Saturday, March 23, 2013

बरालिदै जाँदा एउटा शनिबार

हुनत दशै तिहारको लामो विदाको आनन्द लिइरहेकोले शनिबारको दिनले विशेष महत्व त राख्ने होइन नै । तरपनि कहिलेकाही अनायासै सुन्दर समय विताइन्छ । मंसीरको २ गते लागिसकेकाले जाडो पनि विस्तारै बढदै गएको छ । आँगनमा रहेको लिचिको बोटले यस मौसममा अत्यन्तै प्रिय लाग्ने घाम छेकेर कोठासम्म पस्न नदिने भएकाले विहानै उठेर जाँगर चलाएर घरअगाडिको लिचिको बोटका हाँगा छिमल्न थाले । गाउँले परिवेशमा हुर्केको भए दैनिकजसो गाइवस्तुलाई रुखबाट घाँस खसाल्नु पर्ने हुनाले यस्तो कुरा खासै नौलो होइन तरपनि सानैदेखी बजारमै हुर्केबढेकाले खासै यो उमेरसम्म आइपुग्दा यस्तो प्रकृतिको काम गर्नुपरेन । एकैछीनको मेहनतले पनि हातभरि पानि फोरा उठेछ । जेहोस कोठामा छ्याङ्ग घाम लाग्यो । सन्तोष लाग्यो ।
हिजोमात्रै महान क्रान्तिकारी कमरेड प्रचन्नले बाग्लुङ्गका पदम कुँवरको हातबाट आक्रोशपूण थप्पड खाएको कुराले छापा तथा विद्युतिय माध्यममा खुब तहल्का पिटिरहेछ । प्रवृत्ति गलत भएपनि स्विकार्नुपर्ने कुराचाहि के हो भने त्यो आक्रोश क्षणिक आवेशको थिएन, एउटा लामो कालखण्डको निराशाको प्रतिफल थियो त्यो । अझ विशेष गरि फेसबुक र ट्वीटरमा त त्यो घटनाका बारेमा ठिक र बेठिक भन्दै चर्चाहरु छरपस्ट छरिएका थिए । बाहिरको काम सकेर यसो फेसबुक चेक गर्दै गर्दा एकजना मित्रको स्टयाटसमा आँखा लाग्यो । ‘बाग्लुङ्गका कुँवर परेर झापड मात्रै , नाउँडाडाको कुँवर परेको भए बन्दुककै गोली खान्थ्यो प्रचन्न तिम्ले’ भन्ने आशयको ति नाउँडाडाका कुँवर मित्रको स्टयाटस पढेपछि कमेन्ट गर्नुभन्दा पनि उनलाई फोनै गर्न मन लाग्यो । मित्र लेकसाइडको जर्मन बेकरीमा विहानी चिया (त्यतिबेला विहानको सवा दश मात्रै बजेको रहेछ) पिउँदै रहेछन । मलाई चियाको लागि निम्तो दिए । एकैछिन अगाडिसम्म पर्वत जाने योजना बुनिरहेको म खै केले तान्यो। मोटरसाइकलको कान बटार्दै हान्निए लेकसाइड तिर । साँझ पख फुट ट्रयाकमा टहलिनु होस वा विहान सखारै भर्खर सुतेको लेकसाइडको मुख्य बजारमा हिडनु होस, विस्तारै खहरे, पामेतिर साइक्लीङ होस वा साथिभाई संग राति अवेर सम्म पार्टि र ग्यादरीङका नाममा मापसेका लगि होस, अथवा तालमा डङ्गा सयरनै किन नहोस, लेकसाइड मेरालागि एनि सिजन, एनि वेदर र एनि टाइम फेवरेट ठाउँ मध्येको एक पर्छ । आफूलाई छुट्टैप्रकारको आनन्दीमा पाउँछु म फेवाताल किनारको त्यो वस्ती र बातावरणमा । अँ थियो मलाई जर्मन बेकरीमा पुग्नु । हल्लनचोकमा पुगेपछि जर्मन बेकरी