोला पार गरेर हामी घाँटिछिनाको सानो बजारमा आइपुग्यौं । पोखराको हल्लनचोकबाट लाग्ने बस यहाँसम्म आइपुग्ने रहेछ । पक्की पुल बन्दै गरेकाले खोलामा पाइप हालेर बनाइएको अस्थायी बाटोचाही पञ्चासे जानका लागि गेटवे रहेछ । दिउसोका लगभग ४ बजे स्थानीय होटलमा माछा र खानाको अर्डर दिँदै हामीले २÷२ कोसा काँचा केरा खाएर रुफटपमा गफिन थाल्यौं । वि.ए. दोश्रो बर्षमा अध्ययनरत राजेशलाई अलिअलि सम्झेको अलिअलि विर्सेको इडिपस रेक्स र ओथेलो नाटकको सारसंक्षेप सुनाउदै गर्दा चरेसका कचौरामा माछाको झोल सहित आएको तातो भातले बाकी गफलाई अगाडी बढनै दिएन ।


 राजेशलाई माछा खान सिकाउँदै र होटल्नी बहिनीले पकाएको खानाको तारिफ गर्दै माछाको झोल र भात खुब खाइयो । खानापश्चात पुरुषोत्तमको आइप्याडबाट फेसबुकमा फोटो अपलोड गर्दै र चियाको चुस्की लगाउँदै पुरुषोत्तम र म गफिइरहँदा राजेश भने एकतमाशले सुनिरहेका थिए । फर्कने बेला काउन्टरमा पैसा तिर्न खोज्दा पो थाहा लाग्यो , पामे वा खपौदीमा एक प्लेट माछा खान पुग्ने पैसामा यहाँत माछा र भात नै पो खान पुग्ने रहेछ । निकै सस्तोमा असाध्यै मिठो खाना ख्वाएकोमा साहुनी बहिनीलाई धन्यवाद दिँदै गर्दा यसै महिनाको अन्तिममा हुने पञ्चासे महोत्सवमा निम्तो समेत पाइयो । साँझ परिसकेकाले अव फर्कने विचारले यस शनिबारलाई सुन्दर यादहरुमा परिणत गर्दै साझँको चिसोमा हामि तिन जना पोखरातर्फ लाग्यौं मनभरि सुन्दर गाउँबस्ती र जिब्रोमा माछाको स्वाद बोकेर ।
२०६९/०८/०२ गते शनिबार

एक थान सिरक अभियान ः अनुभव र अनुभूति


फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ
मलम लगाऊ आर्त हरूको चह¥याइरहेको घाउ
मानिस भै मानिसको त्यो दिव्य मुहार हसाउ

स्कूल पढदा १० कक्षामा देवकोटाका यात्री कविताका यी हरफहरूको कति गहिराइमा अर्थ बुझेको थिएँ होला ? तर जीवनका विभिन्न अवयवहरू पार गर्दै जाँदा देवकोटाका यी हरफहरूको अर्थ अझ बढी बुभ्mदैछु । पौषको अन्तिम साता मुलुककै दुर दराजमा रहेका केही नेपाली दाजुभाइलाई भेटेर फर्केपछि एकतमासले यी माथिका हरफहरू गुन्गुनाउँदै एक प्रकारको आनन्दमा गुटमुटिरहेको छु । 
जाडो मौसमले आफनो रोब देखाउँदै गर्दा विभिन्न परिवर्तनको अनुभव हाम्रा वरपर गर्न सकिन्छ । गर्मीमा कठोर लाग्ने सूर्यनारायण पनि हाम्रा पाखा पखेरामा पारिलो घाम बनेर पोखिन्छन् । पुग्नेका घरमा नम्बरी कपास हालेर मोटो सिरक बन्छ वा नयाँ ब्ल्याङ्केट भित्रन्छ । नयाँ स्विटर बुनिन्छन, ज्याकेट किनिन्छन् । घर तथा कार्यालयमा थन्क्याएर राखेको हिटर पुछपाछ बनाएर प्रयोगमा ल्याइन्छ । अझ हुनेखाने परिवार त जाडो छल्न कतिपय गर्मी ठाउँमा घुमफिरका लागि निस्कन्छन । तर त्यही समय विशेषत तराई क्षेत्रका विपन्नहरूका लागि भने निकै