खोज्नमै लाग्यो एकछिन । उसो त लेकसाइडका केही नाम चलेको ठाउँबाहेक यहीको रैथाने भएपनि त्यति धेरै होटल र रेष्टुराको त्यती हेक्का हुँदैन मलाई । जसोतसो पुगे जर्मन बेकरी । भर्खरै ध्यान सकेर चारजना ओशो सन्यासी मित्रहरु त्यहा जम्मा हुनुभएको रहेछ । स्वामी प्रेम विस्तार , राजेश, पुरुषोत्तम (प्रेमदिप), र अर्का एकजना मेरा लागि अपरिचित स्वामीजिलाई विहानको प्रणाम गर्दै अनि शुरुभयो शनिबारको पक्का क्षण । ओशो सन्यासीहरुसँग समय विताउन मलाई असाध्यै प्रियकर लाग्छ । म आफूलाइ पनि ओशोको विचार, विज्ञान र दर्शन मन पर्छ र त्यसैले पनि होला, ओशो सन्यासीहरुको वरपर म गज्जबको आभा पाउँदछु । जिवनका सामान्य पलमा पनि स्वतन्त्र र उन्मुक्त हासोँ हास्ने, सरल तरिकाले जिवनलाई सहज र स्वतन्त्र हिसाबले स्वीकार गर्ने र वर्तमानलाई महत्व दिएर आजमा निष्फीक्री बाँचेका ओशो सन्यासीहरुकोे वरपर वस्दा आफैमा पनि शक्तिको प्रवाह भैरहेझै लाग्छ मलाई । आफूलाई उनिहरुले के सोचीरहेका छन वा आफूलाई कतै उनिहरुले तौलिरहेका त छैनन भन्ने ख्याल मनमा नराखीकनै लाग्छ उनिहरुसंग जुनैपनि विषयमा विना रोकटोक कुरा गर्न पाइन्छ । करिब डेढ घण्टासम्मको त्यो जर्मन बेकरीको बसाइमा हामीले विज्ञान र दर्शनका कुरामात्रै होइन प्रचण्डको झापड देखी रजनिकान्तको डाइलग, फिरहेरा फेरी भन्ने हिन्दी चलचित्रको तासको खेला देखी मिसेल ओबामा र पा को प्रोजेरीया, तारे जमिनको डिस्लेक्सीया अनि हाकु कालेको लुट सम्मको चर्चा चलायौं । न हामीलाई कुनै निष्कर्षमा पुग्नु थियो न कुनै परिणामका लागि बसह गरिरहेका थियौ । पारिलो त्यो घाममा चिकेन, मस्रुम सुप, ब्ल्याक फरेस्ट र थुक्पाका कचौरा र प्लेटहरु रित्याउँदै हामी गफिइरह्यौ । करिब सवा बाह्र बजेतिर हामी पाँच ज्यान जर्मन बेकरीबाट बाहिरीयौं । स्वामी प्रेम विस्तार र अर्का एकजना स्वामी हामीसंग त्यहाँबाट छुटेपछि पुरुषोत्तमले खहरेको बाटो हुदै केही अगाडिसम्म जाने योजना बुने । राजेशको र मेरो स्वीकारोक्ती पछि दुइवटा मोटरसाईलमा हामि तिनजना त्यतातर्फ हान्नीयौं । गन्तब्यको कुनै ठेगाननै नलिइकन हामि हान्नीयौ खहरेको बाटो हुँदै अगाडि अगाडि । विना गन्तब्यको यात्रा अत्यन्तै रमाइलो लाग्छ मलाई । न यहाँसम्म पुग्नु छ भन्ने तनाव हुन्छ न हुन्छ समय र दुरीको बन्देज । गन्तब्यका लागि गरिने यात्रामा विचबाटोमा गरिने रमाइलो रहँदैन । या त पुग्ने हतार हुन्छ वा फर्केने चटारो । विना गन्तब्यको यात्रामा बाटोको प्रत्येक पललाई रमाइलो गर्र्दै जाँदा जहाँबाट फर्कु जस्तो लाग्छ त्यहीबाट फर्कन सकिन्छ । बेफिक्रि र विना कुनै सुर्ता । फेवातालको किनारै किनार कच्ची झै लाग्ने अर्धपक्की सडकलाई विस्तारै छिचोल्दै हाम्रो मोटरसाईकल अगाडि बढिरहयो । प्रकृतिले सँच्चैनै स्वर्गीय छटा दिएको छ पोखरालाई । सुन्दर हिमाल, ताल तलैया, मध्यम प्रकारको मौसम अनि स्वच्छ वातावरण । स्वर्गको टुक्रा धर्तीमा झरे जस्तो छ पोखरा भन्ने गित गुन्गुनाउदै सराङकोटबाट उडेका एक हुल प्याराग्लाइडरको छाया मुन्तीर मुन्तीरै हामी गुडिरहयौ, गुडिरहयौं । फेवातालको किनारमा माथिबाट प्याराग्लाइडर चढेर आएका स्वदेशी एवं विदेशी पर्यटकको प्याराग्लाइडर पट्याइरहेका स्कूले किशोरहरु देखिन्थे । भनेको सुनेको, यस क्षेत्रका धेरै स्कुले उमेरका किशोर किशोरीहरु या त पर्यटक गाइड बनेर वा यसैगरी प्याराग्लाडर पट्याएर पैसा कमाउन सिपालु हुन्छन रे । अनि पैसा कमाउने र पर्यटक संगको बसउठले पढाइमा खासै ध्यान नजानेहुनाले अधिकांश किशोरहरुले ७,८ कक्षा भन्दा बढि पढदैनन रे । तरपनि तिनको अंग्रजीभने मिठो हुन्छ । विस्तारै फेवाताल, त्यसकिनारका होटल र रेष्टुरा अनि माछाको चित्र अंकीत रेष्टुराका बोडर्हरु छिचोल्दै खपौदी कटेर फेवातालको मुहान हर्पन खोलाको किनारै किनार हामी बढयौं । जति जति रेष्टुराका बोर्डहरु छिचोल्दै अगि बढयौ त्यती त्यती हर्पनको स्वच्छ र कलकल बगिरहेको पानि, फाँटका पहेलपुरे धान खेत, कतै धान काटेर निन विछयाइएका खुला खेत त कतै बडेमानका कुन्यूले स्वागत गरेझै लाग्यो । बदलिदो शहरीकरण र प्लटिङ का कारण बजार क्षेत्रमा त यस्ता दृष्य दुर्लभनै भैसक्यो । यसैले यस्ता कुन्यू देख्दा पनि मन त्यसै पुलकित हुन्छ । ‘श्रमको फलहो राम्रो श्रम हुन्छ रमाइलो, केही दुःख भने हुन्छ काम गर्दा घमाइलो’ भनेर दैवज्ञराज न्यौपानेले किसान कवितामा भनेझै बाटोका छेउछाउमा कृषक बुबाआमा र दाजुभाइहरु असारमा रोपेको पसिनाको दानाले उब्जाएको बालि थन्क्याउनमा व्यस्त हुनुहुन्थ्यो । मंसीरको महिनाकृषक दाजुभाइका लागि उल्लासको महिना हो । पसिनाले सिंचीत गरेर रोपेको मानोलाई मुरीमा उठाउने यो महिनामा सायदै कोही कर्मयोगी किसानको भकारी खाली रहन्छ । अलि अगाडि पुगेर सिद्ध बराह मावि अगाडि मोटर साइकल रोकेर दाई सकेर धान बत्ताउदै गरेका कृषकदाईका छेवैछेउ अगाडी बढदै हामी उक्लीयौ सिद्धबराह मन्दिरको थुम्कोतिर । सानो थुम्कोको विचमा रहेछ सिद्धबराहको मन्दिर ।