कष्टकर रहन्छ । शितलहरले जनजीवन व्याकुल बन्दछ । दिउँसो अवेरसम्म घाम नलाग्दा चिसोको आधिपत्य जम्दछ । अनि जाडोमा न्यानो लुगा र ओढ्ने नपाउँदा कयौ अमूल्य जीवनहरू दुःखद हेडलाइन बनेर पत्रपत्रिका र सञ्चार माध्यमभरि छरपष्ट हुन्छन् । यो नियति यो जाडोमा मात्रै होइन यसभन्दा अगाडिको जाडोमा पनि देखिएकै हो । यसैपालिको जाडोमा पनि पत्रपत्रिकामा कयौँ परिवार पराल ओछयाएर सुकुल ओढेर सुत्न बाध्य भएकाहरूको फोटोहरू समाचार बने । टेलिभिजनमा दिनप्रतिदिन जाडोले ज्यान गुमाएकाहरूको रिपोर्ट आउन थाल्यो । विश्वको कुनै पनि कुनामा कोहीमाथि विपत पर्दा त हाम्रो मनमा माया र सहयोगको भावना पलाउँछ भने हाम्रै चन्द्र सूर्यको छहारीमा रहेको तराई जाडोले कठयाङ्ग्रिदा पहाडको चित्त दुख्नु स्वाभाविक नै थियो । हाम्रै मुलुकमा कहीँ सिरक नै सिरकको खात थियो त कहीँ सुकुलका भरमा रात विताउनु परिरहेको परिवेशले हामीलाई भित्रैदेखि छोयो अनि योजना बन्यो रोट¥याक्ट क्लब अफ पोखरा मिडटाउनको पहलमा यो र अवका केही बर्षहरूको जाडो छल्नका लागि ‘एक थान सिरक’ अभियान सञ्चालन गरी ती विपन्न परिवारलाई आफ्नोपनको आभाष स्वरुप  एक थान सिरक दिलाउने । 
योजना जब बन्यो मध्ये पौषको समय थियो । केही दिन भित्रै योजना कार्यान्वयन नगरे जाडो सकिने र सिरक बाँडने काम पनि ‘लगन पछिको पोते’ मात्रै हुने पक्का थियो । तसर्थ पौष भित्रै सिरक बाडीसक्ने अठोटका साथ क्लबका साथीहरूले काम थालनी ग¥यौं । सिरकका लागि आर्थिक स्रोत जुटाउनु, सिरक तयार गर्नु, वितरण गर्ने स्थानको यकिन गर्नु, लागत संकलन गर्नु, यातायातको प्रवन्ध गर्नु, तयार भएका सिरक लगेर वितरण गर्नु त्यो पनि करिब १० दिन भित्रमा । गज्जबको चुनौति थियो । दार्शनिक नित्से भन्थे जहाँ भित्ता छ त्यही द्वार छ । त्यस्तै जहाँ चुनौति थियो त्यही साथीहरूको टिम स्पीरीट पनि थियो । लामो छलफल पछि टिकट विक्रि गरी सिरक संकलन गर्ने सोच अनुरुप सिरक नं अकिंत टिकट छापेर निस्क्यौ मैदानमा सिरक संकलन गर्न । यसभन्दा अगाडि पनि विविध कार्यक्रमका लागि डकुमेन्ट्री, कन्र्सट वा च्यारीटि सो का टिकट बेच्नका लागी मानिसहरूलाई जर्बजस्ती अनुरोध गर्नुपरेको क्षण वा Push Sell  गर्नुपरेको स्मरण ताजैै रहेकाले टिकट विक्रि गर्न गाह्रो होला भन्ने केही डर भने पक्कै थियो ।  
त्यसको ठिक विपरीत जहाँ जहाँ बतायौ मानिसहरूलाई हाम्रो एक थान सिरक अभियानका बारे, जहाँ जहाँ सहयोगको लागि अपिल ग¥यौं, अनुरोध ग¥यौं जसजसलाई सहयोगका लागि, मुसुक्क मुस्कुराउँदै खुला दिलले हाम्रो एक आग्रहमै क्रमशः ति कठयाङग्रीएका परिवारका लागि सिरक दाताहरूको स्नेह बर्षदै गयो । पोखरामा रहेका रोटरी क्लबहरू तथा अग्रज रोटेरीयनहरू, रोट¥याक्ट क्लबहरू एवं रोट¥याक्टर साथीहरू