 पुरुषोत्तम त्यहा पहिलेनै पुगेका भए पनि राजेस र म पहिलोपटक त्यहा पुगेकाले त्यसको उत्तपत्तिको बारेमा खुलदुली लाग्नु स्वभाविक थियो । मन्दिरकै परिसरमा बराहक्षेत्र समितीकै बैठक चल्दै रहेछ । बैठक चल्दै रहँदा तारापती भण्डारी जो त्यसै क्षेत्रकै पूर्व वडा अध्यक्ष एवं सेवानिवृत शिक्षक समेत हुनुहुँदो रहेछ, वहाँले बहुतै चाख मानेर हामीलाई त्यस क्षेत्र र वराह देवताका बारेमा पुरानो किंवदन्ती सुनाउनुभयो ।
 वहाका अनुसार त्यस क्षेत्रमा बराह खास गरी तिन वटा रहेछन । एउटा पञ्चासेको डाँडामा रहेको बराह, अर्का त्यही सिद्ध बराह र अर्का फेवातालको विचमा रहेको ताल बराह । परापूर्व कालमा फेवाताल हालको स्थानमा नरहेर त्यही सिद्धबराहको थुम्कोको वरीपरि थियो रे । त्यस वरपरको क्षेत्रमा रहको माझीको बस्तीले समेत त्यस कुराको प्रमाणीत गर्दछ । एकदिन बराह भगवान बजारतिर (हालको फेवाताल क्षेत्रतिर) सामान्य मानिसको भेष धारण गरेर घुम्न निस्केछन् । त्यसवखत हालको फेवातालभएको क्षेत्रमा मानिसको बस्ती राम्रै रहेछ । बेलुका साँझ परेपछि बराह भगावानले प्रत्येक घरमा बास मागेछन तर कसैले आतिथ्यता नदेखाइ बास बस्न दिएनछन् । अनि अन्त्यमा एकजना अत्यन्तै गरिब बुढा बा को घरमा बास पाएछन्। रिसले आकुल भएका बराहले रातिनै ती बुढाबा लाई भोलि विहान सम्म यो क्षेत्र पानिले जलमताल हुने भएकाले सुरक्षित स्थानमा जानका लगि भनेपछि बुढाबा पनि रातिनै हालको बराह थान रहेको थुम्कोमा गइ बसेछन् । भोलिपल्ट विहान झिसमिसेमै हरपाकको डाँडाले थुनिरहेको त्यस बेलाको ताल फुटन गै बाढीका रुपमा ताल बगेर हालको फेवातालका रुपमा रहनगै त्यस क्षेत्रमा रहेका अधर्मी मानिसको सत्यानास गरेको भन्ने किवंदन्ती प्रचलनमा रहेछ । २०३८ सालमा फेवातालको तल्लो बाँघ फुटदा समेत हाल फेवातालको पानि सबै बगेर गै फेवातालको पिँधतिर आपँको बुटका ठुटा, घरका जग भेटिएको तथ्यले पनि यो किवंदन्तिलाई पुष्टि गरेको तर्क दिँदै भण्डारी सरले हामिलाई तात्कालिन सोहि स्थानका घले राजा देखी राजाको भण्डारे हुँदै कसरी भण्डारे हरु भण्डारी भए भन्ने सम्मका कुराहरु सुनाउनुभयो । अगिदेखी टाउको दुखेको भन्दै निन्याउरो अनुहार लगाएका राजेश समेत यस शक्तिपिठमा आउने वित्तिकै टाउको दुख्न छोडेको भन्दै थिए भने पुरुषोत्तम पनि त्यस क्षेत्रको बारेमा राम्रो जानकार भएकाले भण्डारी सरसंग निकै गफिदै थिए । मुसुमुसु मुस्कुराउँदै र अन्जान बन्दै आफनै गाउँ र ठाउँ अनि आफन्तकै बारेमा उनले भण्डारी सरका मुखबाट बर्णन सुनिरहेका थिए । त्यस शक्तिपिठ परिसरमै संस्कृत अध्ययन अध्यापनका लागि भवन बन्ने क्रममा रहेछ र निकट भविष्यमै संंस्कृतको पढाइ सुरुहुने