तथां अन्य महानुभावहरूले सहृदयता पूर्वक त्यस टिकट किनेर सिरक प्रदान गर्नका लागि सहयोग गर्नुभयो । सिरकका लागि सहयोग संकलनकै क्रममा केही थान सिरक किनिदिन अनुरोध गर्नेका लागि पोखराकै रेडियो अन्नपूर्णको स्टेसनमा पुगेका हामीलाई कार्यकारी निर्देशक दिपेन्द्र श्रेष्ठले असाध्यै मिठो हाँैसला र उत्साह थपिदिनुभयो । तत्कालै रेडियो अन्नपूर्णकै तर्फबाट दश थान सिरक सहयोग गर्ने बचनबद्धता दिदै उहाँले यस अभियानलाई रेडियो मार्फत प्रचार प्रसार गरेर थप सिरक संकलन गर्न सहयोग पु¥याउने तथा प्रत्येक दिन सिरक किनेर यस अभियानमा सहयोग गर्ने दाताहरूको नाम रेडियोबाट प्रसारण गरिदिने वचन दिनुभयो । टिकट विक्रिको काम यता चल्दै थियो भने उक्त सिरकहरू लक्षित प्रभावित वर्ग र परिवारमा पुगोस् भन्ने हेतुले अति प्रभावित क्षेत्रको खोजी भैरहेको थियो । पत्रपत्रिकामा आएको खबर र समाचारलाई पछयाउँदै र तराईमा रहेका विभिन्न श्रोतलाई सोधखोज गर्दै जाँदा यसवर्ष जाडोका कारण सबैभन्दा बढी ज्यान गुमाएको जिल्ला रौतहट भएकाले सहयोगको आवश्यकता त्यहाँ रहेको भन्ने कुराको एकिन भए अनुरुप रौतहटको चन्द्रनिगाहापुरबाट लगभग १५ कि.मि टाढा रहेको लक्ष्मीपुर गा.वि.स. को विपन्न मुसहर वस्तीलाई हामीले सहयोगका लागि छनौट ग¥यौं । यता सिरक विक्रि तथा सिरक बनाउने काम चलिरहेको थियो । विभिन्न  ठाउँबाट सहयोग जुटने क्रम जारि नै थियो । सिरक संकलनका केही क्षणहरू निकै उत्साहजनक पनि थिए । रेडियोबाट सुनेर अभियानका लागि सिरक प्रदान गर्न अध्यक्षको नेतृत्वमा लागुपदार्थ सेवन तथा ओसारपसार नियन्त्रण आमा समूहका सोह्र जना आमा÷दिदीहरूको टोलीलाई रेडियो अन्नपूर्णमा भेटेर सहयोग रकम ग्रहण गर्दा निकै आनन्दबोध भैरहेको थियो भने आफ्नो खाजा खाने पैसा जोगाएर सैनिक आवासीय महाविद्यालय फूलवारी पोखराका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले नौसय पाँच रुपैया सिरकको लागि सहयोग भन्दै पक्तिकारको हातमा हालिदिदा यी आँखाका कोशहरू भिजेका थिए र गौरव लागिरहेको थियो यि र यस्तै अन्य सहयोगी चोखा मनहरूप्रति । 
काम राम्रो हुनुपर्छ , सहयोग गर्ने हातहरूको कुनै कमि हुँदोरहेनछ । सबैको सहयोगमा लगभग १० दिनको विचमा १५० थान सिरक संकलन गर्ने सफल भएका थियौं हामी । सिरक बाँडनका लागि पौष २८ गते रोट¥याक्ट क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष अनिल खड्काको नेतृत्वमा आर्दश समाजका पत्रकार नविन सिग्देल, हाम्रो कलमका दुर्गा पनेरु, ला.प.से.