समेत जानकारी हामीले पायौं । ज्ञानका भण्डार भएको विभिन्न संस्कृतमा लेखीएका ग्रन्थ विदेशीले लगेर बडो महत्ताका साथ पढदा हामी नेपालीहरु भने बुर्जुवा शिक्षा भन्दै पाठयक्रममा रहेको संस्कृत विषयलाई हटाएर आधुनिकता र २१औं शताब्दीको शिक्षाको नाममा उही पुरानो रट लगाइरहेछौ । संस्कृतको विशालता र ज्ञान हामीले बल्ल विस्तारै महशुस गर्दै गएका छौ विस्तारै खुल्न लागेका संस्कृत विद्यालयहरु यसैका उपज हुन । करीब एक घण्टा लामो बसाईपनि विस्तारै भोक पनि लाग्न थालेकाले भण्डारी सरलाई समेत मोटरसाईकलमा हालेर हामी फेरी अगाडी बढयौं । करिब २ मिनेट अगाडी बढेपनि बाटोकै छेउमा रहेको भण्डारी सरको घरमा उहाँलाई छोडदा चियाका लागि असाध्यै कर गर्नुभएको थियो । भोकले आकुल बनाएको त्यो क्षणमा चियाका लागि रोकिनुभन्दा खानाकै जोहो गर्नु ठिक लागेकाले उहाँको आत्मीय आमन्त्रणलाई भारि मनले नर्कादै फेरी अगाडी बढयौं । केही मिनेटको कच्ची यात्रा र सानो एउटा खोला पार गरेर हामी घाँटिछिनाको सानो बजारमा आइपुग्यौं । पोखराको हल्लनचोकबाट लाग्ने बस यहाँसम्म आइपुग्ने रहेछ । पक्की पुल बन्दै गरेकाले खोलामा पाइप हालेर बनाइएको अस्थायी बाटोचाही पञ्चासे जानका लागि गेटवे रहेछ । दिउसोका लगभग ४ बजे स्थानीय होटलमा माछा र खानाको अर्डर दिँदै हामीले २÷२ कोसा काँचा केरा खाएर रुफटपमा गफिन थाल्यौं । वि.ए. दोश्रो बर्षमा अध्ययनरत राजेशलाई अलिअलि सम्झेको अलिअलि विर्सेको इडिपस रेक्स र ओथेलो नाटकको सारसंक्षेप सुनाउदै गर्दा चरेसका कचौरामा माछाको झोल सहित आएको तातो भातले बाकी गफलाई अगाडी बढनै दिएन ।


 राजेशलाई माछा खान सिकाउँदै र होटल्नी बहिनीले पकाएको खानाको तारिफ गर्दै माछाको झोल र भात खुब खाइयो । खानापश्चात पुरुषोत्तमको आइप्याडबाट फेसबुकमा फोटो अपलोड गर्दै र चियाको चुस्की लगाउँदै पुरुषोत्तम र म गफिइरहँदा राजेश भने एकतमाशले सुनिरहेका थिए । फर्कने बेला काउन्टरमा पैसा तिर्न खोज्दा पो थाहा लाग्यो , पामे वा खपौदीमा एक प्लेट माछा खान पुग्ने पैसामा यहाँत माछा र भात नै पो खान पुग्ने रहेछ । निकै सस्तोमा असाध्यै मिठो खाना ख्वाएकोमा साहुनी बहिनीलाई धन्यवाद दिँदै गर्दा यसै महिनाको अन्तिममा हुने पञ्चासे महोत्सवमा निम्तो समेत पाइयो । साँझ परिसकेकाले अव फर्कने विचारले यस शनिबारलाई सुन्दर यादहरुमा परिणत गर्दै साझँको चिसोमा हामि तिन जना पोखरातर्फ लाग्यौं मनभरि सुन्दर गाउँबस्ती र जिब्रोमा माछाको स्वाद बोकेर ।
२०६९/०८/०२ गते शनिबार

0 comments:

Post a Comment