नि आमा समुहका अध्यक्ष शान्ता गुरुङ्ग, कार्यक्रमका परिकल्पनाकार तथा संयोजक निर्देशन चुल्याजु, क्लबका निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेल सचिव राजु पौडेल, सदस्यहरू सिमा थापा, श्रुती कोइराला, कृष्ण तिमिल्सीना लगाएतको एक टोली बसको छतमा केही र केही सिरकहरू बसभित्रै बाँधेर रौतहट तर्फ प्रस्थान ग¥यौं । त्यस दिनको यात्रा बेलुका चन्द्रनिगाहापुरमा पुगेर टुगिंयो । स्थानिय संयोजनका लागि जिम्मा लिनुभएको चपुरमै रहेको नुनथर एम.एम का स्टेसन म्यानेजर मित्र फणि महतको आत्मीय आतिथ्यतामा  त्यस दिनको थकाई मेटदै भोलिको कार्यक्रमको योजना बनाई राती अवेर चपुर पुग्नुभएका डिष्ट्रिक्ट रोटरी चियर पर्सन रो. किरणलाल श्रेष्ठ, रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष रो. केशव प्र. आचार्य, पूर्व अध्यक्ष कृष्णप्रसाद घिमीरे, सचिव हेमराज बराल तथा पत्रकार एवं रोटेरीयन दिपेन्द्र श्रेष्ठलाई स्वागत गर्दै भोलिको अन्तिम गृहकार्य सम्पन्न गरियो । 
लगभग एक बजे सुत्नका लागि खाटमा पल्ँिटदा पनि निद्रा राम्ररी परेन । पोखराबाट त्यति धेरै मानिसको सहयोग संकलन गरी अत्यावश्यक एवं प्रभावित क्षेत्रका लागि भनेर संकलन गरेको सिरक कतै गलत हातमा पो पर्छ कि ? कतै अत्यावश्यक मानिसहरू सहयोग पाउनबाट वञ्चित हुने र अनावश्यक परिवारको पोल्टोमा पो त्यो सिरक पर्छ कि भन्ने चिन्ताले रातभर सताइरहयो । त्यतिका मानिसले त्यस्तो विश्वास र मायाले प्रदान गरेको त्यो सिरक सहि हातमा पु¥याउन सकिएन भने पक्कै पनि राम्रो हुने छैन भन्ने कुरा मनमा खेलिरह्यो । भोलिपल्ट  चपुर बजारबाट लक्ष्मीपुर गा.वि.स.का लागि यात्रा तय गरियो । बसको झयालबाट जब वाहिरका दृष्यहरू देखिए अनि बल्ल हिजो बेलुकाको छटपटि केही कम भयो । अर्धनग्न अवस्थामा खेलिरहेका केटाकेटी, लगभग टालटुल गरेर लाजमात्रै छोपेका वयस्कहरू, आफूलाई न्यानो पार्न घुम ओढेर आगो वरीपरी झुम्मिएका वृद्धहरू, साना पराले झुपडीहरू अनि मैलो बोरा ओढाइएका पशुहरूको दृष्यलाई पार गर्दै केही समयमा लक्ष्मीपुर गा.वि.सको दोष्टिया भन्ने ठाउँमा रहेको एउटा स्कूलमा पुगेर हाम्रो बस रोकियो । हाम्रा अगाडि थिए एक जोर आशालाग्दा आँखा र फिस्स हाँसो लिएर उभिएका विपन्न मुसहर वस्तिका दाजुभाइ दिदीवहिनीहरू । स्नेहले भरिएका फूलका गुच्छाहरूको आतिथ्य स्वीकार गर्दै हामी एउटा सानो औपचारिक कार्यक्रममा जुट्यौं र संकलन गरिएको परिवारका मूलीका आधारमा सिरक वितरणको कार्य थालनी गर्यौँ । काँडै काँडाले ढाकिएको बोटमा सुनौलो ऐसेलु टाढैवाट स्पष्ट देखिएझैँ अभाव, गरिबी, ठण्डी र उपेक्षाका अनेकन काँडाका वीचमा पनि सिरक ग्रहण गर्दै गर्दा प्रत्येक घरमूलिका आँखामा एक प्रकारको चमक स्पष्टै देख्न सकिन्थ्यो । । क्रमशः नाम बोलाउँदै उनीहरुलाई  सिरक वितरण गर्दै गयौं । सिरक पाइसकेका घरमुलीहरू आफ्ना हातका वीचमा भर्खरै पाएको सिरकलाई प्रेमपूर्वक सुम्सुम्याएर च्यापिरहेका  थिए मानौँ त्यो तिनीहरुको  जीवनकै सबैभन्दा प्रिय वस्तु हो । यता सिरक वितरण कार्य चलिरहेको थियो भने त्यसैबेला पोखरादेखि सँगै गएका  पत्रकार भने स्थानीय गाउँलेसँग भलाकुसारी गर्दै ति आवाजहरूलाई प्रत्यक्ष प्रसारण मार्फत आम पोखरेली सिरकदाताहरुसंग जोडिरहेका थिए । भलाकुसारीकै क्रममा वस्ती घुम्दै जाँदा जस्ता दृष्यहरू देखिए, कथन हरू सुनिए , साँच्चै नै जीवनमा अपत्यारिलो लाग्ने कथा जस्ता यथार्थहरू थिए । लगभग ५× ६ फिटको घरमा ५ जनाको परिवार बडा मुस्किलले निर्वाह गरिरहेको परिवारकी मूली स्थानीय राजमती देवी माझीलाई जब सोधियो ‘जाडोका लागि घरमा पहिले सिरक किन्नुभएको थिएन ?  स्थानीय लवजमा उनले दिएको उत्तर थियो ‘‘खाइलाते पुगेसे हैतेने, सिरक कैसे खरिदते ?’ जीवनकै उत्तराद्र्धमा बाँचिरहेकी राजमतीले पहिलोपटक आफ्नो घरमा सिरक भित्रिएको कुरा जब बताइन, त्यस क्षणमा मैले अनुुभूत गरेको भाव व्यक्त गर्न त मसँग शब्द नै छैन । हरिहरपुरका रामविश्वास ५ दिनकी सुत्केरी श्रीमती घरमा छोडेर सिरक लिन आएका थिए र सिरक पाएपछि हर्षले भावविभोर भएका थिए कि अव उनकी सुत्केरी श्रीमतीले पनि जीवनमा पहिलोपटक सिरक ओढने भइन् । सिरक हातमा च्यापेका घरमूलीहरू र उनका वरीपरी झुम्मिदै सिरकलाई स्पर्श गरिरहेका तिनका सन्तती अनि जहानको अनुहारमा छाएको खुसी देख्दा वातावरण नै यस्तो उत्सवमय प्रतीत हुन्थ्यो कि मानौँ त्यहाँ सिरक होइन समुन्द्र मन्थन पश्चात प्राप्त जीवनदायी अमृत वितरण भैरहेछ । यो सिरक उनीहरूका लागि सिरक मात्रै थिएन, यो र अवका कैयौं बर्षसम्म जीवन बचाउन तराईको जाडोसंग पौठेजोरी खेल्न दुष्प्रयास गर्ने एउटा वलियो अस्त्र पनि थियो । 
राजनैतिक, सामाजिक, आर्थिक रूपले  पिछडिएका र उपेक्षित जीवन विताइरहेका मधेशका यी परिवारको मुहारमा रोट¥याक्ट क्लब मार्फत थोरै भएपनि मुस्कान थप्न पाएकोमा गौरवले मुटु ढक्क फुलिरहेको थियो अनि हृदयले सलाम गरिरहेको थियो ती सहयोगी मनहरूलाई जसले यी सिरकहरू हामीलाई सहयोग स्वरुप उपलब्ध गराएर यहाँसम्म ल्याउने वातावरण बनाइदिनुभयो । तराईको कष्टकर जनजीवनलाई पत्रकारिताको माध्यमबाट आम मानसमा पु¥याएर सहयोग गर्नका लागि अभिप्रेरित गर्नुहुने तथा सहयोग संकलन तथा रिपोटिङ्ग मा सहयोग गर्नुहुने सम्पूर्ण फिल्यान्थ्रोपिक जर्नालिस्ट (परोपकारी पत्रकार) हरू मुसहर वस्तीका ती सुन्दर मुस्कानको लागि धन्यवादको पात्र हुनुहुन्छ । सहयोग जुटाउन अहोरात्र खटिनुहुने सम्पूर्ण रोटरीयन रोट¥याक्टरहरूलाई धन्यवाद अनि लाख धन्यवाद पावर अल्टरनेटिभ पोखरा र  ती सम्पूर्ण सिरकदाता तथा सहयोगी महानुभावहरूलाई जस्को सहयोग विना यो कार्यक्रमको सफलता सम्भव थिएन । अन्त्यमा उनै देवकोटाका दुई लाइन 

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरुलाई दिनु जहाँ छ ।